+

नेपाली चिकित्सकबाट दोस्रो पटक कलेजो प्रत्यारोपण

२०८० फागुन  १३ गते १२:५७ २०८० फागुन १३ गते १२:५७
नेपाली चिकित्सकबाट दोस्रो पटक कलेजो प्रत्यारोपण

१३ माघ, काठमाडौं । कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सक नेतृत्वले दोस्रो सफलता हात पारेको छ । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा नेपाली चिकित्सकको टिमले दोस्रोपटक कलेजो प्रत्यारोपण गरेको हो ।

त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीका अनुसार नेपाली चिकित्सक टिमले २७ माघमा चितवनको ३३ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको थियो । ती पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । कलेजो प्रत्यारोपण गरिएका पुरुषलाई १६औं दिन (आइतबार) डिस्चार्ज गरिंदै छ भने महिला १० दिन अगाडि नै डिस्चार्ज भइसकेकी छिन् ।

अत्यधिक मदिरा सेवन गरेकै कारण चितवन निवासी ती पुरुषको कलेजोमा समस्या आएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको डा. भण्डारीले बताए ।

‘चिकित्सक तथा स्वास्थ्यकर्मी मात्रै संलग्नतामा दोस्रो पटक पनि सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेका छौं,’ डा. भण्डारीले भने, ‘नेपालमा आफैंले गर्न सक्छौं भनेर पुष्टि भयो । कलेजो प्रत्यारोपणमा आत्मनिर्भरतातर्फको पाइला अगाडि बढाएका छौं ।’

हालसम्म त्रिवि शिक्षण अस्पतालले १२औं कलेजो प्रत्यारोपण गरेको छ ।

यसअघि २७ पुसमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले नेपालमै पहिलो पटक नेपाली चिकित्सकहरुकै संलग्नतामा पहिलो सफल कलेजो प्रत्यारोपण भएको थियो ।

नेपालमा २०७३ सालदेखि नै कलेजो प्रत्यारोपण सुरु भए पनि विदेशी विज्ञ चिकित्सकको सहयोगमा भइरहेको थियो । तर अबदेखि नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीले नै कलेजो प्रत्यारोपण गर्न समक्ष भएको डा. भण्डारीले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा १८ जेठ २०७६ मा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । त्यसयताको अवधिमा बीचको केही समय कोरोना महामारीले प्रत्यारोपण निरन्तरतामा अवरोध सिर्जना गरेको थियो ।

‘अहिलेसम्म १२ औं बिरामीमा कलेजो प्रत्यारोपण सफल भएको छ । अब महिनामा एक वटासम्म कलेजो प्रत्यारोपण योजना बनाएका छौं,’ डा. भण्डारीले भने ।

अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २०० हाराहारी कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अनुमान छ ।

प्रत्यारोपण सेवालाई दिगो बनाउन नसके नेपालमा पीडा बढ्ने डा. भण्डारी बताउँछन् । डा. भण्डारीका अनुसार अपेक्षा अनुरूप कलेजो प्रत्यारोपण सेवा अगाडि बढ्न सकेको छैन ।

शिक्षणमै कलेजो प्रत्यारोपण हुन्छ भन्ने सन्देश बिरामीमाझ नपुग्नु, पुगे पनि नेपाली विशेषज्ञ टिमको क्षमतामा विश्वास स्थापित हुन नसक्नुलगायत कारण पनि सेवा विस्तारमा बाधक बनेको डा. भण्डारी बताउँछन् ।

कलेजो प्रत्यारोपण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय