+
+

दशैं लागेपछि सडक मर्मतमा स्थानीय तहको सक्रियता

दशैंको समयमा आउजाउ गर्ने यात्रुको सुविधालाई मध्यनजर गरेर देशभरका स्थानीय तहले पछिल्लो समय सडक मर्मत तथा सरसफाइ गरिरहेका छन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० असोज २८ गते १९:४९
कीर्तिपुरको अस्पताल रोड मर्मत गर्दै नगरपालिका । तस्वीर : रुपेश महर्जनको फेसबुकबाट

२८ असोज, काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिकाले अहिले धमाधम सडक मर्मतको काम गरिरहेको छ । वर्षामा आएको भेलबाढीले बिगारेको सडक र गोरेटो बाटो मर्मत गर्न सबै वडा कार्यालयहरु सक्रिय छन् । गाउँपालिकाले ३० असोजसम्म सबै सडक मर्मत गरी सक्ने बताएको छ ।

‘चाडपर्वमा धेरै मानिसहरू गाउँ फर्कन्छन् । यस्तो बेला समस्या नहोस् भनेर सडक मर्मत गरिरहेका छौं, समस्या हुँदैन होला । तर, अब भइहाल्यो भने समाधान गर्न एक्साभेटर तयारी अवस्थामा राखेका छौं,’ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जवेगुले भने ।

प्रत्येक वर्ष हेवा खोलाले सडकमा क्षति पुर्‍याउने भएकाले बाटो मर्मत र सरसफाइलाई सधैं प्राथमिकता राख्ने गरिएको उनले बताए । यो पटक पनि घुमाउनेटारमा बाटो बिग्रँदा श्रमदान गरेर नै बाटो मर्मत गरेर खोलिएको उनले बताए ।

पाँचथरको जस्तै जुम्लाको तिला गाउँपालिकाले पनि अहिले बाढीले क्षति पुर्‍याएका स्थानमा बाटो मर्मत को काम गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार दशैं लक्षित मात्रै नभई बाढीपछिको भत्केको संरचना पुनर्निर्माण समेत गरिरहेको हो । गत भदौमा तिला गाउँपालिका–६ स्थित रुखेडामा बाढीले सडकमा क्षति पुर्‍याएको थियो ।

पाँचथरको तिला गाउँपालिकाले मात्रै होइन सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पनि बर्खाको समयमा बाढीले क्षति पुर्‍याएको सडक मर्मत कार्यलाई तीब्रता दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्साल लामिछानेका अनुसार दशैंको समयमा गाउँ फर्कने स्थानीयबासिन्दालाई समस्या नहोस् भनेर सडक मर्मतको काम गरिरहेको छ ।

‘२७ र २८ असारमा आएको बाढीले हेलम्बुमा ठूलो क्षति पुर्‍यायो । उक्त सडक गाउँपालिकाले मर्मत गरेर सञ्चालनमा त ल्यायो । तर ६ दिनअगाडिको बाढीले फेरि क्षति पुर्‍याएको छ । तर, दशैंमा सबै मुख्य सडक, शाखा सडक र गोरेटोबाटो सञ्चालन गर्दैछौं,’ उनले भनिन् ।

मौसमले साथ दिए दशैंमा घर फर्कने पाहुनाहरुलाई सहज हुनेगरी काम गरिरहेको उनले बताइन् । ग्रामीण क्षेत्रको कृषि सडकलाई लक्षित गरेर वडा कार्यालयहरुले बाटो मर्मतको काम, सफा गर्ने काम समेत गरिरहेका छन् ।

यस्तै काठमाडौंको कीर्तिपुर नगरपालिकाले दशैंलाई लक्षित गरेर सडकका खाल्डाखुल्डी धमाधम पुरिरहेको छ । नियमित कामअन्तर्गत नै गरिरहेको भए पनि चाडपर्वका लागि विशेष प्राथमिकता दिएको उपप्रमुख सुनिता शाक्यले बताइन् । ‘खाल्डाखुल्डीको समस्या आएपछि हामीले जहिले पनि मर्मत सम्भार गरिरहेका छौं, अहिले चाडपर्व लक्षित गरेर पनि सडक मर्मत गरिरहेका हौं,’ उनले भनिन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकाले पनि दशैंलाई लक्षित गरेर खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ । ‘हामीले चाडपर्व लक्षित गरेर खाल्डो पुर्ने, रुखहरु काँटछाँट गर्ने, आवश्यकता अनुसार रंगरोगन गर्ने काम गरिरहेका छौं,’ उपमहानगरका प्रवक्ता सविन न्यौपानेले भने । उपमहानगरपालिकाको ग्रामीण क्षेत्रमा पर्ने बस्तीहरुमा प्राथमिकताको साथ बाटो मर्मत गर्ने, सम्याउने काम गरिरहेको उनले बताए ।

‘देशका प्रमुख राजमार्ग हाम्रै पालिकामा पर्छ, सडक विभागले मद्धत मागेको अवस्थामा हामी जनशक्ति र साधन उपलब्ध गराउन तयार छौं,’ न्यौपानेले भने ।

सडक मर्मत र सरसफाइ मात्रै होइन, स्थानीय तहले चाडपर्वको बेला यातायात क्षेत्रमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न सक्रिय समेत भइरहेको छ । गुल्मीको मालिका गाउँपालिकाले नियमअनुसार मात्रै भाडा लिन सचेत गराएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै चाडपर्वमा तोकिएको भन्दा बढी भाडा लिएको भन्ने गुनासो आएपछि बढी भाडा नलिन सचेत गराएको छ । बढी भाडामा लिएमा कारबाही हुने भन्दै गाउँपालिकाले उजुरी गर्न फोन नम्बरसमेत सार्वजनिक गरेको छ ।

कतिपय गाउँपालिकाहरुले भने चाडपर्वको अवसरमा आइपर्ने सडक समस्यालाई समाधान गर्न डोजर तयारी अवस्थामा राखेका छन् ।

नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ठूला राजमार्ग मात्रै नभई साना सडक, शाखा सडक पनि व्यवस्थापन गनुपर्ने बताउँछन् ।

‘देशभरिका स्थानीय तहले आफ्नो पालिकामा पर्ने साना सडकहरु मात्रै मर्मत गर्ने हो भने दशैंमा घर जाने यात्रुले धेरै समस्या भोग्नुपर्दैन थियो,’ सिटौला भन्छन् । ग्रामीण सडक, कृषि सडकहरुमा दशैंको बेला धेरै सवारी चाप हुने गरेकाले स्थानीय तहले सोहीअनुसार काम गर्नुपर्ने उनी बताउँछन् ।

‘एउटा मुख्य सडक बिग्रँदा यातायात सवारीको अन्य सबै तालिकामा असर पुग्छ । स्थानीय तहले वैकल्पिक सडकहरुको मर्मत गरिदिने हो भने यात्रुले सास्ती बेहोर्नु पर्दैन नि,’ उनले भने ।

सडक विभागको तथ्यांकअनुसार अहिले अधिकांश सडक दोहोरो गाडी चल्न सक्ने अवस्थामा छन् । तर, यात्रुको चाप धेरै हुने भएकाले मुख्य सडकमा स्थानीय ग्रामीण सडकभन्दा धेरै समस्या हुने गरेको विभागले जनाएको छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल सडक विस्तारको कामले यात्रा कष्टकर हुनेदेखि यात्राको समय लम्बिन सक्ने अवस्था रहेको स्वीकार गर्छन् । यद्यपि, कम सास्ती होस् भन्ने उद्देश्यले निर्माण कम्पनीहरुलाई सडक व्यवस्थापनको जिम्मा दिइसकिएको उनले बताए ।

यातायात व्यवस्था विभागका निर्देशक ईश्वरीदत्त पनेरुका अनुसार मुख्य सडकलाई मर्मत/सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध भइसकेको छ । अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेक ट्रेलरलगायत ठूला सवारी साधन २८ असोजदेखि ८ कात्तिकसम्म नारायणगढदेखि काठमाडौंसम्म चल्न रोक लगाइएको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?