+
+

फूल नबिकेर सुक्दैछ, किसानको मन कटक्कै दुख्दैछ

अमृत सुवेदी अमृत सुवेदी
२०८० कात्तिक २८ गते १६:३७

२८ कात्तिक, पोखरा । पोखरा महानगरपालिका–२६ सुन्दरीबजारका फूल किसान केदार विश्वकर्माको मनमा चयन छैन । फूल बेचेर फूलजस्तै जीवन बनाउन नसके पनि रासनपानी खाने र घर खर्च चलाउने उनको चाहना हो । तिहारको फूलमाला बिक्ने दिन सकिनै लाग्यो तर फूल बजारसम्म ल्याएर बेच्दा लाग्ने खर्चमात्रै उठाउन पनि धौ–धौ परिरहेको छ ।

तिहारका लागि पोखरा महानगरपालिकाले सयपत्री मेला आयोजना गरेर सिद्धार्थ चोकको श्रीकम्प्लेक्समा फूलमाला बेच्ने ठाउँ तोकिदिएको छ । अघिल्लो वर्षसम्म पोखराका मुख्य चोक र सडकमा फूल बिक्री गर्ने किसानलाई महानगरले कम्प्लेक्समा स्टल दिएको छ । तर, ग्राहक नआएपछि किसानहरु आफैंले बुनेको माला हेर्छन्, उठाउँछन्, राख्छन् र चुकचुकाउँछन्, ‘बरु सडकको पेटी नै ठीक थियो ।’

पोखरा महानगरले फूल बिक्री व्यवस्थित गर्न यस वर्षदेखि स्थान तोकेको हो । स्थान मात्र होइन महानगरले मूल्य पनि तोकिदिएको छ, थुंगाको २ देखि ५ रुपैयाँ, मालाको १५० रुपैयाँदेखि २०० र किलोको ४०० रुपैयाँ ।

‘महानगरले ठाउँ त दियो तर ब्यापार डामाडोल नै छ । पोहोर फूलको अभाव थियो, राम्रो मूल्यमा बिकेको थियो’, विश्वकर्मा भन्छन्, ‘अहिले एउटा माला १ सय रुपैयाँमा पनि जान गाह्रो छ । सडकमा हुने व्यापार भन्दा कम छ ।’ धेरै ग्राहकले फुल बिक्री स्थल तोकेको बारेमा जानकारी नपाएको उनको भनाइ छ ।

३/४ लाख रुपैयाँको फूल बिक्री गर्ने चाहना राखेका विश्वकर्माको हातमा मंगलबार बिहानसम्म ५० हजार रुपैयाँ परेको छ । २ रोपनीमा फूलखेती गरेका उनले बारीका आधा फूल पनि टिपेका छैनन् । उनलाई चिन्ता छ, तिहारमै नबिकेको सयपत्री, तिहारपछि कसले किन्ला ?

पोखरा सिद्धार्थ चोकको श्री कम्प्लेक्समा लागेको सयपत्री मेला पुग्दा बिहान १० बजेसम्म पनि स्टलहरु सुनसान थिए । फूल किसान सबै निराश र चिन्तित देखिन्थे । फूल बेचेर लागत पनि नउठेको उनीहरुको भनाइ छ ।

‘फूलहरु टिप्न पाएको छैन, बारीमा त्यत्तिकै छ । ३ रोपनी जग्गामा लगाएको फूल प्रशस्तै थियो । मनमा पनि साह्रै नमज्जा लागेको छ, यत्रो फूलहरु छ’ पोखरा–२८ की लक्ष्मी खत्री अर्याल भन्छिन्, ‘यही फूल बेचेर रासनपानी किनम्ला भनेर फूल लगाएको हो ।’

अघिल्लो वर्षसम्म लक्ष्मीको परिवारले बारीको डिल र छेउछाउमा फूल लगाउने गरेका थिए । यसपटक अरु बाली नलगाई फूल मात्र लगाएका थिए । तर, फूलमाला नै नबिकेपछि लक्ष्मीको मन पोलेको छ ।

३ दिन भयो बिक्री गर्न राखेका फूल राम्ररी बिकेका छैनन्, । ३ रोपनी बारीमा लगाएको फूल टिपेकै छैन । ‘बारीमा कोदो रोप्न छोडेर, धान रोप्न छोडेर फूल लगाएका हामी साह्रै निराश छौं’, उनले भनिन्, ‘कम्तीमा २ लाख आम्दानी हुन्छ कि भन्ने सोचेका थियौं, आफैं सोच्नुस् हाम्रो मनमा के बितेको होला, त्यो हाम्रो मनमै छ । घाटा प¥यो नराम्रोसँग ।’

विदेशबाट फूल आयात गर्न दिएको र सडकमा बिक्री गर्न नरोकेका कारण आफूहरुको फूल नबिकेको लक्ष्मीको भनाइ छ ।

पोखरा–१४ चाउथेका दिपेश कोइरालाले ६ रोपनी जग्गामा फूल लगाएका छन् । अहिलेसम्म १ रोपनीको फूल पनि टिपेका छैनन् । थोरै फूलमाला सस्तोमा बेच्नुपर्दा दिपेशलाई लगानी कसरी उठाउने भन्ने चिन्ता छ ।

१० वर्षदेखि फूल खेती गर्दै आइरहेको दिपेशको परिवारले अहिलेजस्तो फूल नै ओइलिएर जाने समय आउला भन्ने सोचेका पनि थिएनन् । ‘लगानीको २० प्रतिशत पनि उठेन । ६/७ हजारको फूल बेचिन्छ कि भन्ने थियो, ५० हजार पनि बिकेको छैन’, दिपेश निराशा पोख्छन्, ‘महानगरले फूल बेच्ने ठाउँ दिएकै हो तर स्थानीय उत्पादनले बजारमा ठाउँ पाएन ।’

श्रीकम्प्लेक्समा फूल बेच्न बसेका ५० भन्दा बढी किसानको दुखेसो, चिन्ताको एउटै विषय छ, ‘फूल नबिकेर सुक्या छ, कटक्कै दुख्या छ ।’

सडकमा जथाभावी फूल बेच्न रोक्ने भनेर महानगरले फूल किसानलाई निशुल्क ठाउँ उपलब्ध गराएको हो । श्रीकम्प्लेक्समा स्टलको पैसा तिर्न नपर्दा पनि किसानलाई फूल नबिकेर घाटा बेहोर्नुपर्दाको थकथकी छ ।

श्रीकम्प्लेक्ससँगै पोखरा महानगरले आफैंले बनाएको ५ ठाउँका किसान बजार र एउटा सहकारीमा फूल किसानलाई ठाउँ उपलब्ध गराएको छ । ती ठाउँका फूल किसानको एउटै स्वर छ, ‘यसपटक फूलै बिकेन ।’

भारतीय फूलको हस्तक्षेप

पोखरामा नक्कली प्लास्टिकका फूल बेच्न प्रतिबन्ध छ । भारतीय फूल आयातमा रोक लगाउने र स्थानीय फूलबाटै आत्मनिर्भर हुने नीति पोखरा महानगरको थियो । तर, भारतीय फूल बजारमा छ्यापछ्याप्ती हुँदा स्थानीय उत्पादन सुकेरै जाने देखिएको छ ।

यतिसम्म कि भारतबाट आएको फूलको माला ५०/६० रुपैयाँमा घरघरमै पुर्‍याइएको छ । जसले गर्दा १ सयदेखि २ सय रुपैयाँ पर्ने स्थानीय फूल माला सुकेर जाने स्थिति आएको हो ।

‘यसपटक उत्पादन नै धेरै थियो । भारतबाट पनि फूल आयो । फूलको पसलहरुले पनि स्थानीय उत्पादनलाई प्राथमिकता नदिएर भारतीय फूल नै बेचे’, दिपेश फूल नबिक्नुको कारण खोल्छन् ।

यसपटक पोखरामै फूल खेती गर्ने किसान बढेका छन् । तनहुँ, स्याङ्जा, पर्वत लगायतका जिल्लाका फूलको मुख्य बजार पनि यही हो । त्यसमाथि भारतबाट आएका फूलले हस्तक्षेप गर्दा यसपटक किसानले नराम्ररी घाटा ब्यहोर्ने देखिएको छ ।

अघिल्लो साल पोखरामा २ सयका हाराहारीमा फूल किसान भएको अनुमान थियो । ‘अहिले भित्रभित्रै धेरैले मौसमी फूल खेती गरेका रहेछन्, पोखरामा मात्र ५ सयभन्दा बढी फूल किसान होलान्’, पोखरा महानगर आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले भने ‘यसपटक उत्पादनै बढी भयो, त्यसमाथि भारतीय फूलको हस्तक्षेप रोक्ने भने पनि सकिएन ।’

गत वर्ष पोखरामा साढे २ लाख माला खपत भएको निश्कर्ष व्यवसायी र महानगरको थियो । त्यो माग स्थानीय उत्पादनले नै धान्छ भन्ने अनुमानले किसानलाई अनुदान दिएरै फूल लगाइएको थियो ।

‘पोखरा महानगरले १६५ रोपनी क्षेत्रफलमा फूल खेती गर्न अनुदान दिएको हो  । ‘बीऊ  दिएर तालिम पनि दिएका थियौं’, कडरियाले भने, ‘अहिले मूल्य तोक्ने, निशुल्क ठाउँ दिने गर्दा पनि किसानले घाटा ब्यहोर्ने भए ।’

भारतबाट आउने फूललाई रोक्न नसकिएको र त्यो पालिकाको क्षमताभित्र नरहेको कडरियाको अनुभव छ । ‘फूलमा अहिले सबैजसो पालिका आत्मनिर्भर भइसकेका थिए । किसान बढेको बढ्यै छन्’, कडरियाले भने, ‘भारतीय फूल आयात रोक्ने काम नेपाल सरकारले गर्ने हो । हाम्रो पहुँच पुग्दैन । पूर्ण रुपमा रोक्न पालिकाले नसक्ने रहेछ ।’

फूलमा धेरै घाटा ब्यहोर्ने किसानलाई राहत दिने

फूल खेती गर्ने किसानहरुले फूलखेती धेरै भएको तर आर्थिक मन्दीका कारण माग र बिक्री  कम भएको बताएका छन् ।  नयाँ घर बनाउनेहरु र धेरै पैसा भएकाहरुले तिहारमा घर, पसल सजावटका लागि धेरै फूल किन्थे । यस वर्ष भने अघिल्ला वर्षहरुमा जस्तो मन फुकाएर खर्च गर्न मानिसहरु डराएको व्यवसायी बताउँछन् ।

‘आवश्यकताभन्दा बढी आयात भयो । उत्पादन पनि त्यसरी नै बढ्यो । पोहोर पोहोरजस्तो किन्ने मानिसहरु पनि यसपटक देखिएनन्’, किसान दिपेश कोइरालाले भने, ‘पहिले ८ सयसम्ममा एउटा माला बिक्थ्यो, बनाउन लगाउँथे । तर, अहिले सय कै माला बिकाउन पनि धौ–धौ भयो ।’

महानगरले सडकपेटी र चोक चोकमा फूलमाला बिक्री गर्न नदिने भन्दै ठाउँ तोकेर व्यवस्थित गर्न त खोज्यो तर सडकका छेउछाउ र गाडीबाटै फूल बिक्री भइरहेको छ ।

घरघरमै भारतीय मालाको डेलिभरीसमेत भइरहेको जानकारी आएको महाशाखा प्रमुख कडरिया नै बताउँछन् । जसका कारण धेरै किसानलाई मार पर्ने देखिएको छ । तर, पोखरा महानगरले फूलबाट धेरै घाटा ब्यहोर्ने किसानलाई राहत दिने भएको छ ।

‘श्री कम्प्लेक्स परिसरमा ल्याएर नियमित फूल बिक्री वितरण गर्ने कृषकको आजसम्मको स्टकलाई हेर्दा, बजारमा माग भन्दा बढी आपूर्ति भएको र बाह्रय क्षेत्रबाट पनि फूल आएको, विगतको तुलनामा माग पनि कम भएकाले माला बिक्री वितरणमा समस्या आएकोले पोखरा महानगरपालिकाको तर्फबाट प्रति माला रु २० का दरले प्रोत्साहन गरिने निर्णय भएको छ’ उनले भने ।

हालसम्म बिक्री नभएको ६ हजार ५०० मालालाई प्रति माला २० का दरले १ लाख ३० हजार प्रोत्साहन रकम दिइने उनको भनाइ छ । किसानको बारीमा नै रहेको फूल र बिक्री नभएको माला सुरक्षित राख्न महानगरपालिकाले आग्रह गरेको छ । ‘सुकेका फूल गुणस्तर हेरी प्रतिकिलो ५० देखि ८० रुपैयाँसम्ममा खरिद गर्ने व्यवस्था गरिएको छ’, कडरियाले भने ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?