+
+

मुम्बई उच्च अदालतको फैसला : पाकिस्तानी कलाकारले भारतमा पुनः काम गर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ६ गते १२:३५

काठमाडौं । ७ वर्षदेखि पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न प्रतिबन्ध लगाइएको थियो । अब बम्बे उच्च अदालतले हालै यो प्रतिबन्ध लम्ब्याउन माग गर्दै दायर निवेदनलाई खारेज गरेको छ ।

उक्त प्रतिबन्धले माहिरा खान, फवाद खान, आतिफ असलम, अली जफर, जावेद शेख र राहत फतेह अली खान लगायतका पाकिस्तानी कलाकार प्रभावित भएका थिए ।

मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश सुनिल बी शुक्रे र फिरदौस पुनीवालाले यस्तो प्रतिबन्धले सांस्कृतिक सद्भाव, एकता र शान्तिलाई प्रवद्र्धन गर्न नसक्ने धारणा व्यक्त गरे । न्यायाधीशले यो याचिका योग्य नभएको र यसको मागलाई पुरा गर्न अस्वीकार गर्ने फैसला गरे ।

उक्त इजलासले फैसलामा भनेको छ, ‘दिलको असल व्यक्तिले देश भित्र र सीमापार शान्ति, सद्भाव र शान्ति प्रवद्र्धन गर्ने कुनै पनि गतिविधिलाई आफ्नो देशमा स्वागत गर्दछ । कला, संगीत, खेलकुद, संस्कृति, नृत्य आदि राष्ट्रियताभन्दा माथिका गतिविधि हुन् । संस्कृतिले वास्तवमा दुई देशबीच शान्ति, एकता र सद्भाव ल्याउँछ ।’

‘अदालतले देशभक्त हुनका लागि अर्को देश विशेष गरी छिमेकी देशका जनताप्रति शत्रुताको भावना हुनु आवश्यक छैन भन्ने कुरा जनताले बुझ्नुपर्ने बताएको छ । एक सच्चा देशभक्त त्यो हो जो निस्वार्थ र आफ्नो देश को लागी समर्पित छ’ फैसलामा भनिएको छ ।

पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न प्रतिबन्ध लगाउने याचिका फिल्मकर्मी फैज अनवर कुरैशीले दायर गरेपछि बम्बई उच्च अदालतमा सुनुवाइ सुरु भएको थियो । उक्त निवेदनमा फैजले भारत सरकारले पाकिस्तानी कलाकार, संगीतकार, गायक, गीतकार र प्राविधिकलाई प्रतिबन्ध लगाउन र उनीहरूसँग कुनै सम्बन्ध नराख्न माग गरेका थिए ।

याचिकाकर्ताले सूचना तथा प्रसारण मन्त्रालय, विदेश मन्त्रालय र गृह मन्त्रालयलाई पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाउन निर्देशन समेत मागेका थिए । सन् २०१६ मा उरी हमलापछि भारतले पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाएको थियो । पाकिस्तानी अभिनेता फवाद खानले अक्टोबर २०१६ मा रिलिज भएको बलिउड फिल्म ‘ए दिल है मुश्किल’ मा काम गरेका थिए ।

बलिउड फिल्ममा पाकिस्तानी कलाकारको यो पछिल्लो पटकको अभिनय थियो । यसअघि पाकिस्तानी कलाकारले ‘रईस’, ‘खूबसुरत’, ‘मेरे ब्रदर की दुल्हन’, ‘कपूर एण्ड सन्स’ र ‘किल–दिल’ जस्ता बलिउड फिल्ममा काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?