+
+

९ दिन चलेको थियो वीरेन्द्र–ऐश्वर्यको बिहे, खर्च झन्डै दुई अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते १३:५९

दरबार हत्याकाण्डमा बितेका पूर्वराजा वीरेन्द्र शाह २४ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएका थिए । गरिब देशको राजपरिवारले विवाहजस्तो निजी मामिला आयोजनामा अकुत खर्च गराएको भन्दै बाह्य जगतमा आलोचना भएको थियो ।

मुलुकमा भने राजसी ठाँटबाँटलाई लिएर छक्क पर्ने र रमाइलो मान्ने क्रम पनि चलेको थियो । २०२६ सालको उक्त विवाह प्रसंगबारे न्यूयोर्क टाइम्समा प्रकाशित यो समाचार अहिले राजतन्त्रलाई लिएर विभिन्न कोणप्रतिकोणबाट छलफल चलिरहेका बेला पठनीय विषय हुन सक्ने ठानेर अनुवाद गरिएको छ ।

बेलायतबाट चारवटा सेता घोडा नेपाल लगिएको छ । नेदरल्याण्डसबाट पुष्पगुच्छा पठाइँदैछ । नयाँ दिल्लीबाट दुईवटा विमानमा मिष्ठान परिकार पठाइँदैछ भने आगन्तुकहरुका लागि जापानबाट २०० वटा मोटर मगाइएको छ । सवारीका लागि ९ वटा हात्ती समेत तैनाथ हुँदैछन् ।

सानो, गरिब र पुरानो पहाडी मुलुक नेपालले भावी राजाको भव्य विवाह समारोहको तयारी गरिरहेको छ । उनी कुनै दिन राजा पक्कै हुनेछन् । २४ वर्षीय बेहुला वीरेन्द्र वीरक्रम शाहदेव हाल युवराज छन् र उनी हिन्दु सिंहासनका उत्तराधिकारी हुन् ।

वीरेन्द्रले नेपालमा वंशानुगत प्रधानमन्त्रीका रुपमा शासन गरेका राणा परिवारकी २० वर्षीया ऐश्वर्य राज्य लक्ष्मी देवी राणासँग विवाह गर्दैछन् । राणा परिवारलाई वीरेन्द्रका हजुरवुवा त्रिभुवनले सत्ता बाहिर पुर्‍याएका थिए । राणा र शाह परिवारबीच त्यसयता राजनीतिक सम्बन्ध नभए पनि सामाजिक सम्बन्ध भने कायमै थियो ।

वीरेन्द्रका बुवा महेन्द्रले पनि राणा खान्दानसँगै विवाह गरेका थिए । छोराको विहे भव्यताका साथ सम्पन्न गर्नका लागि उनी व्यस्त छन् ।

झकिझकाउ राजधानी

विभिन्न मुलुकका राष्ट्रप्रमुखसँगै ५० भन्दा बढी मुलुकका प्रतिनिधि समारोहमा सरिक हुने भएकाले हरित उपत्यकालाई अझै झकिझकाउ बनाइँदैछ । सडक र फुटपाथ मर्मत गरिएका छन् । सरकारी भवनहरु रंगरोगन गरी टल्काइएको छ । सडकमा वेबारिसे रहेका गाईवस्तु हटाइएका छन् । गरिबी ढाकछोपका लागि चारैतर्फ सतर्कतासिहत काम भइरहेको छ ।

अधिकांश हिप्पीहरु पनि धपाइएका छन् । ३०० पाहुनाका लागि गतिला होटलका कोठाहरु बुक भएका छन् । विवाहको औपचारिक समारोह नै ९ दिनसम्म चल्ने भएकाले विदेशी पाहुनाले सहर खचाखच हुनेछ । पाहुनाको स्वागत सत्कारमा कुनै कमी हुन दिइएको छैन । ‘पाहुना हरेक पटक बाहिर निस्कँदा तौली परिवर्तन गरिएको छ’, एक व्यवस्थापकले भने ।

विवाहमा ५० मुलुकका राष्ट्रप्रमुखलाई आमन्त्रण गरिएकोमा लाओसका राजा, भारतका राष्ट्रपति र सेइलोन (हाल श्रीलंका) का गभर्नर जेनरल उपस्थित हुनेछन् भने अन्यले प्रतिनिधि पठाउने निश्चित भएको छ । त्यहाँ अन्य मुलुकका राजपरिवारको पनि उपस्थिति हुनेछ । अफगानिस्तानले युवराज पठाउँदैछ । बेलायतले युवराज रिचर्डलाई पठाउने भएको छ । रिचर्ड र वीरेन्द्रको भेट एटनमा भएको थियो ।

अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको सट्टामा ओहायोका सिनेटर विलियम बी र उनकी पत्नी सरिक हुने भएका छन् । अमेरिकाले सोभियत युनियन र चीनले कसलाई पठाउँछ भनेर साताव्यापी प्रतीक्षा गरेपछि उसले आफ्नो प्रतिनिधि घोषणा गरेको हो । रुसले विदेश मन्त्रालयका दक्षिण एशियाली प्रमुख ए ए फोमिनलाई पठाउने निश्चित गरेको छ । यता चीनले प्रधानमन्त्री झोउ इन लाइ पठाउने भनेपनि त्यसको संभावना न्यून छ।

सरकारी खर्चमा हुने विवाहको रकमलाइ लिएर निकै अड्कलबाजी भइरहेका छन् । विवाहमा १ करोड ६० लाख डलरसम्म खर्च हुने अनुमान भइरहेका छन् । यो रकम बढाचढाइ गरिएको हुनसक्छ किनभने नेपालको कुल राष्ट्रिय बजेटनै ६ करोड ६० लाख अमेरिकी डलर हो ।

यस विवाहले १ करोड १० लाख मानिसलाइ कुनै उत्साह नथपे पनि केहीलाई भने रोजगारी प्रदान गरेको छ । काठमाडौँको सिंगार र नयाँ दरबारका साथै विवाह समारोहको तयारीका लागि मजदुरले काम पाएका छन् ।

यस समारोहका कारण केही मनोरञ्जन पनि भएको छ । विवाह समारोह नजिकिँदै जाँदा सयौँ नेपाली बालबालिका तथा वयश्कहरु हात्ती वरिपरी झुम्मिएको दृश्य देख्न सकिन्छ । विवाह समारोहमा वीरेन्द्र हात्ती चढेर जानेछन् । त्यसको पूर्वाभ्यास हाल भइरहेको छ ।

विवाहको समय र संस्कार ज्योतिषले निर्धारण गरेबमोजिम हुनेछ । नेपाली जनजीवन ज्योतिषको ठूलो प्रभाव छ । सामान्यतया दुलाहा र दुलहीको कुण्डली नमिलेको अवस्थामा विवाह हुँदैन । तर विवाह गर्नै परेको अवस्थामा ज्योतिषहरुले चलाखी गरेर उपाय निकाल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?