News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व मस्तिष्कघात दिवसको नारा ‘एक एक मिनेटको मूल्य जीवन हो’ राखिएको छ किनभने मस्तिष्कघात हुँदा एक मिनेटमा लाखौँ मस्तिष्क कोषिका मर्छन्।
- विश्व स्वास्थ्य सङ्गठनका अनुसार मस्तिष्कघात भएका बिरामीमध्ये ३ घण्टाभित्र उपचार पाउने ७० प्रतिशतभन्दा बढी पूर्णरूपमा निको हुन्छन्।
- नेपालमा मस्तिष्कघातको अवस्था गम्भीर बन्दै गएको छ ।
कल्पना गर्नुहोस्, तपाईं नजिकै बसेको मान्छे अचानक बोल्न छाड्छ, शरीरको एक भाग चल्दैन, अनुहार बाङ्गो हुँदै जान्छ । हेर्दा हेर्दै त्यो व्यक्ति अचेत अवस्थामा पुग्छ । यस्तो हुनु मस्तिष्कघातको लक्षण हुनसक्छ । अनि यो लक्षण देखिरहँदा प्रत्येक मिनेटको महत्व हुन्छ । किनकि, मस्तिष्कघात हुँदा एक मिनेटमा मस्तिष्कका लाखौँ कोषिकाहरू मरिरहेको हुन्छ । ढिला भयो भने, फर्केर नआउने गरी क्षति हुन्छ ।
त्यसैले, यो वर्षको ‘विश्व मस्तिष्कघात दिवस’को नारा नै ‘एक एक मिनेटको मूल्य जीवन हो’ भनेर राखिएको छ । विश्वमै पक्षघात गराउने वा मृत्यु तत्काल गराउने प्रमुख कारण मध्ये एक मस्तिष्कघात बनेको छ । अनि नेपाल पनि यसबाट अछुतो छैन ।
लक्षण देखिनेबित्तिकै तुरुन्त उपचार नहुँदा अकालमै मृत्यु हुने गर्छ । जति छिटो उपचार भयो, मस्तिष्का कोषहरू बचाउन सकिन्छ, कोषहरू बच्नु भनेको जीवन बच्नु हो ।
विश्वभरको तथ्यांकले भन्छ, ‘अचानक मृत्युको चौथो कारण मस्तिष्कघात हो ।’ विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार मस्तिष्कघात भएका बिरामीमध्ये ३ घण्टाभित्र उपचार पाउने ७० प्रतिशतभन्दा बढी व्यक्तिहरू पूर्णरूपमा निको हुन्छन्, तर ढिला उपचारले यो सम्भावना १० प्रतिशतभन्दा तल झर्छ ।
मस्तिष्कघात के हो ?
कुनै कारणवश मस्तिष्कको रक्तसञ्चारमा अचानक अवरोध पुग्दा हुने आपतकालीन अवस्था ‘मस्तिष्कघात’ भनिन्छ । यसलाई अंग्रेजीमा ‘स्ट्रोक’ भनिन्छ । यदि रगतको प्रवाह रोकियो वा अवरोध भएमा मस्तिष्कले हरेक सेकेन्डमा ३२ हजार कोषिका गुमाउँछ ।
मस्तिष्कघात दुई किसिमको हुन्छ । ब्रेन हेमोरेजिक मस्तिष्कघात र अर्को, स्केमिक मस्तिष्कघात ।
ब्रेन हेमोरेजिक मस्तिष्कघात
ब्रेन हेमोरेजिक मस्तिष्कघात भनेको मस्तिष्कभित्रका नसाहरू अचानक फुटेर रगत बग्ने र त्यसले दिमागका तन्तुहरूलाई दबाब दिई क्षति पुर्याउने अवस्थालाई भनिन्छ ।
स्केमिक मस्तिष्कघात
मस्तिष्कको नसामा अवरोध भएर रगतको प्रवाह रोकिँदा त्यस भागमा अक्सिजन र पोषण पुग्दैन । अक्सिजन र पोषण नपाउँदा मस्तिष्कका कोषहरू क्रमशः मर्न थाल्छन् । यस्तो अवस्थालाई स्केमिक मस्तिष्कघात भनिन्छ ।
धेरै हुने स्केमिक मस्तिष्कघात
मस्तिष्कघातका लगभग ९० प्रतिशत केसमा रक्त प्रवाहमा अवरोध हुने स्केमिक मस्तिष्कघात हुन्छ । बाँकी १० प्रतिशत केसहरूमा मस्तिष्कभित्र नसा फुटेर रगत बग्ने हेमोरेजिक मस्तिष्कघात हुन्छ । तुलनात्मक रूपमा हेमोरेजिक मस्तिष्कघात कम देखिए पनि यसको परिणाम अत्यन्त गम्भीर र जटिल हुनसक्छ ।
नेपालको अवस्था के छ ?
नेपालमा मस्तिष्कघातको अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ । वीर अस्पतालको न्युरो वार्डमा हाल ५६-६० बेडहरू मस्तिष्कघातका बिरामीले नै भरिएका छन्, र नर्भिक इन्टरनेशनल अस्पतालमा पनि यस्तै अवस्था देखिन्छ ।
यी तथ्यहरूले स्पष्ट पार्छ, मस्तिष्कघात अब हाम्रो समाजको मौन महामारी बन्दै गएको छ । यदि यो दर यही रह्यो भने निकट भविष्यमा मस्तिष्कघात मृत्यु र दीर्घकालीन अपांगताको प्रमुख कारण बन्ने निश्चित देखिन्छ ।
किन हुन्छ ?
१.कोलेस्टेरोल, मधुमेह, अनियन्त्रित उच्च रक्तचाप
जब कोलेस्टेरोको मात्रा बढ्छ, रक्तनलीभित्र बोसोको थुप्रो जम्मा हुन्छ । यसले रक्तप्रवाहलाई अवरुद्ध बनाएर मस्तिष्कसम्म पुग्ने रगत रोक्न सक्छ । त्यस्तै, मधुमेह अनियन्त्रित भएमा रक्तनलीलाई कमजोर पार्न सक्छ । उच्च रक्तचापले मुटुलाई दबाब दिएर मस्तिष्कसम्म पुगेर मस्तिष्कघात निम्त्याउन सक्छ ।
२.औषधि नखाने वा बन्द गर्ने बानी
उच्च रक्तचाप, मधुमेह वा मुटु रोगका लागि दिइएका औषधि नियमित नखाने वा छाडेमा रक्तनलीमा क्षति हुन्छ र मस्तिष्कघातको जोखिम अत्यधिक बढ्छ ।
३.अनियमित जीवनशैली
बढी रक्सी र धूम्रपानले रक्तनलीमा तनाव पैदा गरी रगत जमाएर मस्तिष्कघात गराउने सम्भावना बढाउँछ । यसको अर्को, कारण शारीरिक रुपमा निष्क्रिय हुनु हो ।
शरीरलाई व्यायाम नपुग्दा मुटु-रक्तनली स्वस्थ रहँदैन, मोटोपन बढ्छ र मस्तिष्कघातको जोखिम बढ्छ । बढी तौल, बोसो र नुनयुक्त खाना अत्यधिक खाँदा रक्तचाप, कोलेस्टेरोल र मधुमेहको सन्तुलनलाई बिगार्छ ।
४.मस्तिष्कको समस्या
मस्तिष्कमा पहिले नै नसा सम्बन्धी समस्या, जस्तै एनेउरिज्म वा अरू असामान्य संरचना भएमा रक्तस्राव हुने सम्भावना बढ्छ । यी सबै कारकले मस्तिष्कमा रगत पुग्न समस्या गराउन सक्छ ।
५.कम उमेरमै मुटुको समस्या भएमा
मुटुमा रगत जम्दा, थोरै-थोरै यसको ढिक्का मस्तिष्कसम्म पुगेर नसामा अवरोध ल्याउँछ । समयसँगै यो ‘साइलेन्ट मस्तिष्कघात’ बन्न सक्छ, जसले अचानक मस्तिष्कघात निम्त्याउन सक्छ ।
६.शौचालयमा पनि हुनसक्छ
शौचालयमा अचानक बेहोस हुने र कतिपयको मृत्युसमेत हुने गरेको पाइन्छ । यसरी मृत्यु हुने कतिपय घटना मस्तिष्कघातका कारण हुनसक्छ । शौच गर्ने क्रममा जब हामी अत्यधिक बल लगाउँछौं, शरीरभित्रको रक्तचाप अचानक तीव्र रूपमा बढ्छ । कहिलेकाहीँ यो दबाब २०० मिलिमिटर पारोभन्दा माथि पुग्छ । यस्तो उच्च दबाबले मस्तिष्कका कमजोर नसा फुट्न सक्छन् ।
के मस्तिष्कघात अचानक हुन्छ ?
मस्तिष्कघात अचानक हुने अवस्था हो । र, यो हुँदा पहिला नै कुनै संकेत दिएर आउँदैन । तर, मस्तिष्कघात हुनु करिब एक घण्टा अघि वा भइसकेपछि लक्षण भने देखाउँछ। त्यसैले, असामान्य लक्षण देखिनेबित्तिकै चनाखो हुनुपर्छ ।
लक्षणहरू
-एक घण्टा अघिबाट टाउको दुख्नु
-अनुहार बाङ्गिएको जस्तो देखिनु
-बोली लरबराउनु वा बोल्न नसक्नु
-शरीरको एक भाग अचानक कमजोरी अनुभव हुनु वा हातखुट्टा झमझमाउनु
-एक वा दुई आँखाले हेर्नमा कठिनाइ हुनु
-हिँड्न, बस्न र उठ्न नसक्नु वा शरीरले आफ्नो सन्तुलन गुमाउनु
-नसा फुटेर रक्तस्राव हुनुपूर्व अत्यधिक टाउको दुख्ने, बेहोस हुनेलगायतका लक्षण देखिनसक्छ ।
तुरुन्त अस्पताल जानुपर्छ
माथि उल्लेखित लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ । किनकि लक्षण देखिएको २४ घण्टाभित्र बिस्तारै मस्तिष्कको कोष मर्दै जाने हुँदा एक÷एक मिनेटको महत्व हुन्छ ।
मरिसकेको तन्तु वा नसालाई केही गर्न नसके पनि बाँकी नसामा भएको अवरोध खोलेर रक्त सञ्चार गराउन सकिन्छ । यसले बिरामी बाँच्ने सम्भावना बढ्छ । समयमै नसा खोल्न सके पूर्णत: निको हुन्छ ।
उपचार
स्केमिक मस्तिष्कघात भएमा मस्तिष्कको सानो नसा बन्द भएको हुन्छ, जसमा थ्रम्बोलाइसिस औषधि दिएर जमेको रगतको ढिक्कालाई पगाल्न सकिन्छ । ठूलो नसा बन्द भएको अवस्थामा औषधिले पगाल्न सक्दैन ।औषधि दिएर पनि कुनै प्रभाव नदेखिएमा एउटै मात्र विकल्प बाँकी रहन्छ, न्युरोइन्टरभेन्सनल विधि ।
यसमा टाउकोको चिरफार नगरी भित्र-भित्रै नसाबाट मस्तिष्कसम्म तार पुर्याएर जमेको रगतले अवरोध भएको नसा खोलिन्छ ।त्यस्तै, हेमोरेजिक मस्तिष्कघात भएमा चिरफार र तारको माध्यम दुवैबाट उपचार गर्न सकिन्छ ।
नेपालमा उपचार
नेपालमा मस्तिष्कघात केयर सेन्टरहरूको अभाव छ । धेरै अस्पतालमा तात्काल सिटी स्क्यान सेवा, प्रशिक्षित टिम र आवश्यक उपचार सुविधा उपलब्ध छैन । दक्ष जनशक्ति, उपकरण र बेलैमा रोगको पहिचान नहुनु, अस्पताल जान नखोज्नु वा ढिला पुग्दा वर्षेनी कयौंले मस्तिष्कघातको कारण ज्यान गुमाएका छन् ।
त्यसैले, छिटो निदान र उपचार अनिवार्य छ । यसले जीवन र अपांगता बीचको दूरी घटाउँछ ।
प्रतिक्रिया 4