+
+

‘परदेशी २’ प्रचारका लागि पूर्वी नेपाल दौडाहामा प्रकाश सपुत र वर्षा सिवाकोटी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १७:१५

काठमाडौं । शुक्रबार रिलिज हुन लागेको फिल्म ‘परदेशी २’ ले पूर्वी नेपालको दौडाहा थालेको छ । फिल्म प्रचारका लागि अभिनेता प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटी यतिबेला पूर्वका सहरहरुमा व्यस्त छन् ।

सोमबार इटहरीमा पत्रकार भेटघाट गर्दै उनीहरुले राम्रो कथावस्तुमा फिल्म बनेकाले हेरिदिन दर्शकलाई आग्रह गरे । पत्रकार भेटघाटमा निर्माता राजेश वंशल पनि सहभागी थिए । पश्चिमतिरको प्रवर्द्धनमा नहिंडेकी सिवाकोटी भने पूर्वको दौडाहामा निस्किएकी हुन् ।

प्रकाश र वर्षाले ‘परदेशी २’ मा स्क्रिन सेयर पनि गरेका छन् । वर्षाले मौलिक नेपाली कथामा फिल्म बनेकाले सबै नेपालीका लागि फिल्म दर्शनीय रहेको बताइन् । प्रकाशले पनि आफ्नो संगीत करिअरसँगै फिल्मको छायांकन भएको स्मरण गर्दै फिल्मको कथावस्तुमा नेपालीको यथार्थ चित्रण हुने बताए ।

निर्माता वंशलले छिमेकी मुलुकको फिल्मबाट प्रभावित नभईकन फिल्म बनाएको बताए । फिल्म युनिटले इलाइट सिनेमा हलको भिजिटपछि पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

नारायण रायमाझी निर्देशित फिल्मले अध्ययनका लागि विदेशिएका युवाको संघर्ष र त्यसबाट सिर्जित पारिवारिक एवं सामाजिक प्रभावको कथा पेश गर्छ । प्रकाश सपुतको यो डेब्यु फिल्म समेत हो । ‘पहिलो फिल्ममार्फत वैदेशिक यात्रामा संघर्ष गर्ने युवाको चरित्र निर्वाह गर्न पाउँदा उत्साहित छु,’ प्रकाशले भने ।

वर्षाले फिल्ममा आफ्नो फरक भूमिका रहेको बताइन् । मिडियामा फिल्मबारे ‘पोजिटिभ रेस्पोन्स’ आएकाले उत्साहित रहेको उनले सुनाइन् । यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ निर्देशन गरेका रायमाझीको यो तेस्रो निर्देशकीय फिल्म हो ।

फिल्ममा केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बाँस्तोला, देवेन्द्र बब्लु र रोशनी कार्कीको पनि अभिनय छ फिल्मको । पटकथा रमेश बिजीले लेखेका हुन् भने मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?