+
+

चोकचोकमा डिभी भराउनेको लर्को, ३ सयदेखि हजार रुपैयाँसम्म शुल्क

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १७:३९

२५ असोज, पोखरा । पोखराका विशाल गुरुङले यसपालि दोस्रोपटक अमेरिकी डाइभर्सिटी भिसा (डिभी) भरे । अघिल्लो पटक आफैैं भरेका उनले चिठ्ठा नपरेपछि यस पटक एजेन्टमार्फत भरेको बताए ।

‘फोटो नमिलेर हो कि के भएर हो अघिल्लो पटक परेन । यसपालि चाहिँ फोटो स्टुडियोमै गएर भरेको छु,’ गुरुङले भने, ‘यति भएपछि अलिअलि आशा लागेको छ । भाग्य चम्कियो भने त चम्किहाल्यो नि !’

लामो समयदेखि पोखरा मानव अधिकारचोकमा फोटो स्टुडियो चलाइरहेका दुर्गाप्रसाद पौडेल दशैंताका व्यस्त हुन्छन् । यहीबेला डिभी चिठ्ठा खुल्ने र पसलमा दैनिकी ३० देखि ४० जना डिभी फर्म भर्न आउनेहरु आउँदा उनी अरुबेला भन्दा व्यस्त हुन्छन् ।

‘आफैं भर्न नसक्ने होइन । तर, स्टुडियोबाट भर्दा मागेको स्टाण्डर्ड फोटोदेखि लिएर अन्य विवरणमा पनि कम गल्ती हुने सम्भावना हुन्छ’, पौडेल भन्छन्, ‘हाम्रोमा आउने भनेको दैनिक ३०/४० जना हुन् ।’ उनले फोटोकै कारण धेरैजना फालिने गरेको सुनाए ।

पोखराका मुख्यमुख्य चोकमात्रै नभएर गल्लीगल्लीमा यतिबेला डिभी भर्नेहरुको लर्को छ । फोटोे स्टुडियो, शैक्षिक कन्सल्टेन्सीदेखि ट्राभल्स एजेन्सीसम्मले डिभी भराइरहेका छन् । उनीहरुले प्रतिव्यक्ति ३ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म असुलिरहेका छन् ।

‘फोटो स्टुडियो सबैको काम अहिले डिभी फोटो खिच्ने र फर्म भरिदिने जस्तै भा’छ । स्टुडियोलाई फोटो कस्तो खिच्ने, कसरी खिच्ने अनुभवी भएकाले पनि सजिलै विश्वास गर्छन्’, पौडेल भन्छन्, ‘तर, कन्सल्टेन्सी, ट्राभल एजेन्सीहरुले पनि फर्म भराइरहेका छन् । उनीहरुबाट ठगिने सम्भावना बढी हुन्छ ।’

पोखरामा संस्थागत रुपमै सयभन्दा बढी फोटो स्टुडियो र त्यत्तिकै संख्यामा शैक्षिक कन्सल्टेन्सी र ट्राभल्स एजेन्सीले निश्चित शुल्क लिएर डिभी भराइरहेका छन् । दैनिक सय जनाबाट प्रतिव्यक्ति कम्तीमा ३ सय रुपैयाँ उठाए पनि ३० हजार रुपैयाँ आम्दानी हुने उनीहरु बताउँछन् ।

अमेरिकन दूतावासले डिभी कार्यक्रममा सहभागी हुन कुनै पनि शुल्क नलाग्ने सूचना नै जारी गरेको छ । तर, संस्थागतमात्रै नभएर व्यक्तिगत रुपमा पनि फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल प्रयोग गरेर महंगो शुल्क असुलेर डिभी भराइरहेका छन् ।

असोज १९ गतेदेखि खुलेको अमेरिकी डिभी कार्यक्रम कात्तिक २२ गतेसम्म फारम भर्ने समय तोकिएको छ । अघिल्लो वर्षहरुमा भिडी भर्न पासपोर्टको हुनुपर्ने व्यवस्था थियो । तर, यसवर्षअघि उक्त व्यवस्था हटाएकाले डिभी भर्नेको संख्या झनै बढ्ने देखिएकोे डिभी भर्न सहयोग पु¥याउने सहजकर्ताले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?