+
+
संस्मरणात्मक कथा :

मालिककी नातिनी र मिन्दुल्ले फूल

छेवैमा एक गोरी र सुन्दर युवती आएर टुसुक्क बसेकी छे। सेतो कपडामा सजिएकी उसले हातमा फुक्नलाई ठिक्क पारेको मिन्दुल्ले फूलको एउटा बोट समाएकी छे। ऊ चिम्सा आँखाले मलाई हेर्छे र चिनेचिने झैं मुसुक्क मुस्काइदिन्छे।

सुरेश राई  सुरेश राई 
२०८१ वैशाख ८ गते १४:५७

२०८१ साल : कोरिया काल

आइतबारको दिन थियो। कोरियामा सबैतिर बिदा भएकोले यतिकै युट्युब हेर्दै कोठामै लडिरहेको थिएँ। तल आँगनमा गाडीको आवाज आयो। को आएछ भनी झ्याल खोलेर तलतिर हेरेँ।

जेनेसिस गाडी हेरेरै चिनिहालेँ, हाम्रै कम्पनीको मालिक आएका रहेछन्। बिदाको दिन किन आएछन् त मालिक भनेर तल ओर्लिएँ। मलाई देख्नासाथ मालिक आफैं बोले, ‘यत्तिकै नातिनी डुलाउन ल्याएको।’

मालिकसँगै एउटी सुन्दर गोरी बच्ची पनि थिई।

मालिकले मतिर देखाउँदै भने, ‘हेजिना, नमस्कार गर।’ मालिककी नातिनी मलाई देखेर हजुरबुबाको पछाडि लुक्न खोजी। सायद उसले कोही विदेशी देखेको म पहिलो हुन सक्छु। सायद उसलाई म अनौठो र एलियन लागेको हुन सक्छु। नमस्कार त परको कुरा उनी मेरो नजिक आउनै तयार थिइनन्।

मालिकले गाडीको डिकीबाट एउटा सानो साइकल निकाले। साइकल पुरानो थियो। त्यसको चेन फुस्किएर लत्रेको थियो। सिट पनि एकदमै अग्लो थियो। मालिकले मलाई नातिनीको लागि साइकलको चेन मिलाइदिन र सिट घटाइदिन भने। चेकजाँच गरेपछि मलाई स्लाइड रेन्च चाहिने भयो र म स्टोरतिर रेन्च लिन गएँ।

रेन्च लिएर फर्केपछि साइकल बनाइरहँदा पनि बच्चीले मलाई टाढैबाट टुलुटुलु हेरी मात्र रहिन्, कुनै प्रतिक्रिया जनाइनन्। केही बेरमै साइकल तयार भयो। मालिकले फेरि भने, ‘हेजिना, धन्यवाद भन’ तर बच्ची चुपचापै रहिन्। बोल्न चाहिनन्।

अन्ततः मालिककी नातिनी मलाई बेवास्ता गर्दै आँगनमा साइकल घुमाउन थालिन्। मालिक पनि साइकलको पछिपछि दौडिन थाले। नातिनी बाजेलाई आँगनमै खेल्न छोडिराखेर म भने फेरि आफ्नै कोठातिर उक्लिएँ।

आफू पनि सानो हुँदा ठीक त्यही बच्ची जस्तै कसरी नौला मानिसहरू देख्दा लुक्ने गर्थें भनेर सम्झँदै सम्झँदै त्यसै पल्टिरहें। मेरो बाल्यकाल मगजभरि घुम्दै गयो।

… …

२०५० साल : खोटाङ काल

हाम्रो घरको छेउ भएर एउटा गल्ली सदरमुकाम दिक्तेल जान्थ्यो। गल्ली छेउको घर भएर हामी केटाकेटीहरूले मानिसहरूको चहलपहल ज्यादा देख्नुपर्थ्यो। सिकुवाको खाटबाट पूर्वतिर हेरियो भने देखिन्थ्यो गल्ली र गल्लीमा दिक्तेल बजार गइरहेका मान्छेहरू। अथवा दिक्तेल बजारबाट फर्किआएका मान्छेहरू देखिन्थे।

जानेहरू रित्तै जान्थे बेलुकी फर्कंदा थाप्लोमा झुन्डिएको कुनै न कुनै भारी हुन्थ्यो। पेरुङ्गोमा सुँगुरको पाठो हुन्थ्यो अथवा नाङ्लो वा चाल्नो हुन्थ्यो। अथवा प्लास्टिकका रंगीन ड्रमहरू हुन्थे। यो सब त अक्सर चलिनै रहन्थ्यो। हामी पनि यो सबसँग बानी परेका थियौं। टाढा टाढा गाउँबाट बजार ओहोरदोहोर गर्ने मान्छेहरू त्यही गल्लीमा दोहोरिन्थे, तेहेरिन्थे। हामीलाई सबै अनुहार परिचित लाग्थ्यो।

समय त्यसरी नै बित्दै गइरहेको थियो एक दिन केही नौला लाग्ने अनुहारहरू गल्लीमा देखिए। उनीहरू न दिक्तेल जाँदै थिए न दिक्तेलबाट फर्कंदै थिए। उनीहरू त सीधै हाम्रो घरतिर आउँदै थिए। तगारो खोलेर हाम्रो आँगनमै आइसकेपछि म डराउँदै खाटमुनि अझै कुनातिर लुकें।

भान्साबाट आमा निक्लनुभो। ती मानिसहरूले आमासँग केहीबेर बात मारे। आमाले भित्रबाट केही चिज ल्याएर दिनुभो। उनीहरूसँग सानो चिटिक्कको तराजु रहेछ म त्यो तराजुको सुन्दरताले लठ्ठिएँ। आमाले दिनुभएको सामान उनीहरूले तराजुमा जोखे। अनि आफ्नो झोलामा राखे। उनीहरूले झोलाबाट केही रंगीन चुराहरू निकालेर आमालाई देखाए र आमाले केही चुराहरू छानेर लिनुभो। म फेरि चुराको सुन्दरतामा लठ्ठिएँ।

ठूलो हुँदै जाँदा बुझ्दै गएँ ती मानिसहरू टाढाको पूर्वी जिल्लाहरूबाट सुँगुरको जगर (रौं) खोज्दै आएका लिम्बूहरू थिए जसले जगरको तौल अनुसारको चुराहरू दिने गर्थे। सायद जगरहरू कुनै औद्योगिक प्रयोजनको लागि संकलन हुन्थ्यो। यसरी जगरसँग चुरा साट्ने नौला मानिसहरू हाम्रो राई गाउँभरि घुम्थे।

उही गल्ली भएर देखा पर्ने अर्को नौलो समूह पनि थियो। उनीहरू अलि काला वर्णका थिए। पछि थाहा पाएँ, उनीहरू मधेशी मूलवासी चाचाहरू थिए। थाप्लोमा डोको बोकेका हुन्थे। उनीहरू घर छेउ आयो कि म फेरि भान्सा या कतैतिर लुकिहाल्थें। मेरा दिदीहरूले फाटेका टुटेका रबर र प्लास्टिकका जुत्ता चप्पलहरू उनीहरूलाई दिन्थे। उनीहरूको डोकोभरि यस्तै फाटेका जुत्ता चप्पलहरू हुन्थे। 

सट्टामा उनीहरू कागजमा पोको पारेर दालमोठ, भुजिया दिन्थे। उनीहरू गएपछि म पनि भित्रबाट निस्कन्थें र त्यो जादूमय स्वाद भएको भुजिया फारो गरेर खान्थें।

अरु नौला मानिसहरू जसलाई देखेर म झनै भयभीत हुन्थें उनीहरू थिए आरावालहरू। उनीहरूको साथमा हेर्दै सातो जाने ठूला र धारिला आराहरू हुन्थे। आराका दाँतीहरू देख्दैमा कस्तो भयंकर देखिन्थे। खासगरी हिउँदको समयमा भोजपुरतिरबाट उनीहरू हाम्रो गाउँतिर काम खोज्दै आइपुग्थे र कसैलाई काठ कटाउनु छ भने उनीहरूले काम पाउँथे। जहाँ धरान (काठ काट्न बनाइएको संरचना) बनाउँथे त्यहीं पकाएर खान्थे।

एक पटक एउटा आरावालले मलाई उसको लामो त्यो आरा देखाएर तर्साएको थियो। म रुँदै आमा भएतिर दौडिएको थिएँ।

ती दिनहरूमा मलाई सबैभन्दा कम डर लाग्ने मानिसहरू थिए- लेकाली दिदीहरू। उनीहरू महिला भएर होला मलाई अलि कम डर लाग्थ्यो, सायद आफ्नी आमा जस्तै महसुस भएर होला।

बर्खायाममा उहाँहरू हाम्रो गाउँ झर्नुहुन्थ्यो। दिनभरि वा कहिलेकाहीं एक हप्ता पनि काम सघाउनुहुन्थ्यो। काम सघाए बापत उहाँहरूले सखरखण्ड (स्थानीय भाषामा सुठुनी)को बेलो (लहरा) लिएर फर्कनु न्थ्यो। हाम्रा मकै बारीहरूभित्र सखरखण्डका बेलोहरू यतिकै त्यसै उम्रेका हुन्थे।

ती बेलोहरू भेला गरी भारी कसेर उहाँहरू लेकतिर फर्कनुहुन्थ्यो। सखरखण्ड रोप्दा कुनै बीउ चाहिंदैन, यो लहरै रोपिन्छ र मजाले फल्छ। त्यसैले बीउ लहराको सट्टामा काम सघाएर जान्थे लेकाली दिदैहरू।

बाहिर आँगनबाट आएको गाडीको टिं टिं आवाजले मेरो बाल्यकालको सम्झनामा ब्रेक लगायो। झ्याल खोलेर तलतिर हेरें, सायद कसैको पार्सल आएको थियो, पार्सलवाला डेलिभरी म्यानको मोटरसाइकलको हर्न थियो, गाडीको थिएन।

हेरें, नातिनी बाजे पनि खेलेर कति छिटो फर्की पो सकेछन्।

२१११ साल : युरोप काल

जिन्दगी पनि बडो अच्चम्मको छ। मैले आफ्नो बूढेसकाल युरोपको कुनै देशमा बिताइरहेको हुनेछु भनेर कहिल्यै कल्पनै गरिनँ। तर आखिर त्यस्तै भैदियो।

म युरोपको कुनै मिन्दुल्ले फुलिरहेको मैदानमा छु। अंग्रेजीमा ड्यान्डलाइन भनिने यस फूललाई कोरियनहरू मिन्दुल्ले भन्छन्। मानिसहरू सेतै भुवादार फुलिसकेको मिन्दुल्लेलाई आँखा चिम्म गरी फु…गरेर फुक्छन् र केही कुराको कामना गर्छन्।

यसो गर्दा आफ्नो कामना पूरा हुने विश्वास छ। कोरियामा ऊ बेला खुबै फुक्थें म पनि मिन्दुल्ले। अहिले युरोपको यो मैदान पनि सेतै मिन्दुल्लेमय भएको छ।

पर पर समुद्र फैलिएको छ। घाम डुब्नै लागेको छ। म पनि घाम जस्तै बूढो भएको छु। म डुब्न लागेको घाम र समुद्र हेर्दै सुस्ताइरहेको छु।

छेवैमा भर्खरै एक गोरी र सुन्दर युवती आएर टुसुक्क बसेकी छे। सेतो कपडामा सजिएकी उसले हातमा फुक्नलाई ठिक्क पारेको मिन्दुल्ले फूलको एउटा बोट समाएकी छे। ऊ चिम्सा आँखाले मलाई हेर्छे र चिनेचिने झैं मुसुक्क मुस्काइदिन्छे।

यसो गर्दा उसका चिम्सा आँखा अझै चिम्सा भएका छन्। तब म झल्यास्स केही कुरा सम्झन्छु। उसलाई चिन्छु र बडो प्रेमपूर्वक भन्छु –

‘हेजिना ! मलाई चिन्यौ? म त्यही दक्षिण एसियाली कामदार हुँ, जो तिमीले तिम्रो बाल्यकालमा देखेकी थियौ। जसले तिम्रो हजुरबुबाको कम्पनीमा पसिना बगाएको थियो। जसले तिम्रो देशको उन्नतिमा आफ्नो यौवनको सुन्दरतम दश वर्षहरू खर्च गरेको थियो। कम्पनीको आँगनमा तिम्रो बिग्रेको साइकल पनि त बनाइदिएको थियो। हेजिना, म त्यही मान्छे हुँ।’

हेजिनाले केहीबेर मलाई घोरिएर हेरी। उसको अनुहारमा खुसीको उज्यालो किरण देखियो। उसले हतपत मलाई अंकमाल गरी र रुन्चे स्वरमा मेरो कानमा बोली- ‘त्यो बेला साइकल बनाइदिनुभएकोमा धन्यवाद। मेरो हजुरबुबाको आर्थिक उन्नतिमा सहयोगी बनिदिनुभएकोमा धन्यवाद, हाम्रो देशको विकासमा पसिना बगाउनुभएकोमा धन्यवाद! फेरि यसरी यो मोडमा भेटिनुभएको धन्यवाद! अहिलेसम्म जीवित रहनुभएकोमा धन्यवाद, तपाईंलाई धन्यवाद, धन्यवाद! धन्यवाद !’

मलाई एउटा अनौठो सन्तोषको अनुभूति भएर आयो। के जगर खोज्ने लिम्बूहरू, के भुजिया साट्ने चाचाहरू, के लहरा लिन आउने लेकाली दिदीहरू, के आरावालहरू, के दक्षिण कोरिया र युरोपमा पसिना बगाएको म, हामी सबैको श्रमले यो संसार यहाँसम्म आएको हो। हामी सबैलाई धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?