+
+

टी-२० विश्वकप क्वालिफायर : एसियाबाट कसको सम्भावना कति ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते ७:१३
विश्वकप छनोटका लागि बलियो दाबेदार मानिएका नेपाल र यूएई । तस्वीर : फाइल ।

१२ कात्तिक, काठमाडौं । आईसीसी टी-२० मेन्स विश्वकप २०२४ को एसिया क्वालिफायर १३ कात्तिकदेखि काठमाडौंमा सुरु हुँदैछ ।

८ टिमले प्रतिस्पर्धा गर्ने एसिया क्वालिफायरबाट शीर्ष दुई टोली अर्थात फाइनल खेल्ने दुई देश अर्को वर्ष हुने टी-२० विश्वकप खेल्नेछन् ।

आयोजक नेपालसहित बहराइन, हङकङ, कुवेत, मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स (यूएई) ले आईसीसी टी-२० मेन्स विश्वकप एसिया क्वालिफायर फाइनल २०२३ मा प्रतिस्पर्धा गर्नेछन् ।

३० अक्टोबरदेखि ५ नोभेम्बर (१३-१९ कात्तिक) सम्म चल्ने प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । ३ नोभेम्बरमा हुने सेमिफाइनलको विजेता दुई टिमले वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

यस्तै छनोट हुने दुई टिमबीच ५ नोभेम्बरमा हुने एसिया क्वालिफायरको उपाधिका लागि फाइनल खेल हुनेछ ।

नेपाल ‘फेभरेट’ टिम

घरेलु टोली नेपाल टी-२० विश्वकपमा स्थान बनाउने लक्ष्यमा छ र राम्रो स्थानमा समेत छ ।घरेलु समर्थकको साथ छ । यसअघि नेपाल लिग टु मा शीर्ष तीनमा रहेर वान डे विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको थियो ।

पछिल्ला खेलको प्रदर्शनले नेपाललाई फाइदा छ । नेपाल टी-२० वरीयतामा छनोट खेल्नेमध्ये सबैभन्दा माथि १६औं स्थानमा छ । बाँकी टिमहरुमा पनि खासै अन्तर छैन । यूएई १७औं, ओमान २०औं, हङकङ २१औं, मलेसिया २५औं, कुवेत २७औं, बहराइन २८औं र सिंगापुर ३६औं स्थानमा छ ।

छनोटअघि भएको त्रिकोणात्मक शृखंलामा नेपालले लिग चरणमा यूएई र हङकङविरुद्ध सबै चार खेल जितेको थियो । फाइनलमा भने नेपाल यएईसँग पराजित भयो ।

गत महिना यूएईलाई हराएर गल्फ क्रिकेट टी-२०को उपाधि जितेको ओमान पनि लयमा छ र विश्वकप पुग्ने दाबेदारीमा छ । उक्त प्रतियोगितामा लिग चरणमा यूएईले चार खेल जितेर शीर्ष स्थानमा रहेपनि फाइनलमा भने अकिव इल्यास र आयान खान सम्मिलित ओमनानसँग पराजित भयो ।

तर यूएईले खेललाई जतिबेला पनि टर्न गर्न सक्छ । उसले २०२२ मा अष्ट्रेलायमा भएको विश्वकप खेलेको थियो ।

हङकङले छनोटअघि काठमाडौंमा त्रिकोणात्मक शृखंला खेलेको थियो र त्यसले पनि राम्रो तयारी भएको छ ।

कुवेत र मलेसिया एसिया सब रिजल क्वालिफायरमा आफ्नो समूहमा शीर्षमा रहँदै एसिया क्वालिफायर फाइनलमा छनोट भएको हो र उसको मनोबल पनि उच्च छ ।

समूह विभाजन

समूह ए

मलेसिया, नेपाल, ओमान, सिंगापुर

समूह ए को सबै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

समूह बी

बहराइन, हङकङ, कुवेत, युनाइटेड अरब इमिरेट्स (यूएई)

समूह बी को सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

टी-२० विश्वकप फर्म्याट र क्वालिफिकेसन

आईसीसी मेन्स टी-२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा अहिले हुने एसिया क्वालिफायर फाइनलबाट दुई टिम छनोट हुनेछन् ।

वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा छन् र सीधै छनोट भइसकेका छन् ।

२०२२ को टी-२० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइसकेका छन् ।

टी-२० विश्वकपपछि वरीयतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानले पनि सीधै आगामी संस्करणमा स्थान सुरक्षित गरेका छन् ।

त्यसपछि आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यु गिनी र क्यानडाले टी-२० विश्वकप रिजन क्वालिफायर्सबाट टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिले पनि विश्वकपमा स्थान बनाउनेछन् ।

त्यसअघि एसिया क्वालिफायर फाइनलबाट शीर्ष दुई टिमले टी-२० विश्वकपको ठूलो मञ्चमा स्थान सुरक्षित गर्नेछन् ।

एसिया क्वालिफायर खेल तालिका

३० अक्टोबर

नेपाल भर्सेस सिंगापुर, बिहान ९ बजे टीयू मैदान

यूएई भर्सेस बहराइन, बिहान ९ बजे मुलपानी मैदान

ओमान भर्सेस मलेसिया, दिउँसो सवा १ बजे टीयू मैदान

हङकङ चाइना भर्सेस कुवेत, दिउँसो सवा १ बजे मुलपानी मैदान

३१ अक्टोबर

सिंगापुर भर्सेस ओमान, बिहान ९ बजे टीयू मैदान

बहराइन भर्सेस हङकङ चाइना, बिहान ९ बजे मुलपानी मैदान

मलेसिया भर्सेस नेपाल, दिउँसो सवा १ बजे टीयू मैदान

कुवेत भर्सेस यूएई, दिउँसो सवा १ बजे मुलपानी मैदान

२ नोभेम्बर

नेपाल भर्सेस ओमान, बिहान ९ बजे टीयू मैदान

हङकङ चाइना भर्सेस यूएई, बिहान ९ बजे मुलपानी मैदान

सिंगापुर भर्सेस मलेसिया, दिउँसो सवा १ बजे टीयू मैदान

बहराइन भर्सेस कुवेत, दिउँसो सवा १ बजे मुलपानी मैदान

३ नोभेम्बर

सेमिफाइनल १ : समूह ए को विजेता भर्सेस समूह बी को उपविजेता, बिहान ११ बजे टीयू मैदान

सेमिफाइनल २ : समूह बी को विजेता भर्सेस समूह ए को उपविजेता, बिहान ११ बजे मुलपानी मैदान

५ नोभेम्बर

फाइनल : सेमिफाइनल १ विजेता भर्सेस सेमिफाइनल २ विजेता, बिहान ११ बजे टीयू मैदान

(आईसीसीको आधिकारिक वेवसाइटमा प्रकाशित सामग्रीको आधारमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?