+
+

एरिकालाई अमेरिकामा ९ लाखसहितको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते ११:४४

२६ चैत, काठमाडौं । १९औं एसियाली खेलकुदकी रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख बढी नगदसहित सम्मानित भएकी छिन् ।

११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब यूएसएको आयोजनामा एरिकालाई ७ हजार ११ अमेरिकी डलर (९ लाख भन्दान बढी नेपाली रुपैयाँ) र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

यूएसए ओपन कराते च्याम्पियनसिपमा भाग लिनका‌ लागि अमेरिका पुगेकी एरिकालाई‌ सम्मान गरिएको हो ।

उनलाई तमु परिवारले २ हजार ७ सय ५६, तमु सोसाइटीले ९५३, सुदूरपश्चिम समाजले ५५०, इन्टरनेशनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले १९०, मामा भान्जा ग्रुपले एक हजार १०, रेड पाण्डाले २ सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहोगीहरुबाट रकम संकलन भएको सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिए ।

यूएसए ओपनमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनियरमा रजत पदक जितेकी थिइन् ।

गत असोजमा चीनमा भएको १९औं एसियाडमा एरिकाले रजत पदक जितेकी थिइन्। एसियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराते खेलाडी हुन् ।

न्युयोर्कमा स्थापना भएको भएको च्याम्पिनसिप मार्सल आर्ट्समा नेपाली समुदायका बालबालिका लागि हरेक आइतबार निःशुल्क ताईची र छि गुंग कक्षा सञ्चालन गर्ने लामाले घोषणा गरेका छन् । च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौंको‌ बालाजुमा ४ वर्ष अघिबाट सन्चालनमा छ ।

लामाको सभापतित्वमा भएको कार्यक्रममा १३औं एसियाडका कास्य पदक विजेता सम्बर बहादुर गोलेले एरिकालाई‌ सम्मान गरेका थिए ।

सो अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका आठौ र नवौं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १३ औं सागका स्वर्ण पदक विजेता अनु अधिकारी र विप्लभलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

हाल अमेरिका बस्दै आएकी अनुले पनि यूएसए ओपनमा १६ देखि ३४ वर्षको समूहमा स्वर्ण पदक जितेकी थिइन् ।

१३औं सागका स्वर्ण विजेता विप्लवले पनि यूएसए ओपनमा भाग लिएका थिए । एरिका र विप्लभको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?