+

गर्भावस्थामा अल्ट्रासाउन्डको महत्त्व के छ ?

२०८१ वैशाख  १० गते ७:०० २०८१ वैशाख १० गते ७:००
Shares
गर्भावस्थामा अल्ट्रासाउन्डको महत्त्व के छ ?

गर्भवती भएपछि महिलाको स्वास्थ्य अवस्थाबारे थाहा पाउन विभिन्न जाँच गरिन्छ । यसबाट आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे आँकलन गर्न सकिन्छ । त्यस्तै गर्भावस्थाको समयमा बच्चाको विकासको सही मूल्यांकन गर्न चिकित्सकहरुले समय-समयमा अल्ट्रासाउन्ड गर्न सिफारिस गर्छन् ।

गर्भावस्थाको समयमा बच्चाको विकास जाँच गर्न समय–समयमा अल्ट्रासाउन्ड गरिन्छ ।  यस प्रक्रियामा अल्ट्रासाउन्ड किरणहरू मार्फत, पेटभित्र बढ्दै गरेको बच्चाको विकास र सही स्थिति कस्तो छ भन्ने कुरा पत्ता लगाइन्छ ।

गर्भमा रहेको शिशुको वृद्धि विकास कस्तो छ ? कुनै स्वास्थ्यसम्बन्धी समस्या छ कि छैन ? लगायतका कुरा अल्ट्रासाउन्डबाट थाहा पाउन सकिन्छ । समयमै अल्ट्रासाउन्ड गर्दा भविष्यमा बच्चामा आउन सक्ने समस्याको बेलैमै पहिचान गरी समाधान गर्न सकिन्छ ।  त्यसैले गर्भावस्थामा महिलाले कम्तीमा तीनदेखि चार पटक अल्ट्रासाउन्ड गर्नु राम्रो हुन्छ ।

पहिलो अल्ट्रासाउन्ड

पहिलो अल्ट्रासाउन्ड गर्भावस्थाको पहिलो त्रैमासिकमा गरिन्छ । यसबाट बच्चा पाठेघरभित्र बसेको छ कि बाहिर बसेको छ भन्ने कुरा थाहा हुन्छ ।

यस क्रममा पेटमा बढ्दै गरेको बच्चाको मुटुको धड्कनका बारेमा जानकारी लिइन्छ र यससँगै भ्रूणको विकास ठीकसँग भइरहेको छ कि छैन भन्ने पनि थाहा हुन्छ । साथै डेलिभरी हुने मिति पनि थाहा हुन्छ । नाकको हड्डी राम्ररी बनेको छ कि छैन,  गर्दनको मोटाइ कति छ भन्ने कुरा हेरिन्छ, जसले बच्चामा डाउन सिन्ड्रोम छ कि भन्ने कुराको पनि संकेत गर्छ । त्यसपछि डाउन सिन्ड्रमको थप जाँच गर्न सकिन्छ ।

दोस्रो अल्ट्रासाउन्ड

दोस्रो अल्ट्रासाउन्ड गर्भावस्थाको पाँचौं महिना १८ देखि २२ हप्तामा गर्नुपर्छ । यस अवधिमा बच्चाको छिटो विकास हुन्छ र उसको शरीरका अंगहरु बन्न थाल्छन् । अङ्गहरूको राम्ररी विकास भएको छ कि छैन भन्ने कुरा अल्ट्रासाउन्ड मार्फत पत्ता लाग्छ । यो अल्ट्रासाउन्डमा बच्चाको मुटुको धड्कनसँगै मस्तिष्क र मिर्गौलाको स्थिति पनि हेर्न सकिन्छ । यसमार्फत बच्चामा सम्भावित जन्मदोषहरू पत्ता लगाउन सकिन्छ ।

तेस्रो अल्ट्रासाउन्ड

गर्भावस्थाको सातौं महिना, २८ औं हप्ता र ३२ औं हप्ताको बीचमा तेस्रो अल्ट्रासाउन्ड गराउनु राम्रो हुन्छ । यो अल्ट्रासाउन्डमा बच्चाको मुटुको धड्कन, साल ठीक ठाउँमा छ कि छैन, पाठेघरमा पानीको मात्रा ठीक छ कि छैन र बच्चाको बढ्दो तौलको बारेमा जानकारी लिइन्छ । यससँगै बच्चाको विकास र गतिविधि पनि देख्न सकिन्छ ।

चौथो अल्ट्रासाउन्ड

चौथो र अन्तिम अल्ट्रासाउन्ड गर्भावस्थाको ३४ देखि ३६ औं हप्ता अर्थात् गर्भावस्थाको अन्तिम अवधिसम्म गरिन्छ । यस अल्ट्रासाउन्डमार्फत बच्चाको स्थिति देख्न सकिन्छ । यो अल्ट्रासाउन्ड धेरै महत्त्वपूर्ण छ र यसमार्फत थाहा हुन्छ कि यो कस्तो प्रकारको डेलिभरी हुनेछ र यसले कति समस्या निम्त्याउन सक्छ ।

बच्चा उल्टो बसेको छ, बच्चाको तौल बढी छ, पेटको पानी कम भएको छ भने सिजरियन डेलिभरी गर्नुपर्ने हुन्छ । यस्तो कुनै समस्या छैन भने नर्मल डेलिभरी हुन्छ ।

अल्ट्रासाउन्ड गर्भावस्था प्रा. डा. सुनिलमणि पोखरेल
प्रा. डा. सुनिलमणि पोखरेल
लेखक
प्रा. डा. सुनिलमणि पोखरेल
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

प्रा. डा. पोखरेल हाल चितवनस्थित भरतपुर अस्पतालमा कार्यरत छन् । प्रसूति तथा स्त्रीरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २८८२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पाटन अस्पतालमा चौथो स्टेज स्तन क्यान्सर सचेतना कार्यक्रम

पाटन अस्पतालमा चौथो स्टेज स्तन क्यान्सर सचेतना कार्यक्रम

मस्तिष्कघात : एक मिनेट ढिला, जीवनको क्षति

मस्तिष्कघात : एक मिनेट ढिला, जीवनको क्षति

ट्रान्सजेन्डर पुरुषका लागि महिनावारी हुनु सबैभन्दा अप्ठ्यारो अवस्था हो

ट्रान्सजेन्डर पुरुषका लागि महिनावारी हुनु सबैभन्दा अप्ठ्यारो अवस्था हो

अनुभूति : अप्रेसन थिएटरभित्र ‘भाइटीका’

अनुभूति : अप्रेसन थिएटरभित्र ‘भाइटीका’

मोटोपनको कुरामा किन महिलाहरू बढी चिन्तित हुन्छन् ?

मोटोपनको कुरामा किन महिलाहरू बढी चिन्तित हुन्छन् ?

ओस्टिओपोरोसिस : साइलेन्ट किलर जसले हड्डी भित्रैबाट कमजोर बनाउँछ

ओस्टिओपोरोसिस : साइलेन्ट किलर जसले हड्डी भित्रैबाट कमजोर बनाउँछ