+
+
अनुभूति :

अञ्जुलीमा आँशु थापिरहेकी आमा

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८० कात्तिक १० गते १८:१२

औला भाँच्दै थिएँ, विजया दशमी टिकाको दिन । २०८० साल कार्तिक ४, ५, ६ र कार्तिक ७ अर्थात विजया दशमीको टिका ! औंलाले विश्राम पायो, किनभने ७ गते बिहानै देखि टिकाको सरदाम जुटाउन र पकाई-तुलाई, सर-सफाईमा औला भाँच्ने फुर्सद पनि भएन, आवश्यकता पनि रहेन ।

ज्यान त व्यस्त थियो, मन भने अशान्त । भावनाका तन्द्रहरुले बालापनको झल्कोलाई झकझकाई रहेका थिए । बेस्सरी आमाको यादले सताई रहेको थियो । उबेलाको दशैं -न घरधन्दाको टन्टा, न सरदाम किनमेलको झन्झट, न केही कुराको जोहो-जतन । एउटै कुराको रटान, नयाँ कपडा लगाएर घरलौरी सुका-मोहर जम्मा गर्ने अवसर मिल्न प¥यो । र, त्यो तारताम्य मिलाउन आमालाई भ्याई-नभ्याई, टन्टा, हैरानी र झमेला ।

हरेक प्रश्नको जवाफ–आमा

दशैंमा नयाँ कपडा तयार हुँदैन थियो आमालाई नै कचकच, नयाँ कपडा मन परेन आमालाई नै कचकच, कसैले टिका लगाउदा दक्षिणा कम दियो आमालाई नै कचकच, कसैले गिज्यायो आमालाई नै कचकच ! आमालाई त्यतिकै धर्ती भनिएको हैन नी ।

आमालाई म हरदम, हरपल सम्झन्छु । मेरी आमा अहिले पनि मेरो संसार हो । कहि कतै कुना-कन्दराबाट मलाई चिहाइरहेकी छिन् । मेरा दुःख, झमेला, चिन्ता र बोझको भारी थपथपाउदै बलिन्द्र अश्रुधारा बगाउदै छिन् । किनभने आमाको नियती नै त्यस्तो । जतिबेला जीवित हुनुहुन्थ्यो मेरो स्याहार-सुसार, रहर, खुशी, पढाई-लेखाई र के होला, के गर्ला भन्ने चिन्तामा आफ्नो सर्वस्व सुम्पनु भयो, आँसु बचाउनु भयो । अनि मृत्यु पछि पनि आत्मा अनुभूतिमा मेरै लागि चिन्ताको आँशु बचाउनु भयो ।

चिरञ्जीवी मास्के

जो सन्तानका खुसीका लागि आफ्नो आँशु लुकाउँछन्

मलाई ग्लानी छ । मैले मेरी आमाको लागि केही गर्नै सकिन । मेरा खुशीको लागि आँशु झार्ने मेरी आमालाई आँशु पुच्छन साथ दिन सकिन । मेरा खुशीका लागि दिनभर परिश्रम गर्ने मेरी आमालाई विश्राममा मैले सघाउन सकिन । रोगले, चिन्ताले, झन्झट र झमेलाले थिलथिलो आमाको शरिरमा मैले मल्हम लगाउन सकिन ।

फेरि पनि आमाले किन्चित गुनासो गर्नु भएन । अपेक्षा गर्नु भएन । आश गर्नुभएन । सधै मलाई साथ दिनुभयो, सहारा दिनुभयो, खुशी दिनुभयो धर्ती बनेर ।

मेरी आमा प्रत्येक दशैंमा रुनुहुन्छ । जीवित हुँदा रुनुभयो मेरो खुशीको लागि, मृत्यु पर्यान्त रुँदै हुनुहुन्छ मेरो पीडा र दुःखमा । मैले महशुष गरेको छु मेरी आमाको रोदन, मेरो पीडामा झरीरहेका अँश्रुधारा मैले देखिरहेको छु । किनभने मेरो दुःखमा रुने मेरी आमा नै त हुनुहुन्छ ।

आमा सबैको त्यस्तै हुन्छन् । छोरा-छोरीको खुशीको लागि रुने, छोरा-छोरीको पीडामा रुने ।

यो बर्षको दशैं , मेरी आमा मेरो पीडामा रुनुभयो । म मेरी आमाको सम्झनामा रुएँ र ती तमाम आमाहरु रुनुभयो । इजरायल- हमास युद्धमा मृत्यु भएका १० नेपालीको आमा रुनुभयो । इजरायल–हमास युद्धमा बेपत्ता एक नेपालीको आमा रुनुभयो । र अरु धेरै आमा रुनुभयो– विदेशीएका छोरा–छोरी नआएर रुनुभयो, विदेशीएका छोरा–छोरीले नसम्झिएर रुनुभयो, विदेशीएका छोरा–छोरीले दुःख पाएको सुनेर रुनुभयो अनि विदेशीको छोरा–छोरी अचेत बक्सामा बन्द भएर आएको पीडामा रुनुभयो ।

सन्तान वियोगका अन्त्यहीन शृंखला

नेपालीहरुको पीडादायी नियती । कमाउन विदेश जानै पर्ने । नेपाली नेता, राजनीतिक दल र सरकार आपसी कलह, खिचातानी, झै– झगडा र कमाउ धन्दामै मस्त छन् । न देशको चिन्ता, न जनताको पिरलो । हाम्रो देशको सरकारसंग विदेशीनबाट रोक्ने योजना पनि छैन, विदेशिएकहरुलाई फर्काउने ल्याकत पनि छैन ।

अब त हरेक घरका, हरेक परिवारका एकजना विदेशीनै पर्ने बाध्यता बनेको छ । नेताहरुले जस्तो अकुत सम्पति जोड्न हैन दुईछाक खान, परिवार पाल्न, बाबु–आमाको उपचार गर्न र पढाईमा लागेको ऋण तिर्न ।

खुशी बेचेर आँशुमा सुखका सपना साँचेका आमाहरुले मुटुको टुक्रालाई छटपटीदो विवशता बीच अन्तराष्ट्रिय विमानस्थलमा विदाईका हात हल्लाई रहेका सैयौ दृश्य विजया दशमीकै दिन पनि देखिए । आमाहरुले यतिबेला पनि आँशु झारीरहे ।

ती आँशु पक्कै पीडाका थिए । फेरीपनि अपेक्षा थियो आँशुका प्रत्येक थोपा–थोपामा, कमाउन विदेशीका छोरा-छोरीले केही त खुशी ल्याउला भन्ने । तर, तीनै छोरा-छोरी बक्सामा बन्द भएर आउदा आमा फेरी रुनु भएको छ । यो आँशुमा पीडा छ तर अपेक्षा छैन । खुसीमा तातेताते भन्दै थपथपाएका छोरा- छोरीको शरिर जसरी बक्सामा बन्द भएर आएका छन्, आमाको अपेक्षा पनि त्यहि बक्सा भित्र कैद भएका छन्, बन्द भएका छन् ।

हरेक पटक एउटी आमा रुन्छिन् छोराछोरीको पीडामा । तर सरकार रुँदैननागरिकको पीडामा । नेता रुँदैन नागरिकको पीडामा ।

सधै रसाउने आमाको आँखा

म प्रत्येक दशैंमा आमासंग टिका थाप्न चाहन्थें । विवश, अब हरेक दशैंमा म गुरुसंग टिका थाप्ने परम्परा बाँचिरहेको छु । आमाको काखमा लुटपुटिदै खुसी बाँच्ने मेरा चाहना आँसुको थोपा जसरी धर्तीमा विलिन भएका छन्, अर्थात उनै आमाको काखमा विलिन भएका छन् । म मेरो पीडा र बाध्यताहरुलाई धरहराको टुप्पोसंग नापिरहँदा विदेशीएका छोरा–छोरीको अभावमा रोएका सैयौं आमाका मनहरु कता हो कता अकासिएका छन् । ती आमाहरुका विवशता धरहरा भन्दा बेपत्ता अग्ला लाग्छन् । मजेत्रोले छोपिएका ती आमाहरुका अनुहारमा गरिबीले झुत्रिएका पीडा छचल्किरहेका छन् ।

म पुड्का  लाग्दछु, मेरो पीडा, मेरो विवशता, मेरो दुःख, मेरो बेदना, मेरो बाध्यता सबै पुड्का छन्, मजेत्रोले छोपिएका ती आमाहरुको दुःखान्तको सामुन्ने ।

समय आफ्नै रफ्तारमा अघि बढीरहेको छ । छोरा–छोरी, हिजो मायाको पटाङ्गिनीमा उछलकुद गरिरहेका हुन्थे । आज, बाध्यताको डोकालाई अपेक्षाको नाम्लाले कसेर विदेशिएका छन् र भोली बाक्सा भरी खुसी लिएर फर्कन्छन् कि खुसी बेचेर बाक्सामा फर्कन्छन् पत्तोे छैन । तर आमा, हिजो छोरा–छोरीको उछलकुदमा पनि आँशु झार्थिन, आज बाध्यताको डोकोमा अपेक्षाको नाम्लो देख्दा पनि आशु झारिरहेकी छन् र भोली बाक्साको नियती जस्तोसुकै भएपनि आँशु झार्छिन् । आँशु आमाको सहारा भएको छ । आमा आँशुको सहायक भएकी छन् ।

आमा भइनन् भने आँशुले झर्ने आँखै पाउदैन सायद । आँशु भएन भने आमाले पीडा पोख्ने ठाँउनै पाउदिनन् सायद । किनभने हरेक आँखाबाट कहाँ आँशु झरेका छन् र ! कैयन त्यस्ता आँखा छन् जसले अरुको पीडा, दुःख, समस्या, झमेला, अपमान, अपहेलनामात्र रुचाउछ । ती आँखाहरुमा आँशु हुदैनन् आक्रोश हुन्छन् अरुको खुशीमा । आँशु हुनलाई आमा हुनुपर्छ । अनि सायद आमा हुनलाई आँशु हुनुपर्छ ।

म आमालाई खुशी दिन चाहन्छु । आमाको आँखामा आशु हैन अपेक्षा देख्न चाहन्छु । आमाको आँखामा पीडा हैन खुशी देख्न चाहन्छु । विदेशीएका धेरै छोरा– छोरी आमाको आँखामा आँशु हैन अपेक्षा र खुशी देख्न चाहन्छन् । तर खै, न समयले रफ्तार छोडेको छ, न रफ्तारमा समय मिलेको छ ।

आमा धर्ती बनेकी छन् । छोरा–छोरीको सुखको लागि आफ्ना खुशी, अपेक्षा, आग्रहहरुलाई आँशु बनाएर आफैमा समाहित गरेकी छन् । फेरी पनि हरेक आमाको मन रोएको छ । हरेक आमाको आँखा रसाएको छ । किनभने आमाको लागि आँशु बनेको छ र आँशुको लागि आमा बनेकी छन् ।

म मेरी आमाको छोरा हुनुमा गर्व गर्छु, तर म फेरी पनि विवश छु । मेरी आमाको आँखाको आँशु पुछ्न सक्दिन । मलाई माफ गरिदिनुस् आमा । समयले मलाई पनि त्यहि नियती डो¥याई रहेको छ । आँशु पुछ्ने भूमिका छोडेर आँशु झार्ने अभिनयमा अभ्यस्त छु । मलाई माफ गरिदिनुस् आमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?