+

६ तरिका, कसरी मनलाई फुरुङ्ग बनाउने

२०८१ वैशाख  १० गते १८:४२ २०८१ वैशाख १० गते १८:४२
६ तरिका, कसरी मनलाई फुरुङ्ग बनाउने

बेचैनी, तनाव, चिन्ता, डर, क्रोध, पीडा, उदासी, इर्ष्या सबै मनोविकार हुन्, जसले तन र मन दुवैलाई सताउँछ । विभिन्न कारणले हामी यस्तो मनोदशाबाट गुज्रिरहेका हुन्छौं । यसले अरुलाई केही गर्दैन, हामी स्वयंलाई जलाउँछ । किनभने बेचैनी, तनाव, उदासी, क्रोध आदिको स्थितिमा हाम्रो शरीरले त्यसरी नै काम गर्दैन, जुन सामान्य अवस्थामा गर्नुपर्ने हुन्छ ।

त्यसैले त अनेक प्रतिकूलताका बाबजुद पनि शान्त रहने, खुसी रहने कोसिस गर्नुपर्छ भनिन्छ । क्रोध, चिन्ता, डर जस्ता मनोविकारबाट पूर्ण रुपले अलग हुन सकिंदैन । यद्यपि त्यसलाई व्यवस्थापन गर्न असम्भव पनि हुँदैन ।

मनोविकारलाई कम गर्ने औषधि हुन्– खुसी, उमंग, आनन्द, उत्साह आदि । सकारात्मक चिन्तन, आनन्द भाव, उत्साहित मनले दुःख, पीडा, तनावको स्तरलाई घटाइदिन्छ । त्यसो भए कसरी शान्त, खुसी रहने ? कसरी मनलाई फुरुंग बनाउने ?

हिंडौं

पैदल हिंड्नु शारीरिक स्वास्थ्यका लागि मात्र लाभदायक छैन, यसले मनलाई पनि उत्तिकै लाभान्वित बनाउँछ । फटाफट हिंड्दा जसरी शरीरमा उर्जा र सक्रियता बढ्छ, त्यसले सेरोटोनिन र डोपामाइन जस्ता हार्मोन पैदा हुन्छ । यसले हामीलाई आनन्दित र खुसी राख्न मद्दत गर्छ ।

गीत सुनौं

संगीत सुन्नु आफैंमा एक थेरापी पनि हो । हामीले महसुस गरेकै छौं, संगीत सुनिरहँदा हाम्रो शरीरका अवयव स्वत:स्फूर्त तंगिन्छन् । संगीत सुन्दा शरीर र मनमा कस्तो प्रभाव पार्छ भनेर केही अध्ययन समेत भएका छन् । अध्ययनअनुसार संगीत सुनिरहँदा कार्टिसोल हार्मोनको स्तर घट्ने देखिएको छ ।

कार्टिसोल त्यही हार्मोन हो, जसको मात्रा बढ्दा वा गडबड हुँदा हामी तनावग्रस्त हुन्छौं । यसैगरी संगीत सुनेको बखत हृदयको गति र रक्तचाप पनि सन्तुलित हुने अध्ययनबाट थाहा भएको छ । यसले शरीरलाई शान्त बनाउन र विश्रामको स्थितिमा राख्न मद्दत गर्छ ।

मीठोमसिनो खानेकुरा खाऔं

तपाईं-हामीले अनुभव गरेकै हो, मीठो मसिनो खानेकुरा खाइरहँदा बेग्लै खुसी र सन्तुष्टि प्राप्त हुन्छ । न्युट्रेसन अस्ट्रेलियामा प्रकाशित एक रिपोर्टअनुसार स्वादिष्ट खानाले हाम्रो मनोभाव सुधार गर्न सहयोग गर्छ । यद्यपि, यसका लागि सही खानाको छनोट गर्न सक्नुपर्छ । खानेकुरा स्वादिलो मात्र होइन, पोषिलो र ताजा पनि हुनुपर्छ । स्वादिष्ट खानाले हाम्रो मानसिक स्वास्थ्यलाई फाइदा पुग्ने न्युयोर्क टाइम्सको एक लेखमा उल्लेख छ ।

साथीभाइसँग समय बिताऔं

मनप्रिय साथीभाइसँग समय बिताउनु पनि मनमा ऊर्जा, खुसी र आनन्दको भरपाई गर्नु हो । जब हामी हैतिषीसँग भेट गर्छौं, आपसमा कुराकानी गर्छौं, रमाइलो ख्यालठ्टा गर्छौं, नयाँ योजना र सपना बुन्छौं त्यसक्षण दुःख र उदासी रहँदैन । मेन्टल हेल्थ फाउन्डेसनको एक रिपोर्टअनुसार मानसिक समस्या भएको बखत साथीभाइसँग भेटघाट गर्दा, मनको भावना साझेदार गर्दा त्यसले औषधि समान काम गर्छ । यद्यपि साथीभाइ सकारात्मक, उत्साहित हुनुपर्छ ।

वनबगैंचा घुमौं

खोला, जंगल, झरना, डाँडा, खोंच, चराचुरुंगी, फूलहरुसँग जति एकाकार हुन्छौं, मन उत्ति नै रमाउँछ । वनजंगल एवं बगैंचामा चहार्दा हाम्रो इन्द्रियहरु स्वत:स्फूर्त जागृत हुन्छ । त्यसक्षण हामीमा बेग्लै उत्साह र ऊर्जा महसुस हुन्छ । जंगलमा घुमफिर गर्दा स्नायु प्रणालीको गतिविधि मात्र बढाउँदैन, मानसिक स्वास्थ्यमा फाइदा पनि गर्छ ।

एक्लै रमाऔं

कहिलेकाहीं सारा दुनियाँबाट विच्छेद भएर आफैंसँग मग्न हुनु पनि बिछट्टै आनन्द हुन्छ । काम-व्यवहार मात्र होइन, साथीभाइ, आफन्त र परिवारलाई समेत भुलेर आफैंसँग रमाउन सकिन्छ । यसका लागि हामी एक्लै कतै घुम्न निस्कन सक्छौं वा घरमा पनि एकान्तमा रमाउन सक्छौं ।

खुसी तनाव तनाव व्यवस्थापन मानसिक स्वास्थ्य
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?