+
+

‘भष्मे डन’बारे खगेन्द्र भन्छन्- नेपाली फिल्मले हरेक हप्ता रेकर्ड ब्रेक गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १२:१९

काठमाडौं । फिल्म निर्माता तथा लेखक खगेन्द्र लामिछाने फिल्म ‘भष्मे डन’को कमाइलाई लिएर आयोजित पत्रकार सम्मेलनमा आशावादी सुनिए । उनले हरेक हप्ता हरेक नयाँ नेपाली फिल्मले कीर्तिमान तोड्नु जरुरी रहेको बताए ।

‘हिजो छक्कापञ्जा थियो, आज कबड्डी छ । भोलि कोही होला । भोलि कुनै नयाँ फिल्मले रेकर्ड ब्रेक गर्नुपर्छ,’ उनले भने, ‘हरेक साता रेकर्ड ब्रेक हुन सके नेपाली फिल्मको वार्षिक कलेक्सन एक अर्ब पुग्छ । एकअर्काको रेकर्डलाई ठोक्ने र तोड्नुपर्छ भन्ने मान्यता मेरो छ ।’

चलचित्र विकास बोर्डको बक्स अफिस डेटाअनुसार ‘कबड्डी ४’ को २१.३८ करोड ग्रस कमाइ छ । सरकारी तथ्यांकअनुसार यो डेटा कुनै नेपाली फिल्मले घरमा कमाएको सर्वाधिक हो । पशुपतिप्रसाद २ का निर्माता लामिछानेले पनि घुमाउरो ढंगले यो रेकर्डलाई तोड्ने चाहना व्यक्त गरेका हुन् ।

लामिछानेले तार्किक सिक्वेल बनाउनु जोखिमपूर्ण भए पनि आफूहरुले यो स्थितिसम्म ल्याइपुर्‍याएको बताए । ‘हामीलाई धेरै ठूलो जोखिम थियो कि कसरी लजिकल सिक्वेल बनाउने ? हामीले तीन-चारवटा ड्राफ्टमा काम गर्‍यौं । मैले लेखेको र निर्माण गरेको चीजलाई यो स्थितिसम्म पुर्‍याएकोमा नमन छ,’ उनले भने ।

निर्देशक दीपेन्द्र के खनालले ‘भष्मे डन’ले ‘पशुपतिप्रसाद’को विरासतलाई काँधमा हालेर अघि बढाएको बताए । उनले भने, ‘हामीले आज राति २ बजेसम्म फिल्म नै हेरेका थियौं । नेपालमा बनेको जीवन्त पात्रमध्ये भष्मे डन पनि हो । मलाई केमा डर थियो भने सात वर्षपछि सुटिङ गर्दा विपिन कार्की भष्मे डन देखिन्छन् कि देखिंदैनन् भन्ने । फिल्ममा पनि त्यो किसिमको जादू पक्कै छ ।’

अभिनेता विपिन कार्कीले भष्मे डनको पात्र आफूले जीवनभर भुल्न नसक्ने क्यारेक्टर भएको बताए । ‘भष्मे डन मनको ग्यालरीभित्र बस्ने पात्र हो । पशुपतिप्रसाद हेर्दा भष्मे डन जसरी पाउनुभएको थियो, २ हेर्दा पनि त्यस्तै पाउनुहुन्छ । सौगात दाइलाई त्यस्तै पाउनुहुन्छ,’ उनले भने ।

अभिनेत्री स्वस्तिमा खड्काले छायांकनका रमाइला किस्सा सेयर गरिन् । भारतीय दर्शनार्थीले दुर्गा माता भन्दै आफूलाई पैसा चढाउने आएको किस्सा सुनाउँदै उनले आफूले उक्त पात्रलाई न्याय गरेको बताइन् । को-स्टार कार्कीको प्रशंसा गर्दै उनले भनिन्, ‘मैले विपिन दाइबाट पैसा नतिरिकन धेरै सिकेको छु ।’

‘भष्मे डन’ कात्तिक ४ अर्थात् दशैंको फूलपातीको दिनबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?