१५ असोज, हान्झाउ । हान्झाउस्थित जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा सोमबार नेपालले महिला कबड्डीमा बंगलादेशविरुद्ध सुरुवादेखि नै राम्रो प्रदर्शन गर्दै खेल ३७-२४ ले जित्यो ।
पहिलो हाफमा २१-१६ को अग्रता बनाएको नेपाललाई त्यसलाई कायम राख्दै दोस्रो हाफ १६-८ ले आफ्नो पक्षमा पार्यो । दुई हाफमा गरी नेपालले चार पटक बंगलादेशलाई अलआउट गरेको थियो ।
बंगलादेशविरुद्धको यो जित एउटा जितमात्र थिएन, समूह चरणको खेल भए पनि यो जित नेपाललाई पदक नजिक पुर्याउने जित थियो ।
नेपाली महिला कबड्डी टिमले यस्तो बेलामा यो जित हात पारेको छ कि जुन बेला नेपाल पदक विहीन हुँदै घर फर्कनु पर्ने हो कि भन्ने चिन्तामा थियो । २९ खेलमा २५३ खेलाडी सहभागी गराएको नेपाल पदक जित्ने संभावना भएका खेलमा पदकको नजिकै पुग्नसमेत पाएन ।
मार्सल आर्टसका खेलसँगै पहिलो पटक एसियाडमा समावेश गरिएको इस्पोर्ट्स डान्स स्पोर्ट्स लगायत केही नयाँ खेलबाट नेपालले पदकको आशा राखेको थियो । पबजीमा नेपाली टिम सेमिफाइनल पुगे पनि अघि बढ्न सकेन ।
पहिलो पटक एसियाडमा सहभागि भएको खेलमध्येको एक खेल महिला कबड्डीमा नेपाल बंगलादेशमाथि ऐतिहासिक जित निकालेर पदक नजिक पुगेको छ ।
७ टिम सहभागी महिला कबड्डीमा नेपाल ३ देशको समूहमा पर्यो । जसमा बंगलादेश र इरान छन् ।
बंगलादेशलाई हराएको नेपालले अब इरानसँग खेल्न बाँकी छ भने बंगालदेशले पनि इरानसँग खेल्न बाँकी नै छ । नेपालले अब मंगलबार इरानसँग खेल्नेछ । त्यसपछि बुधबार इरान र बंगलादेश खेल्ने छन् ।
नेपालले इरानलाई हराउन सके समूह विजेता नै बनेर सेमिफाइनल पुग्नेछ । इरानसँग पराजित भए पनि नेपाल सेमिफाइनल पुग्न सक्छ । त्यसका लागि इरानले बंगलादेशलाई हराउनुपर्नेछ र यस्तोमा नेपालले सेमिफाइनल पुग्दै पदक पक्का गर्नेछ ।
इरानले २०१८ मा इन्डोनेसियामा भएको एसियाडमा महिला कबड्डीमा स्वर्ण जितेकोले उसले बंगलादेशलाई सजिलै हराउनेमा नेपाल आशावादी छ ।
यो समीकरणलाई बुझेका खेलाडीहरुमा नेपालले बंगलादेशलाई हराउन एक मिनेट भन्दा कम समय बाँकी रहँदा देखि नै खुशीको उत्सह छाएके थियो । खेल हेर्न गएका पदाधिकारीहरु समेत अब त खाली हात हुँदैनौं भनेर उत्साहित थिए ।
खेल जितेर कोर्ट बाहिर आएपछि नेपाली टोलीले झण्डा लिएर कोर्ट परिक्रमा गर्दै खुशी मनाएको थियो ।
पहिलो पटक एसियाड खेल्दा नै जित हात पारेपछि नेपाली टोलीले त्यो खुशीलाई शब्दमा बयान गर्न सकिरहेका थिएनन् ।
कप्तान मेनुका राजवंशीले कबड्डी खेल्न थालेको १५ वर्षपछि आफ्नो सपना पूरा भएको बताइन् । ‘कबड्डी खेल्न थालेको १५ वर्ष भयो । आज यो खेल खेलेको सपना पूरा भएको छ । सबै टिमको सपना पूरा भएको छ। हाम्रो लागि विश्वकप वा ओलम्पिक भनेकै यही हो, त्यसैले सबै जना खुसी छौं,’ उनले भनिन् ।
उनले यो जितले सबै खुशी भएको र अब पदक झुण्ड्याउन मात्र बाँकी रहेको बताइन् । ‘यो जितले हामी एकदमै धेरै भन्दा धेरै खुशी छौं । बंगलादेशलाई जितेपछि हाम्रो मेडल पक्का हुन्छ भन्ने थियो,’ कप्तान मेनुकाले भनिन्, ‘अब घाँटीमा मेडल लगाउन पाउँदैछौं, सबै जना धेरै खुसी छौं,’ उनले भनिन् ।
यसअघि नेपालले २०१३ मा काठमाडौंमै भएको १३औं सागमा ऐतिहासिक रजत पदक जितेको थियो । त्यसबेला नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
पहिलो पटक महिला कबड्डी टिमलाई एसियाडमा सहभागी गराएर खेल्ने अवसर दिएकोमा उनले सम्बन्धित सबैलाई धन्यवाद दिइन् । ‘केही गर्न सक्छन् भनेर हामीलाई सहभागी गराउनुभयो । हौसला दिनुभयो । पदकको आशा राख्नुभएको थियो । हामी त्यसमा सफल हुँदैछौँ । सबैलाई धन्यवाद ।’
नेपाली टिमका प्रशिक्षक पार्वती राईले पनि नेपालले पहिलो खेल जित्दै पदक नजिक पुगेपछि यसलाई शब्दमा व्यक्त गर्न नसकिने बताइन् । ‘खेलाडीले अवसर पाए केही असम्भव छैन । लामो सयम बन्द प्रशिक्षण र सुविधा दिएमा नेपालले पदक जित्न सक्छ,’ उनले भनिन्, ‘खेलाडी कठिन अवस्थामा पनि निरन्तर मिहिनेत गर्दा आज यो सफलता हात पार्न सफल भयौं ।’
नेपालले एसियाडको तयारीका लागि भारतमा गएर प्रशिक्षण गरेको थियो । त्यहाँको गर्मीमा गरेको मिहिनेत र प्रशिक्षणको फल अहिले पाएको कप्तान मेनुकाले बताइन् । ‘हरियाणाको एकदमै गर्मीमा मेहनत गरेर पसिना बगाएका थियौं । हामीले त्यहाँ ६-७ वटा फ्रेन्ड्ली म्याच खेल्ने अवसर पायौं । त्यो तयारीको सहयोगले गर्दा पनि हामीले आज राम्रो खेल्न सक्यौं,’ उनले भनिन् ।
फुटबल र क्रिकेटमा जस्तै सपोर्टको आश
नेपालले यसपटक एसियाडमा २९ खेलमा २५३ खेलाडी सहभागि गराएको थियो । तर कबड्डीलाई पदक जित्न सक्न खेलको रुपमा कसैले हेरेका थिएनन् ।
पहिलो पटक एसियाडमा खेल्न लागेको कबड्डीलाई धेरै प्राथमिकतामा राखिएको पनि थिएन ।
कुनै समय कबड्डी र डन्डीबियोलाई नेपालको राष्ट्रिय खेल मानिदै आइएको तर आधिकारिक उल्लेख कतै थिएन । अहिले आधिकारिक रुपमै भलिबल नेपालको राष्ट्रिय खेलको रुपमा छ । पहिलो पटक एसियाड खेलेको भलिबलमै महिला टिम भने लगातार दुई खेल हारेर समूह चरणबाट बाहिरिँदा परम्परागत रुपमा खेलिने कबड्डी भने एसियाडमै ऐतिहास सफलता नजिक पुगेको छ ।
त्यसैले कप्तान मेनुकाले अब कबड्डीलाई पनि अन्य मुख्य खेल सरह हेरिदिन र कभर्डहल बनाइदिन आग्रह गरिन् । ‘क्रिकेट, भलिबल, बास्केटबल जस्तै कबड्डीलाई पनि हेरिदिनुस् । हामीलाई अभ्यास गर्ने कभर्डहल बनाइदिनुहोला । हल नहुँदा हामीले भारतबाट फर्केपछि एसियाडका लागि तयारी गर्न पाएनौं,’ उनले भनिन्, ‘आफ्नै हल भए अभ्यास गर्न सजिलो हुन्छ ।’
 
                    










 २०८० असोज  १५ गते १८:३७
                        २०८० असोज  १५ गते १८:३७                     
                         
                     
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4