+
+

नेशनल डायलासिस सेन्टरले एक्कासी रोक्यो सेवा, एक जनाको मृत्यु

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० कात्तिक १६ गते १९:०९

१६ कात्तिक, काठमाडौं । काठमाडौंको गोंगबुस्थित नेशनल डायलासिस सेन्टरले सेवा बन्द गरेपछि मिर्गौलाका बिरामी अलपत्र परेका छन् । बुधबारदेखि डायलासिस सेवा बन्द भएपछि बिरामीहरुले सेन्टरमा धर्ना दिएका छन् ।

वर्षौंदेखि विद्युत महसुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले पनि लाइन काटिदिएको धर्नामा भेटिएका एक बिरामीले बताए । अहिले सेन्टरमा कुनै स्वास्थ्यकर्मी छैनन् । डायलासिस सेन्टरका प्रमुख कृष्ण महर्जन सम्पर्कविहीन छन् ।

तीन वटा मेसिन रहेको यो सेन्टरबाट २६ जना बिरामीले नियमित डायलासिस गराउँदै आएका थिए । सेन्टरले सेवा बन्द गरेपछि ती बिरामी अब कहाँबाट डायलासिस गराउने भन्ने अन्योलमा परेका छन् ।

बिहीबार सेन्टरमा भेटिएका मिर्गौला बिरामी प्रतापबहादुर गुरुङले सञ्चालक महर्जनको लापरबाहीले दुःख पाएको गुनासो गरे । ‘हामीले तुरुन्तै अन्त डायलासिस पाउने सम्भावना नै छैन । हामीलाई कुनै जानकारी दिइएन’ गुरुङले गुनासो गरे, ‘निजीमा गर्न हामीसँग पैसा छैन । सरकारीमा पालो पाइदैन ।’

डायलासिस गर्न नसकेकै कारण सेन्टरमा नियमित डायलासिस गराइरहेका ४५ वर्षीय लालकुमार राईको बिहीबार बिहान मृत्यु भएको गुरुङले बताए ।

‘उहाँको आइतबार बिहान डायलासिस भएको रहेछ । त्यसपछि उहाँले अन्त डायलासिस सेवा लिन सक्नुभएन । हिजो दिँउसो हामीसँगै हुनुहुन्थ्यो । शरीर पुरै सुन्निएको थियो । आज बिहान त मृत्यु भएछ’, गुरुङले भने ।

अन्य बिरामीमा स्वास्थ्य समस्या देखिन सुरु भइसकेको छ । उनीहरु सेन्टरका कर्मचारी कहिले आउलान् र डायलासिस गराउन पाइएला भनेर बाटो हेरेर बसेका छन् ।

बिरामीका अनुसार डायलासिस सेन्टरले बर्षौदेखि घरभाडा पनि तिरेको छैन । कर्मचारीलाई तलब पनि दिएको छैन । ‘चाडपर्वमा पैसा नपाए पनि स्वास्थ्यकर्मीले अस्तिसम्म आएर डायलासिस सेवा दिइराख्नुभएको थियो । तर, विद्युत प्राधिकरणले लाइन काटेपछि उहाँहरु पनि आउन छोड्नुभयो’, गुरुङले भने ।

बिहीबार दिउँसो अनलाइनखबरले सेन्टरमा धर्ना दिएका बिरामीसँग कुरा गर्दा गर्दै अर्का बिरामी डोलबहादुर थापा आइपुगे । उनको हात–खुट्टा, मुख सुन्निएको थियो, पेट फुलेको थियो ।

‘हिजो बेलुका पीडाले निन्द्रा पनि परेन । शरीर सुन्निन्छ भनेर पानी, खाना समेत नखाई बसेको छु’, थापा भन्छन्, ‘सेन्टरले हामीलाई मर भनेर छोडिदियो । बाहिर डायलासिस गर्न जान गोजीमा एक पैसा पनि छैन ।’

डोलबहादुरकी श्रीमतीले यशोदा पनि सेन्टरमा सरसफाइको काम गर्दै आएकी रहेछिन् । तर, तलब नपाएको तीन महिनाभन्दा बढी भइसकेको छ ।

‘आफूले काम गरेको तलब पाएको भए पनि अन्त कतै लगेर डायलासिस गराउथें । दुई स–सना छोरी छन् । पैसा माग्ने ठाउँ कतै छैन’, यशोदाले भनिन्, ‘दुई दिनदेखि अस्पताल चाहारिरहेको छु । कतै डायलासिसको ठाउँ पाउन सकिन ।’

डोलबहादुरलाई बोल्न गाह्रो भइरहेको छ । उनले गुनासो पोखे, ‘सेन्टरको गैरजिम्मेवारीका कारण मृत्यु कुरेर बस्नुपर्‍यो ।’

बालाजु बस्ने र यहीँ डायलासिस गराउँदै आएका ५३ वर्षीय इर्बुराम परियारलाई पनि स्वास्थ्यमा समस्या देखिइसकेको छ ।

सोमबार डायलासिस गरेका उनको पालो आज थियो । ‘आकस्मिक रुपमा गर्नका लागि कतै पाइएन । गाह्रो हुँदै गएको छ, पैसा छैन । विचल्लीमा परेको छु’, परियारले दुःख पोखे ।

बिरामीहरुका अनुसार सञ्चालक कृष्ण महर्जन महिनौंदेखि सम्पर्कविहीन छन् । गत साउनदेखि सेन्टरको जिम्मा विनय लिम्बुले लिएका थिए । उनले बिरामीलाई सबै कुरा ठीक हुने र राम्रो सेवा–सुविधा दिने आश्वासन दिएका रहेछन् ।

अनलाइनखबरसँगको कुराकानीमा भने उनले अहिले सेन्टरमा आफ्नो कुनै जिम्मेवारी नभएको तर्क गरे । किन बिरामीलाई अलपत्र पारियो भन्ने प्रश्नमा उनले घरबेटीले सञ्चालन गर्न नदिएको कारण देखाए ।

‘सञ्चालकले पुरानो घरभाडाको पैसा नतिरेपछि अहिले सञ्चालन गर्न सकिएन । घरधनीले तीन वर्षको भाडा पहिला नै दिनुपर्ने भनेपछि सञ्चालन गर्न सकिएन’, लिम्बुले भने, ‘अन्य जानकारी कृष्ण सरसँग लिनुहोला । उहाँ मेरो सम्पर्कमा पनि हुनुहुन्न ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?