+
+

नेतादेखि मन्त्रीसम्मले हेरे ‘परदेशी २’, सुदन किराती भन्छन्- सन्देशमूलक फिल्म हेरौं

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १२:३४

काठमाडौं । मन्त्री, सांसद, नेता र सेलिब्रिटीले फिल्म ‘परदेशी २’ हेरेका छन् । निर्माताले बुधबार बेलुका आईएनआईको बानेश्वरस्थित हलमा विशेष शो आयोजना गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, नेकपा एमालेका सांसद ठाकुर गैरेलगायतले दुई घण्टा २० मिनेट लामो फिल्म हेरे ।

फिल्म हेरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले कथावस्तुले मन छोएको बताए । ‘चलचित्र नेपाली समाज र नेपाली संस्कृतिको बेजोड प्रस्तुति भएको अनुभूति मलाई भयो,’ उनले भने, ‘यस्तो सन्देशमूलक फिल्मलाई दर्शकले हेर्नु जरुरी छ ।’

नेतृ झाँक्रीले आफूले देखेका कुरालाई फिल्मले उठान गरेको र कथावस्तु मर्मस्पर्शी रहेको बताइन् । ‘मलाई कथाले एकदमै छोयो । प्रस्तुति, अभिनय सबै राम्रो छ,’ उनले भनिन् ‘फिल्ममार्फत धेरै ठूलो सन्देश समेत दिनुभएको छ ।’

सांसद गौतमले फिल्मले नेपाली लोकसंस्कृतिको प्रवर्द्धन गरेको बताइन् । उनले भनिन्, ‘यसले नेपाली समाजको विशेषगरी लोक-संस्कृतिको पनि राम्रो जागरण गरेको रहेछ । मलाई अत्यन्तै धेरै खुसी लाग्यो,’ उनले भनिन्, ‘फिल्म हेरिरहँदा खुसी खोज्ने चाहनाले विदेशिएका आफ्ना साथीलाई समेत मैले सम्झिएँ ।’

एमाले सांसद गैरेले भने, ‘बुवाआमा र सन्तानबीचको माया, विदेशमा बस्नेहरुले कस्तो जिन्दगी भोगिरहेका छन् भन्ने कुरालाई यसले देखाएको छ । नेपाली समाज, संस्कृति, मूल्यमान्यतादेखि देश विकासको जनअपेक्षा समेत चलचित्रले बुलन्द गरेको छ ।’

निर्माता तथा निर्देशक अशोक शर्माले कथा बलियो रहेको बताए । गायक शम्भु राईले फिल्मले माटो, संस्कृति र संस्कार बोलेको भन्दै प्रशंसा गरे ।

विशेष शोमा निर्देशक नारायण रायमाझी, निर्माता राजेश वंशल, अभिनेत्री केकी अधिकारी लगायत उपस्थित थिए ।

‘चलचित्र समाजको दर्पण हो भनेर हामीले सधैं भन्ने गरेका छौं । यो हामीले बनाएको भन्दा पनि हाम्रो समाजको यथार्थ कथा हो । सम्पूर्ण टिमको संयुक्त प्रयासले चलचित्र राम्रो भएको हो,’ रायमाझीले भने, ‘चलचित्रलाई मन पराउनुहुने सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छौं ।’

असोज २६ गतेदेखि प्रदर्शनमा आएको फिल्म शुक्रबारदेखि चौथो सातामा प्रवेश गर्दैछ । फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, रमा थपलिया, प्रशान्त तामाङ, दिलीप रायमाझीलगायतको मुख्य भूमिका छ । रमेश बिजीको कथा तथा पटकथा लेखन रहेको फिल्म विदेशमा रिलिज हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?