+
+

एसियाडमा रजत विजेता एरिका नगद सहित सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १९:०९

२९ असोज, काठमाडौं । चीनको हान्झाउमा सम्पन्न १९औं एसियाडमा नेपाललाई ऐतिहासिक रजत दिलाएकी कराते खेलाडी एरिका गुरुङ नगद सहित सम्मानित भएकी छन् ।

नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवास गोपाल वैद्यले सोमबार एक कार्यक्रमकाबीच एरिकालाई व्यक्तिगत रुपमा नगद २ लाख रुपैयाँबाट सम्मान गरेका हुन् ।

१९औं एसियाडमा नेपाली कराते टिमका व्यवस्थापक समेत रहेका निवास वैद्यले पूर्वघोषित पुरस्कार प्रदान गरेका हुन् । वैद्य नेपाल कराते महासंघका सल्लाहकार समेत हुन् ।

एसियाडका करातेलाई पहिलो पटक रजत दिलाएकी १९ वर्षीय एरिकाले सम्मानले अझै खुशी थपिदिएको भन्दै धन्यवाद दिइन् ।

‘यो जितमा अझै खुशी थपिदिनुभएकोमा धन्यवाद । यो जित एरिका, डोजो, क्लब मात्र नभई सिंगो देशकै जित भएको अनुभव मलाई भएको छ । मेरो टिम सबैलाई धन्यवाद’, एरिकाले सम्मानित भएपछि भनिन्, ‘यो हौसलालाई मायाका साथ अगाडि बढाउनेछु ।’

उनले एसियाड अघि इन्डोनेसियामा वर्ल्ड सितेरियो च्याम्पियनसिप खेल्न जाँदादेखि निवास गुरुको साथ रहेको धेरै सहयोग गरेको बताइन् ।

आफूले जितेको पदक व्यक्तिगत भन्दा पनि देशलाई र आफूलाई सहयोग गर्ने सबैको लागि भएको उनले बताइन् । ‘यो मेडल मेरो भन्दा पनि पहिला राष्ट्रको होला । त्यसपछि राखेप, कराते महासंघ, मेरो टिमको हो अनि मात्र मेरो हो ।’

एसियाडमा पदक जित्नका लागि सबैको सहयोग र हौसलाला प्राप्त भएको स्मरण गर्दै आफूले एसियाडमा त्यो काम पूरा गर्दै त्यसको गुन फर्काउन पाएकोमा उनी खुशी थिइन् ।

१९औं एसियाडमा नेपालबाट ८ कराते खेलाडी सहभागी भएकोमा एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

विप्लवमान श्रेष्ठ कास्य पदकका लागि भएको खेलमा साउदी अरेबियाका खेलाडीसँग पराजित हुँदा पदक जित्न सकेनन् ।

एरिकालाई व्यक्तिगत रुपमा सम्मान गरेका निवास गोपाल वैद्यले नेपाली खेलाडीले पनि जित्न सक्छ भनेर प्रमाणित गरेको बताउँदै अर्को एसियाडका लागि चाँडै तयारी सुरु गर्नुपर्ने बताए ।

नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले विभिन्न प्राविधिक समस्याका कारण कराते खेलाडीलाई वैदेशिक प्रशिक्षण पठाउन नसके बताउँदै त्यसका बावजुत पनि करातेले राम्रो नतिजा ल्याएको बताए ।

लामाले पनि २०२६ को लागि अहिले देखि नै तयारी थाल्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले दुई पदकले धेरै कमजोरी छोपेको छ । अब ढिला गर्नु हुँदैन । २०२६ का लागि अहिलेदेखि तयारी सुरु गर्नुपर्छ ।’

राखेप सदस्य सचिव टंकलाल घिसिङले सरकारको तर्फबाट कानुनैमै व्यवस्था भएबमोजिम पुरस्कार छिटै प्रदान गरिने बताए । ‘एसियाडमा रजत जित्नेले सरकारको तर्फबाट १९ लाख ५० हजार पाउँछ । छिटै त्यो पुरस्कार प्रदान गरिनेछ ।’

१९औं एसियाडमा रजत जितेकी एरिकाले सरकारबाट १९ लाख ५० हजार पुरस्कार पाउनेछन् ।

सामूहिक खेलतर्फ कास्य पदक विजेता महिला कबड्डी टिमका हरेक खेलाडी नगद ३ लाख ९० हजारका दरले पाउनेछन् ।

व्यक्तिगतर्फ रजत जित्ने प्रशिक्षकले ३ लाख ९० हजार र सहायक प्रशिक्षकले १ लाख ९५ हजार र महासंघले ६ लाख पाउने उल्लेख छ ।

सामुहिक खेलमा कास्य जित्दा मुख्य प्रशिक्षकले २ लाख ६० हजार, सहायक प्रशिक्षकले १ लाख ३० हजार तथा संघले ३ लाख ९० हजार पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?