+
+

भारतमा हुर्किएका उदीयमान क्रिकेटर अर्जुन

नमिता दाहाल नमिता दाहाल
२०८० कात्तिक १५ गते २०:३०

१५ कात्तिक, काठमाडौं । गत हप्ता मलेसियामा भएको एसीसी यू–१९ प्रिमियर कपको उपाधि जित्दा नेपाली टिमका सदस्य अर्जुन कुमाल चर्चामा रहे ।

समूह चरणको खेलमा साउदी अरेबियाविरुद्ध १४२ रन बनाएका उनले उमेर समूहकै खेलमा दुई शतक बनाइसकेका छन् । यसअघि उनले गत फागुनमा आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रन बनाएका थिए ।

१८ वर्षीय अर्जुन साउदीविरुद्ध बनाएको १४२ रन नेपाली क्रिकेटमा एउटै पारीमा बनेको उच्च व्यक्तिगत स्कोर हो । ‘अहिलेको प्रदर्शनहरुले अब आउने मुख्य प्रतियोगिता एसिया कप र विश्वकपमा निकै आत्मविश्वास बढाउन काम गर्छ’, अर्जुन भन्छन् ।

मलेसियामा यु–१९ प्रिमियर कपको उपाधि जितेर डिसेम्बरमा हुने यू–१९ एसिया कपमा छनोट भएको नेपालले यसअघि नै २०२४ को विश्वकपको लागि स्थान सुरक्षित गरेको थियो । ‘अब मेरो फोकस भनेको एसिया कप र विश्वकप नै हो’, उनले भने ।

यी प्रतियोगितामा आफ्नो प्रदर्शन सुधार गर्दै उनी सिनियर टिमको ढोका खोल्न चाहन्छन् । राष्ट्रिय टिममा परेर स्थान बनाइ रहन आफूले धेरै सुधार गर्नुपर्ने उनलाई लागेको छ । ‘आफ्नो प्रदर्शन राम्रो बनाएर मात्र आउन मन छ’, उनी भन्छन् ।

यू–१६ इस्ट जोन कपमा राम्रो प्रदर्शन गरेका अर्जुनले यू–१९ मा पनि उत्कृष्ट प्रदर्शन गरे । उमेर समूहमा गरेको प्रदर्शनका आधारमा उनी सन् २०२१ मा एक पटक सिनियर टिमको बन्द प्रशिक्षणमा समेत परेका थिए ।

हुर्काइ, बढाइ र सिकाइ भारतमै

गुल्मी घर भएका अर्जुन बुबा आमासँगै भारतको राजधानी नयाँदिल्लीमा बस्दै आएका छन् । बाबु मेघबहादुर र आमा विष्णुका एकमात्र सन्तान अर्जुन सानैदेखि दिल्लीको क्रिकेट माहोलबाट प्रभावित भए ।

६/७ वर्षको हुँदा उनलाई बुबाले पार्कमा लगेर क्रिकेट सिकाउँथे । ८ वर्ष भएपछि एकेडेमीमै भर्ना गरिदिए । हाल उनी नयाँदिल्लीको क्रिकेट कोचिङ उपाध्याय एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् ।

नेपालमा हुने तथा नेपालले खेल्ने प्रतियोगिताका लागि आउँछन्, प्रतियोगिता सकिएपछि उनी बाबुआमासँग बस्न भारत नै पुग्छन् । ‘भारतमा सिक्छु अनि नेपाल आएर खेल्छु । अहिले म जे छु, प्रशिक्षण नगरेको भए यहाँ आइपुग्दिनथें’, उनले भने ।

प्रशिक्षक राहुल शर्माको सुझाव अनुसार अर्जुनले पहिलो पटक १३ वर्षको हुँदा नेपालमा यू–१६ को गण्डकी प्रदेशको छनोट खेल खेलेका थिए ।

२०७५ सालमा त्रिवि मैदान कीर्तिपुरमा भएको यू–१६ क्रिकेट लिगमा उनले गण्डकी प्रदेशबाट खेलेका थिए । त्यतिबेला ३ खेलमा १४२ रन बनाएका अर्जुन उत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए ।

अर्जुनको क्रिकेट यात्रा

अर्जुनले नेपालका लागि खेलेको पहिलो खेल सन् २०१९ अप्रिलमा थाइल्यान्डमा भएको एसिसी इस्टर्न जोन यू–१६ प्रतियोगिता हो । त्यतिबेला उनी जम्मा १३ वर्षका थिए ।

उक्त प्रतियोगितामा म्यानमारविरुद्ध १५ बलमा ४ चौकासहित २६ रनमा अविजित रहेका अर्जुनले त्यही खेलबाट नेपाली क्रिकेटप्रेमीको ध्यान तानेका थिए ।

दोस्रो खेलमा मलेसियाविरुद्ध ४७ बलमा १ चौकासहित १६ रन जोडे । त्यसपछिका खेलमा भने उनले मौका पाएनन् । उनले डेब्यु गरेको प्रतियोगितामा नेपाल च्याम्पियन बनेको थियो ।

नेपाली क्रिकेटमा आएको पछिल्लो डेढ वर्षमा अर्जुनले एकपछि अर्को उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उनले गत फागुनमा आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रन र गत हप्ता भएको एसीसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४२ रन जोडे । फाइनलमा पनि यूएईविरुद्ध ७८ बलमा ४ चौका प्रहार गर्दै ५५ रनको अर्धशतकीय पारी खेले ।

अर्जुन चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)मा पोखरा राइनोजको टिममा थिए । त्यतिबेला भने उनले खेल्ने मौका पाएनन् ।

ओपनिङमा सम्भावना

यू-१६ इस्ट जोन कपबाट नै ओपनिङको भूमिकामा अब्बल सावित गरेका अर्जुन एकदिवसीय फम्र्याटमा ओपनर ब्याटरको सम्भावना भएका खेलाडी हुन् ।

क्रिकेट एकेडेमीमा उनलाई प्रशिक्षक राहुल शर्माले ब्याटरको भूमिका दिए । अझ उनको शालीन आनीबानी र धैर्य गरेर खेल्न सक्ने क्षमता हेरेर शर्माले ओपनिङमा ब्याटिङ गराए ।

‘मलाई सिकाउने बेला नै राहुल सरले ओपनरमा तिमी राम्रो गर्न सक्छौं भनेर यही नै पोजिसनका लागि तयार बनाउनुभयो’, उनी भन्छन् ।

सम्हालिएर खेल्न सक्ने अर्जुन ठूला सट भन्दा टिकेर खेल्ने ब्याटरका रुपमा चिनिन्छन् । उनलाई यसै कारण पनि एक दिवसीय फर्म्याटको क्रिकेट खुब मन पर्छ ।

‘मलाई वान डे फर्म्याट नै मन पर्छ । मलाई यू-१६ बाट अहिले पनि कप्तान, कोचले ५० ओभर खेल्ने हो भन्नुहुन्छ’, उनी भन्छन् ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?