+
+

विद्यार्थी संगठनको अवरोधपछि त्रिवि सेवा आयोगले लिइरहेको परीक्षा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १४:४६

१९ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि लिन लागेको परीक्षा स्थगित गरेको छ । व्यवस्थापन, समाजशास्त्र, हिन्दी र मैथली विषयका प्राध्यापक र सहप्राध्यापकका लागि आन्तरिक तथा खुलातर्फबाट पदपूर्ति गर्न लागेको थियो ।

१४ देखि १९ असोजसम्म दुवैतर्फको अन्तवार्ता लिने कार्यतालिका सेवा आयोगले प्रकाशित गरेको थियो । आयोगले बिहीबार (१८ असोजसम्म) का अन्तर्वार्ता सकिएको आयोगले जनाएको छ ।

नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनले पदपूर्तिको विरोध गरेपछि आयोगले परीक्षा स्थगित गरेको हो । ती संगठनले बुधबार साँझदेखि सेवा आयोग, विज्ञान डिनको कार्यालय, त्रिवि पुनरावेदन आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् ।

शुक्रबार हिन्दी विषयको प्राध्यापक र सहप्राध्यापक र समाजशास्त्र विषयको सहप्राध्यापकको अन्तर्वार्ता गर्ने गरी आयोगको तयारी थियो । अन्तर्वार्ताका गर्नका लागि अवरोध खडा गरिएको जनाउँदै त्रिवि सेवा आयोगका प्रमुख केदारनाथ ढकालले अन्तर्वार्ता स्थगित गरिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

नेविसंघले आयोगका अध्यक्ष प्रा.डा.घनश्याम भट्टराई र सदस्य प्रा.डा. हेमराज ढकाललाई विश्वविद्यालय प्रवेशमा निषेध गर्दै सेवा आयोगमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । आयोगले लिएका विगतका परीक्षा विवादस्पद रहेको, अपारदर्शी अनियमित तरिकाले परीक्षा लिन लागेको नेविसंघले जनाएको छ ।

त्रिवि सेवा आयोगले यसभन्दा अघि कर्मचारीतर्फका विज्ञापन, उपप्राध्यापक, सह प्राध्यापक र प्राध्यापकको परीक्षा मूल्यांकन र नतिजामा अनियमितता भइरहेको नेविसंघका त्रिवि सभापति विष्णु बडैलाले बताए । अख्तियार र अदातलमा समेत मुद्धा विचाराधीन रहेको अवस्थामा थप विज्ञापन गरिएकाले विरोध गर्नुपरेको बडैलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?