+
+

अपर तामाकोशीको हकप्रद सेयरबाट ७८ प्रतिशत रकम संकलन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १५:००

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीहरुबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम संकलन भएको छ ।

दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले गत १८ भदौदेखि सेयरधनीहरुलाई १ कित्ता सेयर बराबर १ कित्ताको प्रति सेयर १०० रूपैयाँ अंकित दरका हकप्रद सेयर निष्कासन गरिरहेको छ ।

कम्पनीका संस्थापकहरु नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयर बापतको रकम सतप्रतिशत चुक्ता गरिसकेका छन् ।

संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन् । कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणहरुबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने छ ।

मंगलबारसम्ममा सर्वसाधारण सेयरधनीबाट २ अर्ब ८३ करोड अर्थात ५५ प्रतिशत रकम संकलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताए ।

गौतमले भने,‘संस्थापकबाट सतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम संकलन भइरहेको छ, सेयर भर्ने स्थानहरुमा व्यापक भीडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रुपमै रकम संकलन हुने देखिएको छ ।’

हकप्रद सेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म रहेको छ । १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक सेयर रहेको छ ।

सेयर स्वामित्वअनुसार, प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख/२१ करोड १८ लाख रुपैयाँ हकप्रद सेयर बापतको रकम चुक्ता गरिसकेका छन् ।

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणका १५ प्रतिशत साधारण सेयर स्वामित्व छ ।

सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने छ । यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद सेयरबापत चुक्ता गर्नु पर्ने छ ।

हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?