+
+

राष्ट्रसंघका महासचिव गुटेरेस पोखरामा, भोलि बिहानै अन्नपूर्ण आधार शिविर पुग्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १५:०६

१३ कात्तिक, पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आउने भएपछि अन्नपूर्ण आधार शिविरमा स्वागत कार्यक्रमको तयारी गरिएको छ ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, वडा नं. ११ का वडाध्यक्ष हिमबहादुर गुरुङसहितको टोली तयारीको अन्नपूर्ण आधार शिविर पुगेको हो ।

गुटरेसको स्वागत कार्यक्रमको तयारीका लागि आफूहरु आइतबार नै आधार शिविर पुगेको अन्नपूर्ण आधार शिविर रहेको वडा नं. ११ का वडाध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार सोमबार आधार शिविर क्षेत्रमा मौसम खराब भएका कारण हेलिकप्टर चल्ने अवस्था छैन ।

गुटेरेस आउने भएपछि आइतबार नै थप २ वटा हेलिप्याड पनि नेपाली सेनाले बनाएको छ । यसअघि त्यहाँ एउटामात्रै हेलिप्याड थियो ।

गुटरेसलाई स्वागत गर्न आधार शिविरमा रातो कार्पेट ओच्छ्याउने तयारी छ । तर, मौसम खराबीका कारण सोमबार दिउँसोसम्म सामान बोकेको हेलिकप्टर आधार शिविर पुग्न नसक्दा अनिश्चितता बढेको गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।

‘हेलिलाई हामी हिजैबाट बेलैमा हाम्रा सामानहरु ल्याउनू भन्दै आएका छौं । तर, उसले आफ्नो व्यापारमात्रै हेर्‍यो, धोका दियो । अन्तिम समयसम्म युएन, नेपालको झन्डा, ब्यानरहरु आउन पाएको छैन’, गुरुङले भने, ‘नत्र हाम्रो सम्पूर्ण तयारी यतिबेला पूरा भइसक्ने थियो ।’

महासचिव गुटरेस सोमबार दिउँसो पोखरा आइसकेका छन् । सोमबार पोखरामै बास बसेर मंगलबार बिहान ६ बजेर ३० मिनेटमा नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने तालिका छ । त्यहाँ करिब आधा घन्टा बिताएर उनी फेरि पोखरा फर्किनेछन् ।

‘यहाँ उहाँको लामो समय छैन । मिल्यो भने जलवायु परिवर्तनले एबिसीमा पारेको असर उहाँलाई भन्ने हाम्रो योजना छ’, वडाध्यक्ष गुरुङले भने, ‘पहिले यो ठाउँ कस्तो थियो, अहिले कस्तो भयो । हिउँ कसरी बिलायो, ग्लेसियर कसरी फुटे, कसरी सुके सबै भन्ने योजना छ ।’

आधार शिविरमा महासचिव गुटरेसले सामान्य चियापानमात्रै गर्नेछन् । ‘उहाँसँग आधा घन्टामात्रै समय भएकाले सामान्य चियापानमा मात्रै सहभागी भएर फर्किनुहुनेछ’, वडाध्यक्ष गुरुङले भने ।

एबीसीबाट ७ : ५० मा पोखरा फर्किएपछि पत्रकारसँग पनि कुराकानी गर्नेछन् । त्यसपछि उनी बिहान साढे ८ बजे पोखरा विमानस्थलबाट सिधैं भैरहवा विमानस्थल अवतरण गरेर लुम्बिनी प्रस्थान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?