+
+

आकाशबाट बम खसे पनि गाजा छोड्न चाहँदैनन् उनीहरू

बीबीसीबाट बीबीसीबाट
२०८० असोज २९ गते १८:५६
इजरायलको प्रहार गरेको मिसाइलले पारेको खाल्डो नजिक भेला भएका गाजाका बासिन्दा ।

२९ असोज, काठमाडौं । इजरायलले उत्तरी गाजापट्टी खाली गर्न दिएको समय सकिइसकेको छ । गाजामा रकेट आक्रमण गर्दै आएको इजरायली सेना अब जमिनबाटै गाजामा घुस्ने तयारीमा छ ।

इजरायली सेनाले गाजामा प्रवेश गरेर के गर्ने हो कुनै टुंगो छैन । तर पनि गाजाका बासिन्दा आफ्नो वासस्थान छाडेर अन्यत्र जान तयार छैनन् ।

४२ वर्षका इब्राहिम गाजाकै विभिन्न ठाउँबाट एकीकृत भएका आफन्तसँग एउटा सानो कोठामा बसिरहेका छन् । कोठामा भएकाहरु कहिले एकआपसमा गफ गर्छन् त कहिले आफ्नो फोनमा इजरायल हमास युद्धका बारेमा आएका समाचार पढ्छन् । इब्राहिम भन्छन्, ‘मैले आफ्नो जमिन छोड्ने छैन, म कहिल्यै छाड्दिनँ ।’

उनी अघि थप्छन्, ‘यदि उनीहरुले हाम्रो शिरमाथिको यो छतलाई ध्वस्त बनाए पनि म दोस्रो ठाउँ जान सक्दिनँ, म यहीं बस्छु ।’

गत हप्ता हमासले इजरायलमा आक्रमण गरेपछि इब्राहिम पहिला नै गाजा शहरको एक दुई ठाउँमा गएका छन् ।

उनले भने, ‘गत आइतबार राति २ बजे आक्रमण भयो, रकेट हानियो, म श्रीमती र ४ बच्चा लिएर भागें ।’

इब्राहिमको र उनको परिवार जबालिया क्षेत्र छाडेर शेख रदवान पुगेका थिए । त्यहाँ पुगेपछि उनलाई थाहा भयो कि यो ठाउँमा पनि हमला गरिनेछ । त्यसपछि उनी गाजाको बाहिरी क्षेत्रमा रहेको एउटा बस्तीमा पुगे ।

त्यहाँ पनि असुरक्षित रहेपछि अब उनलाई उत्तरी गाजा छाड्नु सही लागेको छैन ।

उनी प्रश्न गर्छन्, ‘हामीलाई दक्षिणी गाजामा जानका लागि भनेका छन्, म र मेरो परिवार कहाँ जाओस् ।’

उनका बच्चालाई आफ्नो घरको बगैंचा याद आउँछ, उनको छोरा अहमदलाई साथीहरुसँग घर वरपर साइकल चलाउन मन पर्छ ।

अहमदले इब्राहिमलाई आफ्ना साथीहरु जिउँदै छन् भनेर सोध्छन् । उनीसँग साथीहरु भेट्न जाने बाटो नै छैन ।

इब्राहिमको घर नजिकैको गल्लीमा ३८ वर्षीय अबु जमिल पानीको पाइप छेउमा बसेका छन् र आखिरी थोपालाई बाहिर निकाल्ने प्रयासमा छन् । ‘८ दिनदेखि यहाँ न त खाना छ न त पानी’ जमिल भन्छन् ।

इजरायलले गाजामा बिजुली र पानीको आपूर्ति बन्द गरिदिएको छ । साथै इन्धन र बाँकी सामानलाई यहाँ ल्याउन रोक लगाएको छ ।

‘पानी छैन, बिजुली छैन, जीवन छैन, कति कठिन छ’, जमिल भन्छन् ।

तर पनि जमिल आफ्ना ५ बच्चासँगै उत्तरी गाजामै बस्ने निर्णय गरेका छन् । उनका दुई छोरा र ३ छोरी छन् । सबैभन्दा सानोको उमेर ४ वर्ष मात्र भएको छ ।

उनी भन्छन्, ‘हाम्रो जाने कुनै ठाउँ छैन, उनीहरुले हाम्रो घरमै हमला गरे पनि हामी यहाँबाट अन्त जाँदैनौं, ५-६ सदस्यीय परिवारलाई लिएर हामी कहाँ जान सक्छौं र ?’

जमिल र इब्राहिमले उत्तरी गाजामै बस्ने निर्णय गरे पनि इजरायली सेनाको आदेशपछि साढे ४ लाख जनाले आफ्नो घर छाडेका छन् । ११ लाख जनसंख्या रहेको यो शहरबाट ४८ घन्टामा उनीहरु सलाह अल-दिन रोडहुँदै दक्षिणी गाजामा गएका हुन् ।

गाजाबाट इजरायली सीमा क्षेत्रको एक किलोमिटर टाढा हेर्‍यो भने गाजामा अब के हुन्छ भन्ने अनुमान गर्न गाह्रो छैन ।

नजिकैको राजमार्गमा हतियारधारी सैनिक घुमिरहेका छन् । आकाशमा सेनाको ड्रोन उडिरहेको छ ।

यहीबीचमा नजिकै गाजातिरबाट एउटा सानो विस्फोटको आवाज आयो, त्यसको बदलामा इजारायली ट्याङ्कले बम बर्सायो ।

यो दृश्यले यहाँ जुनसुकै बेलामा पनि इजरायली सेनाले जमिनी हमला गर्ने खतरा छ ।

७ अक्टोबरको बिहान हमासले हमला गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई सखाप पार्ने योजना बनाएका छन् । जुन योजनाको केन्द्रमा यो क्षेत्र रहने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?