+
+

किष्ट शिक्षण अस्पतालले गर्‍यो एकसाथ एकै व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १४:०२

२३ असोज, काठमाडौं । ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण गरेको छ । नेपालमै पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण गरेको हो ।

अस्पतालका निर्देशक प्रा.डा सुरज बज्राचार्यले सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए ।

‘हामीले एकै व्यक्तिको शरीरका महत्वपूर्ण अंग (कलेजो र मिर्गौला) दुवैको एक साथ प्रत्यारोपण सफल गरेका छौं । जुन नेपालको इतिहासमै पहिलो पटक हो,’ डा. बज्राचार्यले भने ।

उनलाई ३५ वर्षीय श्रीमानले उनलाई कलेजो दिएका थिए भने ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेकी हुन् ।

बिरामी महिलामा जन्मजात रोग (प्राइमरी हाइपरोक्सालुरिया) देखिएको थियो । कलेजोका कारणले दुवै मिर्गौला बिग्रिएका थिए ।

मिर्गौला बिग्रिएर उनले अस्पतालबाट डायलाइसिस सेवा लिइरहेकी थिइन् । कलेजोबाट निस्किएको विषाक्त रयासनका कारण मिर्गौला खराब भएको हुन पुगेको थियो । जसको कारण बिरामीको दुवै अंग एकैसाथ प्रत्यारोपण गर्नुपरेको अस्पतालले जनाएको छ ।

प्रत्यारोपण गर्न १८ घण्टाभन्दा बढी समय लागेको र १०० जना भन्दा बढी जनशक्ति परिचालन भएको बज्राचार्यले बताए ।

प्रत्यारोपणका लागि भारतस्थित अपोलो अस्पतालका डा. निरभ गोयल, डा.अरुणकुमार भेनुथुरिमिल्लि र डा.सञ्जीव अनेजाको सहभागिता रहेको थियो ।

यस्तै, किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्रा.डा मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट लाइसेन्स प्राप्त डा. एकानन्द सिंह, डा. वरुण श्रेष्ठ, डा. नारायण भुसाल, डा. सन्तोष क्षेत्री, डा. कश्यप दाहाललगायत अन्य वरिष्ठ चिकित्सकहरूको सहभागिता रहेको थियो ।

यस्तो जटिल र दुर्लभ स्वास्थ्य समस्याप्रति १० लाख जनसंख्यामा एक जनामा हुनसक्ने र यसको उपचारसमेत विश्वका केही सीमित अस्पतालमा मात्र हुने गरेको किष्टको दाबी छ ।

किष्ट शिक्षण अस्पतालमा ११५ जनाभन्दा धेरैको अंग प्रत्यारोपण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?