+
+

विश्वकप आयोजना : साउदीको पक्षमा किन उभियो नेपाल ?

नमिता दाहाल नमिता दाहाल
२०८० असोज २१ गते १९:४९
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र साउदी फुटबल महासंघका अध्यक्ष यासेर अल मिचेल । फाइल तस्वीर

२१ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एकै समयमा दुई वटा विज्ञप्ति निकाल्यो ।

विज्ञप्ति दुई वटा भए पनि सन्देश एउटै थियो– सन् २०३४ को विश्वकप आयोजनाका लागि साउदी अरेबियाले पेश गर्ने दाबेदारीलाई साथ दिन्छौं ।

विश्वकप आयोजनाको प्रारम्भिक दाबेदारी पेश गर्ने समय बाँकी छँदै एन्फाले साउदीको साथ दिने घोषणा गरेको हो ।

जबकी छिमेकी देश चीनसहित, दक्षिण पूर्वी एसियाका (मलेसिया, सिंगापुर, थाइल्याण्ड, इन्डोनेसियासहितका १० देश) को समूह आसियान, अष्ट्रेलिया र न्यूजिल्याण्ड तथा उज्वेकिस्तान र काजकस्तान पनि विश्वकप आयोजनाको आकांक्षी छन् । अष्ट्रेलिया र न्यूजिल्याण्डले यसैवर्ष महिला विश्वकप सफलतापूर्वक सम्पन्न गरेका छन् ।

फिफाले गत हप्ता मात्र सन् २०३४ को विश्वकप आयोजनाका लागि एसियाली र ओसियान देशले मात्र भाग लिने पाउने निर्णय गरेको छ । त्यसैले फिफाले तोकेको अक्टुबर ३० सम्ममा अरुले पनि आयोजकका रुपमा दाबी गर्ने संभावना छ ।

यस्तो स्थितिमा एन्फाले साउदीकै पक्षमा हतार हतार विज्ञप्ति निकाल्नुको पछाडि साउदीले गरेको आर्थिक सहयोगलाई कारण मानिएको छ ।

एन्फा निकट श्रोतका अनुसार साउदी अरेबियाले एन्फालाई केहीअघि ३ करोड बराबरको सहयोग गरेको थियो, त्यसैको गुन तिर्न अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई विदेशमा रहेकै बेला उनीहरुकै निर्देशनमा विज्ञप्ति निकालिएको हो ।

गत अप्रिल अन्तिममा एन्फा अध्यक्ष नेम्वाङ र साउदी फुटबल महासंघका अध्यक्ष यासेर अल मिचेलले फुटबल विकासमा सहकार्य गर्ने सम्बन्धी ५ वर्षे सम्झौता पनि भएको थियो ।

निर्वाचन एक वर्षमै बहुमत सदस्य (४९ जनाले) अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्नु पर्ने माग राखेर विशेष साधारण सभा गर्न माग गरेका छन् । उनीहरुले एक महिनाभित्र विशेष साधारण सभा गर्न भन्दै भदौ २५ मा एन्फामा पत्र बुझाएका थिए, जसलाई अध्यक्ष र महासचिवले अनुशासन समितिमा पठाएका छन् ।

यस्तो स्थितिमा कुनै औपचारिक छलफल समेत नगरी एन्फाले साउदीलाई साथ दिनुमा प्रश्न उठे पनि एन्फा प्रवक्ता सुरेश शाह भने साउदीले आर्थिक सहयोग गरेकै कारण समर्थन गरिएको भन्ने कुरालाई ठाडै अस्वीकार गर्छन ।

‘एसियन राष्ट्र भएकाले एन्फाले साउदीलाई समर्थन जनाएको हो,’ उनी भन्छन्, ‘विभिन्न कारणहरुले पनि एन्फा र साउदी फुटबल संघको समन्वय हुँदै आइरहेको छ । जसअन्तर्गत रहेर साउदीले आयोजना गरेको खण्डमा नेपालले पनि त्यसबाट फाइदा लिन सक्छ भन्ने दृष्टिकोणले एन्फाले समर्थन जनाएको हो ।’

अरु देश र समूहले २०३४ को विश्वकप आयोजनामा रुची देखाए पनि फिफामा प्रस्ताव दर्ता गरेका छैनन् । एसियाली देश साउदीले प्रस्ताव दर्ता भइसकेकोले पनि समर्थन गरेको उनी बताउँछन् ।

सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल र स्पेनलाई संयुक्त आयोजना गर्न दिने र स्मरणीय खेलहरुको आयोजना उरुग्वे, पाराग्वे र अर्जेन्टिनामा गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सन् २०३४ को विश्वकप एसियाली वा ओसियाना देशमा आयोजना गर्ने निर्णय गरेको छ ।

सन् २०३० मा विश्वकप फुटबल सुरु भएको १०० वर्ष पूरा हुने भएकाले विश्वकप सुरु भएको उरुग्वेसहित पाराग्वे र अर्जेन्टिनाले स्मरणीय खेल आयोजना गर्ने जिम्मेवारी पाएका हुन् ।

सन् २०३४ को विश्वकप आयोजनाका लागि एसियाली र ओसियानाका देशको मात्रै प्रस्ताव फिफाले लिने भएपछि एसियाली फुटबल महासंघ एएफसीले त्यसको स्वागत गरेको छ ।

एएफसीका अध्यक्ष तथा बहराइन फुटबल संघका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफाले आफू साउदी अरबको पक्षमा उभिने स्पष्ट पारिसकेका छन् ।

एन्फाले साउदी अरबको पक्षमा उभिने भनेर विज्ञप्ति निकालेकै दिन भारतको फुटबल महासंघले पनि साउदीको पक्षमा विज्ञप्ति निकालेको छ ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?