+
+

काठमाडौं महानगरवासीलाई निःशुल्क रगत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १७:५४

२२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीलाई निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराउने भएको छ । आज काठमाडौं महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गर्दै निःशुल्क रगत उपलब्ध गराउने बताएको हो ।

प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलको रोहवरमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । महानगरमा यस अघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ ।

उपप्रमुख सुनिता डंगोलले, रगत प्राप्त गर्न कसैलाई फोन गराउनुपर्ने, सिफारिस गराउनु नपर्ने गरी काम गर्नुपर्ने बताएकी छिन् । ‘नियमित रक्तदान कार्यक्रम र संकलित रगतको उचित व्यवस्थापनबाट अभाव कम गराउन सकिन्छ । यसबेला कसैलाई सिफारिस गर्नुपर्ने स्थिति हुँदैन’, उनले भनिन् ।

जनस्वास्थ्य विभागका प्रमुख पौडेलकाअनुसार, महानगरपालिकाबासीलाई उपलब्ध गराउने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई महानगरले प्रति युनिट १ हजार १६० रुपैयाँ र क्रस म्याच गराउनु परे थप २०० रुपैयाँ उपलब्ध गराउनेछ ।

सम्झौतामा महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजावापत प्रत्येक रक्तदातालाई २ सय रुपैयाँ उपलब्ध गराउने बुँदा महत्वपूर्ण छ । सम्झौताबमोजिम महानगरपालिकाले पहिलो चरणमा ३ लाख रुपैयाँ उपलब्ध गराउनेछ । ‘केन्द्रीय रक्त सञ्चार सेवाले हरेक ३ महिनामा महानगरपालिकामा खर्च विवरण पठाउनेछ । निकासा गरिएको ८० प्रतिशत रकम सकिएपछि रक्त सञ्चारले प्रतिवेदन पेश गर्नेछ । यसका आधारमा महानगरपालिकाले थप निकासा दिनेछ’ पौडेलले भने ।

बागमती प्रदेशले महानगरपालिकाभित्रका ५ वटा अस्पतालहरु (परोपकार स्त्री तथा प्रसुति अस्पताल, कान्ति बाल अस्पताल, त्रि. वि. शिक्षण अस्पताल, वीर अस्पताल र शहीद गंगालाल हृदय केन्द्र) मा बागमती प्रदेशका विरामीले उपचार गराउँदा चाहिने रगत र रक्त तत्वको खर्च व्यहाेर्न सम्झौता गरिसकेको छ । यसबाहेकका अस्पतालका लागि महानगरपालिकाले व्यवस्थापन खर्च व्यहाेर्नेछ ।

स्थायी बासिन्दालाई सेवा

सेवा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । महानगरका अनुसार नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता कागजमध्ये कुनै एउटा पेश गरे हुनेछ ।

यस्ता कागजलाई विरामी वा विरामीका आफन्तले प्रमाणित गर्नुपर्नेछ । आकस्मिक र आपतकालीन अवस्थामा प्रमाण दिएर सेवा लिन नसक्ने अवस्था भएमा तिरिएको शुल्क प्रमाणका आधारमा शोधभर्ना दिने समेत महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?