+
+

श्रीलंका ५५ रनमै अलआउट, भारत ३०२ रनले विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते २१:२९

१६ कात्तिक, काठमाडौं । एकदिवसीय विश्वकपमा भारतले श्रीलंकालाई ३०२ रनको फराकिलो अन्तरले हराएको छ । लगातार सातौं जितसँगै भारत सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम बनेको छ ।

बांखडेमा भारतले दिएको ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९.४ ओभरमा ५५ रन जोड्दा सबै विकेट गुमायो । भारतका मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३ र जसप्रित बुमराह र रवीन्द्र जडेजाले एक–एक विकेट लिए ।

बुमराहले आफ्नो पहिलो बलमै पथुम निशांकालाई एलबीडब्लू आउट गरे । मोहम्मद सिराजले पनि आफ्नो पहिलो बलमै दिमथु करुणारत्नेलाई एलबीडब्लूको शिकार बनाए । त्यही ओभरको पाँचौं बलमा उनले सदिरा समरविक्रमाको विकेट लिएपछि श्रीलंकाले रनको खाता नखोल्दै महत्वपूर्ण तीन विकेट गुमाएको थियो ।

आफ्नो अर्को ओभरमा सिराजले कप्तान कुशल मेन्डिसलाई बोल्ड गरे, जतिबेला श्रीलंकाको स्कोर केबल ३ रन थियो । खेलको दशौं ओभरमा कप्तान रोहित शर्माले मोहम्मद सामीलाई बल दिए । उनले लगातार दुई बलमा दुई विकेट लिए । पहिलो ओभरको तेस्रो बलमा उनले चरिथ असलंकालाई शिकार बनाए भने अर्को बलमा दुशन हेमन्तालाई आउट गरे ।

आफ्नो दोस्रो ओभरमा दुश्मंथा चमिरालाई आउट गरे । तेस्रो ओभरमा एन्जलो म्याथुलाई बोल्ड गरे ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५७ रन बनायो ।

भारतको पारी कप्तान रोहित शर्माले चौकाका साथ गरेका थिए, तर अर्को बलमै दिलसान मधुशंकाले उनलाई बोल्ड गरे । तर शुभमन गिल र विराट कोहलीले राम्रो पारी खेले । दुबैले दोस्रो विकेटका लागि १८९ रनको साझेदारी गरे ।

३० औं ओभरमा दुबै आउट भए । विश्वकपमा पहिलो शतक नजिक पुगेका शुभमन ९२ रनमा आउट भए । चार बलपछि कोहली ८८ रनमा पभेलियन फर्किए । यससँगै उनी सचिन तेन्दुलकरको ४९ शतकलाई भेट्टाउन चुके ।

यही ओभरमा पहिला श्रेयस ऐयर, त्यसपछि केएल राहुल आए । ३४, ३५ र ३६ ओभरमा छक्का हानेका श्रेयसले केबल ३६ बलमा अर्धशतक पूरा गरे । तर शतक बनाउन चुके । ४७ औं ओभरमा मधुशंकाले उनको विकेट लिए । उनले ८२ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?