+
+

शेयर धितो कर्जामा १२ करोडको सीमा बढ्यो, अब व्यक्तिलाई १५ र संस्थालाई २० करोड

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते २२:२४

१८ असोज । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको छ । हाल एक व्यक्ति वा संस्थाले यस्तो कर्जा १२ करोडसम्म मात्रै लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाइएको हो । अब व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म यस्तो कर्जा लिन सक्नेछन् ।

यस्तै राष्ट्र बैंकले कर्जाको नोक्सानी व्यवस्थामा पनि सहजीकरण गरेको छ। असल वर्गमा वर्गीकरण भएको कर्जामा १.३ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेमा त्यसलाई संशोधन गर्दै १.२५ प्रतिशत गर्नुपर्ने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा बिहीबार संशोधन गर्दै राष्ट्र बैंकले यी व्यवस्था गरेको हो ।

गत २ असोजमा भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकमा नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमामा परिमार्जन गर्न तयार भएको थियो । सो दिन अर्थमन्त्री डा. प्रकाशकरण महतले नै भू–उपयोग नियमावली संशोधन मार्फत जग्गाको कित्ताकाट खुलाएको भन्दै अब सेयर बजारमा पनि तरलता सहजीकरण गर्नुपर्ने बताएका थिए । त्यसका लागि राष्ट्र बैंक लचिलो बन्नुपर्ने भन्दै अर्थमन्त्री महतले गभर्नर सेयर धितो कर्जामा पुनर्विचार गर्न आग्रह गरेका थिए ।

मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमाले अर्थतन्त्रमा कुनै फाइदा नभएकाले सकेसम्म कुनै सीमा नै नराख्न र राख्नै पर्ने भए १८-२० करोडको सीमा राख्न अनुरोध गरेका थिए ।

सो बैठकमा गभर्नर अधिकारीले पनि १२ करोडको सीमाले गर्दा नै आफैं सबैका तारो बनेको भन्दै त्यसमा संशोधन गर्ने बताएका थिए । ‘१२ करोडको सीमाले गर्दा सबैको गालीको पात्र बनेको छु । सीमा हटाएपछि गाली गर्ने पात्र पनि फेरिएला नि ?,’ गभर्नरले त्यसबेला भनेका थिए । सोही दिनको सहमित अनुसारकै सर्कुलर राष्ट्रबैंकले सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?