+
+
नेपाल भर्सेस मलेसिया : शरद भेषावकरको रिभ्यू :

कुशल मल्ल नेपालका गेल हुन्, अविनाश मालिंगा

दीपेन्द्र नहुँदा नेपालको रियल टेष्ट हुन बाँकी नै छ

शरद भेषावकर शरद भेषावकर
२०८० कात्तिक १४ गते २१:२२

टी–२० विश्वकपमा स्थान बनाउन नेपाल अब एक खेल मात्र टाढा छ । एसिया छनोटमा लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ, सेमिफाइनलको खेल जितेमा नेपाल १० वर्षपछि टी–२० विश्वकप खेल्ने पक्का हुनेछ ।

एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउन नेपालले मलेसियालाई ६ विकेटले सहजै हरायो ।

मंगलबार बलिङमा अविनाश बोहरा र ब्याटिङमा कुशल मल्लले उत्कृष्ट प्रदर्शन गरे । दुवैले आफ्नो स्वभाव अनुसार प्रदर्शन गरे र नेपालको जितमा सहयोग गरे ।

टस जितेर मलेसियाले ब्याटिङ रोज्यो । यो मलेसियाका कप्तान अहमद फैजको स्वभाविक निर्णय थियो । मेरो विचारमा नेपालले टस जितेको भए पनि ब्याटिङ नै रोज्थ्यो । किनकी त्रिवि क्रिकेट मैदानमा दिउँसोको खेलमा पहिले ब्याटिङ गर्न सहज हुन्छ ।

मलेसियाले राम्रो सुरुवात पाएको पनि थियो । ४ ओभरमा ४८ रन बनाएको थियो । त्यो हेर्दा १८० रन बन्छ जस्तो देखिन्थ्यो । तर प्वावर प्लेमै आएका अविनाशले शैयद अजिज र अहमद जुबैदी जिल्किफ्लेको पार्टनसरसिप ब्रेक गरेपछि मलेसियाको रनले गति रोकियो ।

त्यसपछि बीचको ओभरमा गुल्सन झाले ओपनर अजिजको विकेट लिनु, सन्दीप लामिछानेले वीरनदिप सिंहको विकेट लिनु नेपालको लागि महत्वपूर्ण भयो ।

मलेसियाका दुई खेलाडी रनआउट हुनु पनि नेपालका लागि महत्वपूर्ण रह्यो । सबभन्दा महत्वपूर्ण चाहिँ डेथ ओभरमा अविनाथको बलिङ रह्यो । डेथ ओभरमा अविनाशले विकेट लिएपछि मलेसियाको स्कोर केही कम भयो ।

अविनाशले सुरुमा योर्कर फाल्थे । आफूलाई इम्प्रुभ गर्दै लगे, उनले अहिले योर्करसँगै स्लो बाउन्सर र कटर फाल्छन् । श्रीलंकाले पहिला मालिंगालाई जसरी प्रयोग गर्थ्यो, नेपालले अविनाशलाई त्यसरी नै प्रयोग गर्छ । एक हिसाबले उनी नेपालका मालिंगा नै हुन् ।

१६६ रनको लक्ष्य सोमबार सिंगापुरसँगको खेल भन्दा चुनौतीपूर्ण थियो । अवस्था पनि फरक थियो, किनकी धेरै स्पीनरलाई खेल्नुपर्ने थियो । तर पावर प्लेमा विकेट नगुमाई ४९ रनको साझेदारी हुँदा नेपालको राम्रो सुरुवात भयो । कुशल भुर्तेलले सुरुमा आक्रामक ब्याटिङ गरेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

वान डाउनमा कुशल मल्ल पठाउने जुन रणनीति लियौं, त्यो नै गेम चेन्जर जस्तो भयो । आज मलेसियाले लेफ्ट आर्म स्पिनर धेरै खेलाएको थियो । त्यसलाई हेरेर प्रशिक्षक मोन्टी देसाईले मल्ललाई वान डाउनमा पठाउनुभयो ।

कुशल आइसकेपछि मलेसियाले लेफ्ट आर्म स्पिनरलाई नै बलिङ गरायो, जुन गलत निर्णय थियो । किनकी कुशललाई लफ्ट आर्म स्पिनरलाई हान्न सजिलो भयो । छोटो एण्डमा भएकाले आफ्नो रेञ्जमा आएको बलमा उनले राम्रो सर्टहरु खेले ।

कुशल मल्ल जस्तो छक्का हान्ने खेलाडी नेपालमा छैन । उनी गड गिफ्टेड प्लेअर हो  । मल्ललाई नेपालको क्रिस गेलभन्दा फरक पर्दैन ।

ओमानसँग अझ प्रतिस्पर्धात्मक खेल हुन्छ

हामीले लगातार दुई खेल जित्दै सेमिफाइनल पुग्दा समूहको अन्तिम खेलमा ओमानसँग दबाब भएन । तर तेस्रो खेल महत्वपूर्ण हुन्छ । किनकी विश्वकपका लागि छनोट हुन सेमिफाइनल खmेल जित्नैपर्छ । ओमानसँग हुने खेलको नजिताले सेमिफाइनलमा खेल्ने टिम तय हुने भएकाले यो खेल पनि महत्वपूर्ण नै हुन्छ ।

अर्को समूहमा युएईले दुई खेल जितेको छ । बहराइनले हङकङलाई हराएपछि रोमाञ्चक बनेको छ । अहिलेसम्म हेर्दा युएई समूह विजेता र हङकङ र बहराइनमध्ये एक उपविजेता हुनसक्ने देखिन्छ । युएईले यही मैदानमा त्रिकोणात्मक श्रृंखलाको फाइनल खेलेको थियो । अन्य दुई टिमले खेलेको पनि छैन ।

विश्वकपमा स्थान बनाउन जित्नै पर्ने खेल भएकाले तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाउँदा राम्रो । त्यसैले पर्सि ओमान विरुद्ध पनि नेपालले जित्नकै लागि खेल्नेछ ।

ओमानसँग आजभन्दा प्रतिस्पर्धात्मक खेल हुनेछ । उनीहरु पनि दुई खेल नै जितेर आएका छन्, ओडिआई स्ट्यास भएको टिम हो, कप्तान जिसान मक्सुदले अहिलेसम्म ओमानलाई राम्रो लिडरसिप दिइरहेको छ । जिसानसँगै अकिब इल्यास र बिलाल खान उनीहरुको महत्वपूर्ण खेलाडीको रुपमा छन् । स्पिनरहरु राम्रा छन् ।

यद्यपि हाम्रो अहिलेको लय हेर्दा नेपाललाई कुनै पनि टिमले हराउन चाहिँ गाह्रै पर्छ । ओपनिङ पार्टनरसिप, ओपनरहरुले जुन कन्सिस्टेन्सी देखाइरहेका छन्, जसले ड्रेसिङ रुमको आत्मविश्वास बढाएको छ ।

आजकै खेलमा पनि आसिफ, दुई कुशल, रोहित अनि अरु दुई ब्याटरले पनि ब्याटिङ गर्ने अवसर पाए । करणले त्रिकोणात्मक शृखंला फाइनलमा ब्याटिङ गरे । सबैले ब्याटिङ गर्न पाइरहेका छन् । हाम्रो टिममा अलराउण्डर धेरै छन् । गुल्सन झा, सोमपाल कामी र करण केसीले बलिङसँगै ब्याटिङमा पनि योगदान गर्ने गरेका छन् ।

सुरुमा पेसरले सोचे जस्तो विकेट सुरुमा लिन नसकेपनि बीचमा अर्को दुई पेसर गुल्सन र अविनाशले विकेट निकालेका छन् । जुन राम्रो संकेत पनि हो । सोमपाल र करणभन्दा जुनियर खेलाडी भए पनि अविनाश र गुल्सनले काम गरिरेहेका छन्, जसले सिनियर प्लेअरलाई अलि दबाब कम पर्छ ।

अझै सुधार गर्न सक्ने ठाउँ छ

नेपालले लगातार दुई खेल जितेपनि सुधार गर्ने ठाउँहरु छन् । विशेषगरी बलिङमा अझ सुधार गर्ने ठाउँ छ । ट्याक्टीकल्ली हामीले यस भन्दा अझ राम्रो गर्न सक्छौं । ओपनिङमा अझै राम्रो गर्न सकिन्छ । ओपनिङमा हामीले बढी रन दिएको हो कि जस्तो लाग्छ । हामीले सुरुमा १०–१५ रन कम दिँदा विपक्षीलाई प्रेसर पर्न सक्छ । डेथ ओभरमा ठीकै छ ।

ब्याटिङमा अहिलेसम्म दीपेन्द्रको खोजी गर्नु परेको छैन । आज सन्दीप जोरा र विवेक यादवले थोरै अवसर पाए । गुल्सनले एकदिवसीय राम्रो ब्याटिङ गरे पनि टी–२० त्यस्तो इनिङ्स खेल्न बाँकी छ । उनीहरुको असली परीक्षा प्रेसर सिचुएसन हुन्छ । तब हाम्रो २–३ विकेट जान्छ, त्यो बेलामा बल्ल लोअर अर्डरको परीक्षण हुन्छ ।

फिल्डिङमा स–सानो गल्ती भइरहेका छन्, त्यसलाई पनि कम गर्नुपर्छ । किनकी ठूला टिमहरुसँग खेल्दा स–साना गल्ती पनि निकै महंगो साबित हुनसक्छ ।

लेखकको बारेमा
शरद भेषावकर

शरद नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?