+
+

नेपालगञ्जमा सँगसँगै सद्‍भाव फैलाउँदैछन् महन्त र मौलाना

कृष्ण अधिकारी कृष्ण अधिकारी
२०८० असोज १७ गते १७:४१

१७ असोज, नेपालगञ्ज । मधेशी, मुस्लिम र पहाडी बसोबास भएको शहर नेपालगञ्जमा केही सय मिटरको दूरीमा मन्दिर र मस्जिद भेटिन्छन् ।

सँगै बसेपछि गोडा लाग्छ, तर स्थानीय हिन्दु र मुस्लिम एक–अर्कोलाई माया र सम्मान दिएरै बसेका छन् ।

आपसी सद्भावमा रहेका नेपालगञ्जवासीहरूलाई भड्काउन चार दिनयता विभिन्न समूह सक्रिय हुन थालेका छन् । उनीहरूको उद्देश्य नेपालगञ्जबाट धार्मिक संवेदना भड्काउने, अन्यत्र पनि कचमच गराउने रहेको छ ।

तर यो निहित उद्देश्य समयमै चाल पाए स्थानीय हिन्दु–मुस्लिम अगुवाले ।

नेपालगञ्जबाट सल्काउन खोजिएको धार्मिक–साम्प्रदायिक आगोलाई निभाउन राज्यको सुरक्षा निकाय मात्रै होइन, स्वयं स्थानीय अगुवाहरूको तत्परता देखियो । हिन्दु र इस्लाम धर्मका अगुवाहरू चन्द्रनाथ योगी र मौलाना जब्बार मन्जरी सबैभन्दा अगाडि उभिए– एकसाथ ।

योगी बागेश्वरी मन्दिरका मूल महन्त हुन् । मौलाना मन्जरी मुस्लिम धर्मगुरु । महन्त र मौलानाकै अगुवाइमा मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्‍याली निकालियो ।

सद्भाव र्‍याली मार्फत महन्त र मौलानाले शान्ति र सद्भाव कायम गर्न नेपालगञ्जवासीलाई आग्रह गरेका छन् । दुवैले मानवताको गाथा गाए, आफ्नो मात्रै धर्म असल, अर्काको कमसल भनेनन् ।

हिन्दु महन्त चन्द्रनाथ योगीले भने, ‘सदियौंदेखि हामी हिन्दु, मुस्लिम केही नभनी मिलेरै बसेका छौं, मिलेरै बस्न चाहन्छौं । कसैले आफ्नो स्वार्थका लागि यहाँको जनतालाई भिडाउने कोसिस नगरोस् । हामी त्यस्तो हुन दिंदैनौं । सहिष्णुता र सद्भाव राख्छौं ।’

मुस्लिम धर्मगुरु मौलाना जब्बारले भने, ‘नेपालगञ्जका रैथाने हिन्दु र मुस्लिम हिजो पनि मिलेर बस्न चाहे, अहिले पनि चाहन्छन् । एकअर्का समुदायलाई आदर र सम्मान गर्छन् । दशैं र इद दुवै पर्वमा रमाउँछन् । एकआपसमा शुभकामना साटासाट गर्छन् । तर पछिल्ला दिनहरूमा नेपालगञ्जका मधेशी र मुस्लिम समुदायका बीचमा फाटो ल्याएर स्वार्थसिद्ध गर्ने समूह सक्रिय हुन थालेको छ ।’

जात र धर्मको नाममा राजनीति गर्ने र त्यसैलाई भोट बैंक बनाएर चुनाव जित्न खोज्ने प्रवृत्तिका कारण वर्षाैंदेखि एकआपसमा मिलेर बसेका समुदाय एकअर्का विरुद्ध आमनेसामने हुनुपर्ने अवस्था आएको हो ।

धर्मका हिसाबले हिन्दु र मुस्लिममा बाँडिएको भए पनि दुवै समुदायका मानिस आपसमा मिलेर बसोबास गर्दै आएका छन् । नेपालगञ्जमा आयोजना हुने मुख्य समारोह पर्व तथा महोत्सवहरूमा धर्मगुरुहरू सहभागी हुने गरेका छन् ।

नेपालगञ्जका धर्मगुरु र नागरिक समुदायका अगुवाहरू मिलेर नेपालगञ्जमा धार्मिक सद्भाव कायम गर्दै आएका छन् ।

२०६३ सालमा भएको मधेश आन्दोलनका क्रममा मधेशी र पहाडी र मुस्लिम समुदाय बीचको सामाजिक सद्भाव बिथोलिएर झडप तथा आगजनीका घटना हुन थालेपछि नेपालगञ्जमा हिन्दु, मुस्लिम, बौद्ध, क्रिश्चियन र शिख धर्मगुरुहरू एकजुट भएर धार्मिक सद्भाव समिति गठन भएको थियो ।

धर्मगुरुहरू नै धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सक्रिय भएपछि नेपालगञ्जमा धर्मका नाममा समुदायहरूबीच हुने झडपका घटनाहरूमा कमि आएको छ ।

मन्दिर र मस्जिदमा गएर आ–आफ्ना आस्थाको भक्तिमा लागे पनि उनीहरूको आपसी मित्रताको कथा लामो छ ।

२०६३ सालमा तनाव फैलाउन खोजिंदा नेपालगञ्जका महन्त र मौलाना यसैगरी उभिएका थिए । उनीहरूले समुदायमा फाटो ल्याएर स्वार्थको रोटी सेक्ने समूहबारे सचेत हुन स्थानीय नागरिकलाई अपिल गरेका थिए ।

कतिसम्म भने बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धर्मगुरु मौलाना जब्बार मन्जरी एउटै मोटरसाइकलमा चढेर नेपालगञ्ज लगायत बाँके जिल्लाका गाउँबस्तीमा पुग्ने गरेका छन् ।

महन्तले चलाएको मोटरसाइकलमा बसेर मौलाना घुमफिर गरेको दुर्लभ दृश्य नेपालगञ्जमा सहजै देख्न सकिन्छ । भे १ छ २६११ नम्बरको मोटरसाइकलले सामाजिक सद्भावको यात्रालाई निरन्तरता दिंदै आएको छ ।

हिन्दु र मुस्लिम धर्मगुरुहरू बीचको सहकार्य र मित्रता पनि गज्जबको छ । फरक–फरक धर्मका धर्मगुरुहरू भए पनि उनीहरू बीच दिनहुँजसो भेटघाट हुन्छ । भेटघाट भएन भने पनि फोनमा कुराकानी हुन्छ ।

हिन्दु धर्मावलम्बीहरूको चाडपर्वमा मुस्लिम धर्मगुरुहरूले शुभकामना दिन्छन् भने मुस्लिम धर्मावलम्बीहरूको चाडपर्वमा हिन्दु धर्मगुरुहरूले शुभकामना दिन्छन् ।

एउटा धर्मगुरु बिरामी पर्दा अर्काे धर्मगुरु स्वास्थ्य अवस्था बुझ्न र सुस्वास्थ्यको कामना गर्न अस्पताल पुग्छन् ।

सँगै बसेर चिया मात्रै नभई मिठाई र पान खान्छन् । धर्मगुरुहरू बीचको एकता र सहकार्यका कारण नेपालगञ्ज सद्भाव शहर बन्दै गएको छ । विगतका वर्षहरूमा सार्वजनिक जग्गाको उपभोगको विषय होस् या हिन्दु–मुस्लिम युवा—युवतीबीचको बिहेबारीका घटनाले तनाव हुने गरेको थियो ।

हिन्दु धर्मावलम्बीले दुर्गाको मूर्ति विसर्जन र ताजिया सेलाउने रुट र समय एकै दिन पर्दा नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच झडपका घटना हुने सम्भावना बढी हुन्छ । त्यस्तो बेला झडपका घटनाहरू हुन नदिन र झडप भइहालेको अवस्थामा पनि त्यसलाई साम्य पार्न धर्मगुरुहरू नै सक्रिय हुँदै आएका छन् ।

सामान्य विवादले उग्ररूप लिएर धार्मिक समुदायबीच तनाव हुने अवस्था आउनासाथ सबै धर्मगुरुहरू सक्रिय हुन्छन् र तनावलाई मत्थर पारिदिन्छन् ।

२०७३ मंसिरको अन्तिम साता बाँकेको मटेहियामा मुस्लिम समुदायले मोहम्मद डे मनाउने क्रममा स्थानीय दुई समुदायबीच झडप हुँदा दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भए ।

झडपका कारण एक सातासम्म मटेहिया तनावग्रस्त रह्यो । तनावलाई साम्य पार्न धर्मगुरुहरू अग्रसर भए । हिन्दु र मुस्लिम धर्मगुरुहरू नै मटेहिया पुगेर सम्झाई–बुझाई गरेपछि स्थिति साम्य भयो ।

आपराधिक घटनालाई साम्प्रदायिक रङ दिएर हिन्दु र मुस्लिम समुदायबीच भडप गराउने प्रवृत्तिलाई निरुत्साहित गर्दै सामाजिक सद्भाव कायम राख्ने कार्यमा धर्मगुरुहरू नै सक्रिय हुन थालेपछि दुवै समुदायका बीचको सम्बन्ध पनि सुमधुर हुँदै आएको छ ।

कुनै बेला तनाव उत्पन्न हुन खोजे नेपालगञ्जका हिन्दु र मुस्लिम धर्मगुरुहरू अग्रसर हुन्छन् । यसपल्ट पनि बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र धर्मगुरु मौलाना जब्बार मन्जरी दुवैले एकैस्वरमा शान्ति र सद्भावका लागि आह्वान गरे । प्रहरी, प्रशासन र नागरिक समाजका अगुवाहरूलाई सद्भाव भड्किने किसिमका कुनै पनि गतिविधि नगर्न अपिल गर्छन् ।

पछिल्ला चार दिनदेखि नेपालगञ्जको शान्ति र सद्भाव बिथोलिएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेखिएको एउटा टिप्पणीका कारण हिन्दु र मुस्लिम समुदाय आमनेसामने भएका छन् । एक अर्काे समुदायलाई लक्षित गरेर नाराबाजीदेखि ढुंगा हानाहान हुन थालेको छ ।

स्थितिलाई भड्किन नदिन स्थानीय प्रशासनले नेपालगञ्जमा हिजो १ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यु लगाएको छ । मुस्लिम र मधेशी समुदायका मानिसहरूको बाहुल्य भएको नेपालगञ्जको बीपी चोक, त्रिभुवन चोक, त्रिवेणी मोडदेखि एकलैनी लगायतका शहरी क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

स्थितिलाई नियन्त्रणमा राख्न नेपाली सेनालाई समेत परिचालन गरिएको छ । कफ्र्यु लगाएर सुरक्षा व्यवस्थालाई कडा पारेपछि नेपालगञ्जको तनाव केही मत्थर भएको छ ।

लेखकको बारेमा
कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?