+
+

फूल देखेपछि हुरुक्कै (फोटोफिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०८० कात्तिक १७ गते १५:५८

फूल मान्छेलाई किन मन पर्छ ? यो प्रश्न किनभने फूल मान्छेको आधारभूत आवश्यक्तभित्र पर्दैन । न यो खान मिल्छ, न लगाउन मिल्छ । फूल नहुँदैनमा मान्छेको जीवन नचल्ने पनि होइन ।

तर, मान्छे फूल देख्नसाथ किन उमंगित हुन्छन् ?

जबकि धर्तीका अधिकांश प्राणी आफ्नो भोजनमा बढी आकर्षित हुन्छन् । त्यसपछि उनीहरु आफ्नो अश्रयको खोजीमा लाग्छन् । तर, मान्छेलाई यतिले मात्र पुग्दैन । प्रकृतिका हरेक वस्तुबाट मान्छेले आफ्नो मनमा आनन्दको खोज गरिरहेका हुन्छन् । त्यसैले सुन्दर बस्तुप्रति उनीहरुको आकर्षण रहन्छ, जसले मनलाई क्षणभरकै लागि भएपनि शान्त र आनन्दित तुल्याउँछ ।

मान्छेको प्राकृतिक स्वभाव हो, सुन्दर चिजप्रति मोहित हुने । भलै सुन्दरता के हो भन्ने कुरामा सबैको एकमत नहुन सक्छ । किनकी कतिपय भन्ने गर्छन्, सुन्दरता वस्तुमा होइन हेर्ने दृष्टिमा हुन्छ ।

यद्यपि फूलको सन्दर्भमा यो तर्क त्यती चोटिलो लाग्दैन । किनभने मान्छे जस्तोसुकै होस्, उसको दृष्टि जस्तोसुकै होस् तर मान्छेलाई फूलले जहिले पनि सम्मोहित गरिरहेकै हुन्छ । त्यसैले ढकमक्क फक्रिएको फूल देख्नसाथ हरेकको मनमा उमंगको भाव पैदा हुन्छ, ‘आहा कति राम्रो !’

फूल र मान्छेको मनोविज्ञानमा आधारित एक अध्ययनमा के उल्लेख छ भने, फूलप्रति मान्छेको जुन स्वभाविक आकर्षण रहन्छ, त्यसले हरेक मान्छेभित्र सुन्दर चिजलाई परख गर्ने भाव प्रकट गर्छ । यसको अर्थ मान्छे प्राकृतिक रुपमा कुरुप, विभत्स कुरामा भन्दा पनि सुन्दर कुराहरुमा रमाउन खोज्छन् ।

स्वभाविक रुपमा मान्छे त्यही कुरामा बढी लगाव राख्छन्, जसले उनीहरुलाई आनन्दित महसुष गराउँछ । अतः यसको परिपूर्ति गरिदिएको छ, फूलले ।

त्यही कारण मान्छे सदियौंदेखि फूलसँग रमाउँदै आए । हरेक उत्सवमा फूलको साथ खोजे, दुःखमा फूलकै साथ रोजे । सुखदुःखमा अपरिहार्य बन्यो फूल ।

कुनै उत्सव, चाडपर्व आदिमा फूलको अत्याधिक खपत हुने गर्छ । कसैको आगमनमा वा कसैलाई शुभकामना टक्रयाउँदा पनि फूलको गुच्छा दिने गरिन्छ । यसैगरी कसैलाई बिदाई गर्नुपर्दा मात्र होइन मृत्यु संस्कारमा समेत फूल दिइने वा चढाउने गरिन्छ ।

यसरी फूल मान्छेको जीवनसँग अभिन्न रुपमा जोडिएको छ ।

यो त भयो मान्छेको मनोविज्ञानको कुरा । फूल मान्छेको जीवनशैली र जीविकासँग पनि उत्तिकै जोडिएको छ ।

जब तपाईं सुन्दर घरको कल्पना गर्नुहुन्छ, बगैंचा वा बार्दलीभरी ढकमक्क फूल देख्न चाहनुहुन्छ । त्यही चाहनाले त हो, हरेकजसोले घरमा फूल रोपेकै हुन्छन् । फुलाएकै हुन्छन् । रैथाने फूल रोप्ने, गोडमेल गर्ने मात्र होइन । देश–परदेशबाट आयत गरेर घरलाई ढकमक्क सजाउने प्रचलन पनि व्यापक हुँदैछ ।

फूल रोप्ने, सिंचाई गर्ने, गोडमेल गर्ने कुरामा मान्छेलाई उत्तिकै जाँगर पनि चल्छ । आफैले स्यहारसुसार गरेको फूलमा मान्छेको लगाव र आकर्षण पनि विछट्टै हुन्छ ।

फूलप्रतिको यही लगावले गर्दा व्यवसायिक फूल खेती पनि फस्टाउँदै गएको छ । खासगरी शहरी क्षेत्रमा फूलको नर्सरी राख्ने, उन्नत ढंगले खेती गर्नेदेखि व्यवस्थित ढंगले विक्री–वितरण गर्ने क्रम बढ्दो छ । फूलको बिउँ, बिरुवा, मल, गमलादेखि अन्य सजावटका सामाग्रीहरुको बजार फैलदै गएको छ ।

काठमाडौंको जावलाखेलमा जारी फूल मेलामा देखिएको भिड र चहलपहले पनि त्यही कुरा पुष्टि गर्छ । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरीपरी’ नाराका साथ गएको मंगलबारबाट सुरु भएको फूल मेलामा फूल एवं बिउ–बिजन किन्ने मात्र होइन त्यसको सौन्दर्यमा रमाउनेहरुको पनि बाग्लो जमघट छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना चार दिने मेला आयोजना गरिएको कार्यक्रम संयोजक जेबी तामाङले बताए । उनका अनुसार अहिले देशभर व्यवसायिक फूल खेती विस्तार हुँदै गएको छ र यसैलाई मूख्य आयस्रोतको माध्याम बनाउनेहरु पनि छन् ।

‘मान्छेले दुःखमा, सुखमा जुनसुकै बेला फूल प्रयोग गर्छन् । चाडपर्वमा त फूल अरु बढी प्रयोग हुन्छ’ उनी भन्छन्, ‘यसले गर्दा पनि फूलको व्यवसायिक खेती गर्नेदेखि यसैमा करियर बनाउनेहरु बढेका छन् ।’

सिजन अनुसार फूलको बिक्री हुने उनी बताउँछन् । तिहार जस्तो पर्वमा फूलको माग उच्च हुने गर्छ । खासगरी सयपत्री फूल यसबेला बढी खपत हुन्छ । त्यसैगरी प्रणय दिवसमा फूलको कारोबार बढ्ने गरेको छ । त्यसबेला गुलाबको माग ह्वात्तै बढ्छ ।

त्यसबाहेक विवाहको सिजनमा फूलको धेरै कारोबार हुने तामाङ बताउँछन् । उनी भन्छन्, ‘अरुबेला पूजाआजा वा विभिन्न उत्सवमा फूलको माग भइरहेको हुन्छ ।’

नेपालमा फूलको माग उच्च भएपनि त्यस अनुरुप परिपूर्ति भने हुन नसकेको उनको भनाई छ । त्यसैले विदेशबाट फूल आयत गर्नुपर्ने बाध्यता छ ।

फ्लोरिकल्चर एशोसिएसनका अनुसार नेपालमा ४८ जिल्लामा करीब २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको फ्यानको तथ्याकं छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजार भन्दा बढी जनशक्ति रोजगारमा संलग्न छन् ।

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?