+
+

नेपालगञ्ज म्याराथन अघि ‘नेपालगञ्ज कनक्लेभ’ हुने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते २०:०१

१६ कात्तिक, काठमाडौं । आगामी मंसिर ९ गते हुने नवौं संस्करणको नेपालगञ्ज म्याराथन अघि ‘नेपालगञ्ज कनक्लेभ’ हुने भएको छ ।

आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार पत्रकार सम्मेलन गर्दै  म्याराथनको अघिल्लो दिन नेपालगञ्ज कन्क्लेभको आयोजना गरिने जानकारी गराएको हो ।

‘कनक्लेभमा खेल पर्यटन, युवा उद्यम, महिला सशक्तिकरण, साहित्य र स्वदेशमै रोजगारीजस्ता मुद्दामा बहस-छलफल हुनेछ,’ आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले भनेका छन् ।

कनक्लेभमा सहभागिताका लागि खुला आह्वान पनि गरिसकेको इच्छुकले समयमै नाम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।

म्याराथनको तयारी अन्तिम चरणमा पुगेको र यसवर्ष म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ ।

यस पटक केही सरप्राइज प्याकेज समेत रहेको र पुरस्कार राशी पनि चाँडै घोषणा गरिने आयोजकले जनाएको छ ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ ।

सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष मंसिर ५ गते नेपालगञ्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ ।

पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले नेपालगञ्ज म्याराथनलाई प्रदेश खेलकुद परिषदले बिशेष सम्पत्तिका रुपमा लिएको बताए ।

‘लुम्बिनी प्रदेशमा नौ बर्षदेखि सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथन र गत बर्ष सुरु भएको लुम्बिनी म्याराथनलाई बिशेष सम्पत्तिका रुपमा अगाडि बढाउने गरी बार्षिक क्यालेन्डरमा समावेश गरेका छौं’ उनले भने, ‘हरेक हिसाबले यसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगञ्ज म्याराथनका लागि १ भदौदेखि नै खेलाडी दर्ता खुला भइसकेको छ ।

नेपालगञ्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगञ्ज म्याराथनले नेपालकै छैटौं पुरानो शहर नेपालगञ्ज र उदीयमान शहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष-महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ वर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।

नेपालगञ्ज म्याराथनको स्टार्ट-फिनिसिङ गेट उपमहानगरपालिका कार्यालय अगाडि रहनेछ । त्यहाँबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पूरा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?