+

कलेजो रोगबाट कसरी बच्ने ?

२०८१ वैशाख  १० गते १३:५८ २०८१ वैशाख १० गते १३:५८
कलेजो रोगबाट कसरी बच्ने ?

कलेजो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो, जसले स्वस्थ शरीरका लागि आवश्यक धेरै रसायन उत्पादन गर्छ ।

कलेजो अंगको साथै एक ग्रन्थी पनि हो, किनभने यसले शरीरका अन्य भागहरूले प्रयोग गर्ने रसायनहरू स्राव गर्छ । यी भिन्दाभिन्दै भूमिकाको कारण यसलाई अङ्ग र ग्रन्थी दुवै मानिन्छ ।

यसले शरीरलाई सामान्य अवस्थामा राख्न आवश्यक रसायन उत्पादन गर्छ । शरीरमा बनेका तत्त्वहरूलाई स–साना भागमा टुक्राएर विषाक्त तत्त्वहरूलाई हटाउँछ भने फाइदाजनक तत्व भण्डार गरिराख्न मद्दत गर्छ ।

शरीरका विभिन्न कार्यका लागि प्रोटिन आवश्यक हुन्छ । विभिन्न प्रकारका प्रोटिनहरू उत्पादन गर्न हेपाटोसाइट्स (हेपाटको अर्थ लिभर  र साइटोको अर्थ सेल)ले सघाइरहेको हुन्छ । यसमा रगत जमाउने तत्व (क्लटिंग फ्याक्टर) र एल्बुमिन समावेश छन् । यसै तत्वका कारण रक्तसञ्चार प्रणा भित्र रगतलाई तरल अवस्थामा कायम राख्न महत्त्वपूर्ण भूमिका निभाउँछ ।

कलेजोले कोलेस्टेरोल र ट्राइग्लाईसेराइड पनि उत्पादन गर्छ । कार्बोहाइड्रेटको पाचनमा पनि कलेजोले सघाउँछ र यो अंगले ग्लुकोजलाई ग्लाईकोजेनमा रूपान्तरण गर्छ, जुन कलेजो र मांसपेशीका कोषिकाहरूमा भण्डारण  हुन्छ ।

कलेजोले पित्त पनि उत्पादन गर्छ, जसले चिल्लो पचाउन मद्दत गर्छ । शरीरमा मेटाबोलिक प्रक्रियाको सहउत्पादन एमोनियालाई युरियामा परिणत गरेर शरीरलाई विषाक्त तत्त्वबाट मुक्त गर्न कलेजोले महत्त्वपूर्ण भूमिका खेल्छ, जुन मिर्गौलाद्वारा पिसाबको माध्यमबाट शरीरबाट निक्लन्छ । यसले रक्सी र कतिपय औषधिहरूलाई पनि टुक्र्याउन मद्दत गर्छ । शरीरमा इन्सुलिन र अन्य हार्मोनहरुको सन्तुलन कायम गर्छ ।

कलेजोसम्बन्धी रोग

पछिल्लो समय जीवनशैली र खानपानमा आएको परिवर्तनका कारण सबैभन्दा बढी प्रभावित अंग कलेजो हो । कलेजोलाई हानि पुर्‍याउने कारकहरूमा भाइरस, हानिकारक खाना र रक्सी मुख्य हुन् । हेपाटाइटिस ए, बी र सी जस्ता भाइरसले पनि कलेजोलाई हानि पुर्‍याउँछ ।

आजकल उच्च कोलेस्टेरोल भएको जंकफुडका साथै मादक पेय पदार्थको सेवन दैनिक जीवनशैली बनेको छ, यो पनि कलेजो रोगको प्रमुख कारण हो । यही जीवनशैलीका कारण शरीरको ‘बीएमआई’ अर्थात् बडी मास इन्डेक्सको स्तर बढाउँछ, सामान्य भाषामा मोटोपन निम्तिन्छ । जुन दोस्रो थरीको मधुमेहको बढ्दो जोखिमसँग सम्बन्धित छ र जुन कलेजोको गम्भीर रोगसँग पनि सम्बन्धित छ । अत्याधिक बीएमआईका कारणले गर्दा कालान्तरमा गम्भीर खालको कलेजो रोगको जोखिम हुन्छ । लगातार बढ्दो तौल र मोटोपनले पनि विश्वभर कलेजो रोगको वृद्धिमा भूमिका खेलेको छ ।

कलेजोमा क्षति पुर्‍याउने अर्को कारक तत्त्व मोटोपन हो । मोटोपन आज विश्वव्यापी समस्या हो । वयस्क र बालबालिका दुवैमा मोटोपनको समस्या बढ्दो छ । उपलब्ध अध्ययनहरूले मोटोपनले विभिन्न प्रकारका क्यान्सर निम्त्याउने देखाएको छ । मोटोपन र कलेजोको क्यान्सरको बीचमा विशेष सम्बन्ध हुन्छ ।

यसबाहेक अन्य रोग जस्तै नन–अल्कोहोलिक फ्याटी लिभर डिजिज (मद्यपान नभई अन्य कुनै कारण कलेजोमा चिल्लो थेग्रिने समस्या) र अझ गम्भीर खालको चिल्लो थेग्रिने समस्या (जसलाई नन–अल्कोहल स्टिएटोहेपाटाइटिस भनिन्छ)का कारण कलेजो सुन्निने जोखिम पनि हुन्छ । फ्याटी लिभर र कलेजो सुन्निने समस्याका कारण कलेजोको फाइब्रोसिस र सिरोसिस जस्तो समस्या समेत निम्तिन्छ । सिरोसिसलाई कलेजोको क्यान्सरको कारक मानिन्छ ।

अत्याधिक मात्रामा मदिरा सेवनले कलेजोमा गम्भीर क्षति पुर्‍याउन सक्छ । जब व्यक्तिले अत्याधिक मात्रामा मदिरा सेवन गर्छ, कलेजोको सामान्य कार्यमा बाधा पुग्छ र शरीरमा रासायनिक असन्तुलन हुन सक्छ । यसले कलेजोका कोषिकाहरू नष्ट हुनसक्छ ।

कलेजो क्यान्सरको लक्षण

कलेजोको क्यान्सरका लक्षणहरू व्यक्तिपिच्छे फरक–फरक हुन्छन् । तौल घट्नु, ज्वरो, पेट सुन्निनु,  वाकवाकी लाग्नु र बान्ता हुनु, भोक नलाग्नु, कमजोरी र लगातार थकाई लाग्नु, पेटको माथिल्लो भागमा दाहिने छेउमा वा दाहिने काँधमा पीडा हुनु, कलेजोको दाहिने छेउमा गाँठो महसुस हुनु र जन्डिस देखा पर्नु कलेजोको क्यान्सरका लक्षण हुन् ।

कलेजोमा रोग निम्त्याउने भाइरसविरुद्ध खोप लगाउनुपर्छ

चिकित्सा प्रविधिको विकाससँगै गम्भीर तवरले कलेजो क्षतिग्रस्त भएका बिरामीले कलेजो प्रत्यारोपणको विकल्प रोज्न सक्छन् । यसका लागि आधारभूत प्रक्रिया बुझ्नुपर्छ ।

कलेजोको विभिन्न कार्यका कारण यो भाइरस, विषाक्त पदार्थ, खाना र पानीमा हुने मिसावट र रोगबाट प्रभावित हुन्छ । यसमा समस्या हुँदा पनि पहिचान ढिलो हुन्छ किनभने यो शरीरको बलियो र कडा अंग हो । प्रायः कलेजोको समस्याबाट पीडित व्यक्तिलाई समस्याको बारेमा थाहा हुँदैन, किनभने लक्षण नदेखिने  वा कम लक्षण देखिने हुन्छ ।

कलेजोका रोगको उपचारका महत्त्वपूर्ण आधुनिक विधिहरू उपलब्ध भएपनि कलेजो खराब भयो भने पूर्ण समाधान भने छैन । त्यसैले कलेजोलाई क्षति हुनबाट जोगाउन स्वस्थ जीवनशैली अपनाउनुपर्छ र कलेजोमा रोग निम्त्याउने भाइरसविरुद्ध आवश्यक खोप लगाउनुपर्छ ।

एजेन्सीको सहयोगमा

कलेजो स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै