+

ए डिभिजन लिग आयोजनाबारे सरोकारवालासँग खेलकुद मन्त्रालयको छलफल

२०८२ कात्तिक  १३ गते १९:३३ २०८२ कात्तिक १३ गते १९:३३
ए डिभिजन लिग आयोजनाबारे सरोकारवालासँग खेलकुद मन्त्रालयको छलफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा तथा खेलकुद मन्त्रालयले एन्फा र क्लबहरूसँग नेपाली घरेलु फुटबलको शीर्ष लिग आयोजना गर्ने विषयमा छलफल गरेको छ।
  • एन्फाले आगामी पुस ९ गतेदेखि होम एन्ड अवे फर्म्याटमा लिग गर्ने प्रस्ताव राखेको छ तर क्लबहरूले समय अभाव र प्रायोजक नपाएको कारण तत्काल लिग खेल्न नसकिने बताएका छन्।
  • छलफलमा मन्त्रालयले एन्फा र क्लबहरूलाई आर्थिक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ र पाँच दिनभित्र कार्यदलले प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ।

१३ कात्तिक, काठमाडौं । नेपालको घरेलु फुटबलको शीर्ष लिग आयोजना गर्ने विषयमा युवा तथा खेलकुद मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल गरेको छ ।

नेपाली घरेलु फुटबलको सहिद स्मारक ‘ए’ डिभिजन लिग दुई वर्षदेखि रोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले होम एन्ड अवे फर्म्याटमा आगामी पुस ९ गतेदेखि शिर्ष डिभिजन लिग गर्ने प्रस्ताव गर्दै आएको छ ।

तर १४ वटा क्लबहरूमध्ये धेरैले समय अभाव हुने र आवश्यक प्रायोजक पनि नपाएकाले तत्काल लिग खेल्न नसकिने धारणा राख्दै आएका छन् । यसैले एन्फाले प्रस्ताव गरेको समयमा लिग नहुने भन्दै फुटबल समर्थकले चिन्ता व्यक्त गरिरहेका छन् । बिहीवार खेलकुद मन्त्रालयले एन्फा र क्लबहरूसँग लिग आयोजना गर्ने विषयमा छलफल गरेको हो ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, एन्फाका महासचिव किरण राई र विभिन्न क्लवका प्रतिनिधिबीच छलफल भएको छ ।

एन्फाका महासचिव राईले छलफलमा तत्कालीन र दीर्घकालसम्म नेपाली फुटबल अगाडि बढाउने राज्यले गर्नुपर्ने सहयोग र सहजीकरणका लागि मन्त्रालयको भूमिकाबारे छलफल भएको उल्लेख गरे । नेपाली फुटबल विकासका लागि राज्य हरेक किसिमको सहयोग र समन्वयनकारी भूमिका खेल्न तयार रहेको मन्त्री गुप्ताको धारणा आएको एन्फाका महासचिव राईको भनाइ छ । दीर्घकालीन रूपमा नेपाली फुटबल विकासका लागि कार्यदल निर्माण गरिएको राईले जानकारी दिए ।

एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधार, मन्त्रालय र राखेपको पनि उक्त कार्यदलमा प्रतिनिधि रहेको एन्फाका महासचिव राईले उल्लेख गरेका छन् । उक्त समितिलाई पाँच दिनभित्र एउटा खाकासहित प्रतिवेदन मन्त्रालयमा पेश गर्ने जिम्मेवारी दिइएको छ । लिग आयोजना गर्न राज्यले एन्फा र क्लबहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको उनले उल्लेख गरेका छन् । साथै होम एन्ड अवेका अवधारणामा आयोजना गर्न लागिएको लिगका लागि क्लबहरूलाई राज्यको मातहतमा रहेका पूर्वधार उपयोग गर्ने विषयमा पनि छलफल भएको एन्फाका महासचिव राईले बताए ।

विदेशी खेलाडी भित्राउँदा उनीहरूको श्रम स्विकृतिलगायतमा मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता प्राप्त भएको छ । मन्त्रालयले एन्फाको काममा हस्तक्षेप गरेको भन्ने आरोपमा भने महासचिव राईले निराधार रहेको धारणा राखे । मन्त्री गुप्ताले आफू हस्तक्षेपभन्दा पनि प्रतियोगिता होस् भन्ने चाहनाअनुरूप छलफल अगाडि बढाएको धारणा राख्नुभएको एन्फाका महासचिव राईले उल्लेख गरेका छन् । क्लव र एन्फालाई परेको समस्यामा सहयोग गर्ने उद्देश्यलेअनुरूप मन्त्रालयले यो छलफल अगाडि बढाएको उनको धारणा छ ।

कम्तीमा ५० दिनभित्र लिग सञ्चालन गर्नेगरी छलफtल भएको र त्यसमा क्लवहरू पनि तयार रहेको छलफलमा कुरा आएको उनको भनाइ छ । आफूहरू लिग गर्न तयारी नै रहेको र तर सँगै क्लबलाई पनि अगाडि लिएर लिग गर्न एन्फाको चाहना रहेको महासचिव राईले बताएका छन् । उनले एन्फालाई मन्त्रालय र राखेपका सहयोग आवश्यक रहेको अवस्थामा अविभावकीय संस्थाले चासो दिनु सुखद् पक्ष रहेको धारणा राखेका छन् । एन्फाको असक्षमताभन्दा पनि मन्त्रालयले सहयोग गर्न खोजेको र आफूहरूले सहयोग लिन चाहेकाले यो छलफल भएको महासचिव राईको भनाइ छ ।

एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाको क्षेत्राधिकारमा मन्त्रालयले हस्तेक्षप गरेको भन्दै विरोध जनाएका छन् । ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्षसमेत रहेका शेर्पा उक्त छलफलमा समेत सहभागी भएनन् । मच्छिन्द्र क्लवका अध्यक्ष अनिल श्रेष्ठले भने सबै क्लबहरू लिग खेल्न तयार रहेको र तर तयारी गर्न समय कम भएको मात्र आफूहरूले उल्लेख गरेको बताएका छन् । उनले रेलिगेसन बचाउनका लागि नै दुई करोड खर्च हुने भएकाले कम्तीमा आफूहरूलाई ८-९ महिना समय आवश्यक पर्ने बताएका छन् ।

फुटबल खेलेरै क्लबहरूले आम्दानी गरिरहेको उल्लेख गर्दै उनले आफूहरू जुनसुकै अवस्थामा लिग खेल्न तयारी रहेको मच्छिन्द्रका अध्यक्ष श्रेष्ठ बताउँछन् । क्लव होम एण्ड अवेका आधारमा खेल्न तयार रहेको तर त्यसका लागि दीर्घकालीन योजना र समय आवश्यक रहेको उनले बताएका छन् ।

गत वर्ष मात्र ‘बी’ डिभिजन लिगको साइकल पूरा भएको थियो । यहाँबाट श्री भगवती तथा प्लानिङ ब्वाइज क्लब शीर्ष डिभिजनमा बढुवा भए । एन्फाले अन्तिमपटक ०७९ मा ‘ए’ डिभिजन लिग गरेको थियो । त्यसमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड लिग च्याम्पियन भयो । तर, त्यसपछि एन्फाको आन्तरिक राजनीतिमा लिग आयोजना परेका कारण लिग सञ्चालन हुन सकेको छैन ।

-न्युज एजेन्सी नेपाल

ए डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय