
सोसल मिडिया प्लाटफर्म ट्वीटर (हालको एक्स) का संस्थापकमध्येका एक ज्याक डोर्सीले Bitchat Mesh नामक एक मेसेजिङ एप सार्वजनिक गरेका छन् । ब्लुटूथमा आधारित उक्त एप हाल केवल आइफोन प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ ।
ज्याकको उक्त मेसेजिङ एप विशेष खालको छ । किनकि यो इन्टरनेटमा निर्भर छैन र यसलाई कुनै फोन नम्बर वा इमेलको आवश्यकता पनि पर्दैन ।
बिटच्याट मेशले एक Bluetooth Mesh नेटवर्कको माध्यमबाट काम गर्दछ । अर्थात् प्रयोगकर्ताहरुले आफ्नो ब्लुटुथ कनेक्टिभिटीमा रहेका अन्य व्यक्तिलाई यसमार्फत् मेसेज पठाउन सक्दछन् । जुन सामान्यतया १ सय मिटरको दूरीभित्र हुन्छ । यसका लागि वाइफाइ कनेक्सन वा फोन नम्बरको आवश्यकता पर्दैन ।
यसमा प्रयोगकर्ताहरु आपसमा सिधै जोडिन सक्छन् । यदि दुईवटा प्रयोगकर्ताहरु ब्लुटूथको दायराभन्दा बाहिर छन् भनेपनि नेटवर्कमा रहेका अन्य प्रयोगकर्ताको माध्यमबाट मेसेज रिले हुन्छ ।
यो एपमा एन्ड टू एण्ड एन्क्रिप्सन सुविधा छ, जुन न्वाइज प्रोटोकल फ्रेमवर्कमा आधारित छ । प्रयोगकर्ताहरुले एक आपसमा एक अर्काको औंठाछापको तुलना गरेर आफ्ना पहिचान प्रमाणीकरण गर्न सक्दछन् र भेरिफाइड चिन्हित गर्न सक्छन् । यो एपले कुनै सर्भरबिना र कुनै अकाउन्ट वा डेटाको संग्रह बिना नै काम गर्दछ । यसबाट प्रयोकगर्ताको गोपनियता सुरक्षित रहन्छ ।
Bitchat Mesh एपको इन्टरफेस निकै सामान्य छ र पूरानो समयको इन्टरनेट रिले च्याट जस्तै देखिन्छ । यसमा प्रयोगकर्ताले कुनै पनि व्यक्तिलाई favorite बनाउन सक्ने, मेन्सन गर्नसक्ने वा अनिच्छित व्यक्तिलाई ब्लक गर्नपनि सक्दछन् ।
यद्यपि यो एपमा लोकल मेसेजिङ सुरक्षित भएपनि वान बाइ वान निजी च्याटका लागि अहिलेसम्म कुनै पनि बाहिरी सुरक्षा अडिट नभएको हुँदा संवेदनशील जानकारी आदानप्रदान नगर्न यसले आफ्नो वेबसाइटमा सल्लाह दिएको छ ।
प्रतिक्रिया 4