+
+

६ महिनामा प्रधानमन्त्रीका ९० सम्बोधन

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० कात्तिक २० गते १९:३२

२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत ३० पुसमा सञ्चारमाध्यमका सम्पादकहरुसँग भनेका थिए, ‘वास्तवमा उद्घाटन शिलान्यासमा समय बिताउनुभन्दा यहीं बसेर खुरु-खुरु काम गरौं भन्ने मलाई पनि लागेकै हो । तर ज्यादिविधि नै कर गर्छन्, अब गर्ने के ?’

प्रधानमन्त्रीले समस्या सुनाउँदै त्यसको समाधानका विकल्प पनि आफैं सुनाएका थिए, ‘बरु कतिपय उद्घाटन चैं राति गरौं कि ? समय पनि बचत हुने । बिहान र दिउँसोको समय काम गर्न पाइने ।’

तर प्रधानमन्त्री प्रचण्डले न उद्घाटन तथा शिलान्यासको मोह त्याग्न सके, न यस्ता कार्यक्रममा सहभागिताको विकल्प प्रयोग थाल्न थालेका छन् । उनी निम्त्याइएका अधिकांश कार्यक्रममा पुग्ने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रकाशन गरेको विवरणले देखाउँछ ।

विवरणअनुसार प्रचण्डले ६ महिनामा प्रधानमन्त्रीका रुपमा ९० वटा औपचारिक कार्यक्रमलाई सम्बोधन गरेका छन् । कार्यालयकाअनुसार प्रधानमन्त्री प्रचण्डले गत वैशाखदेखि असारसम्म ४२ वटा र साउनदेखि असोजसम्म ४८ वटा सम्बोधन गरेका छन् ।

औसत २ दिनमा एउटा सार्वजनिक कार्यक्रममा पुगेर प्रधानमन्त्रीले सम्बोधन गरिरहेको देखाउँछ । आफ्नो दल माओवादी केन्द्र र समाजवादी मोर्चाका कार्यक्रमहरु यसमा समावेश गरिएको छैन ।

जबकी प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल सम्हाल्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले विगतको जस्तो कार्यशैली नअपनाउने बताएका थिए । १० पुसमा संसदमा सम्बोधन गर्ने क्रममा उनले भनेका थिए, ‘तेस्रो पटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र म यहाँ उभिएको छैन ।’ तर उनको दैनिकी हेदा उद्घाटन, शिलान्यास, पुरस्कार वितरण र पुस्तक लोकार्पण कार्यक्रममा समेत पुग्ने गरेको देखिन्छ ।

पूर्वसचिव शारदाप्रसाद त्रितालका अनुसार विगतमा प्रधानमन्त्री कस्तो कार्यक्रममा जाने भनेर निर्देशिका नै बनाएको स्मरण गर्छन् । तर, त्यसको सुरुदेखि नै पालना गरिएन, अहिले त त्यो निर्देशिका सरकारको वेबसाइटमा छैन । ‘एकभन्दा बढी जिल्लाका सरोकारका कार्यक्रमहरु, राष्ट्रियस्तर र महत्व बोक्ने सभा समारोहहरुमा मात्रै प्रधानमन्त्री पुग्दा हुन्छ,’ जानैपर्ने कार्यक्रममा चाहिँ प्रधानमन्त्री पुगेको आफूले अनुभव गर्न नपाएको भन्दै उनी भन्छन्, ‘तर, अहिले पालिका अध्यक्ष र बढीमा प्रदेशस्तरका मन्त्री जाँदा पर्याप्त हुने कार्यक्रमहरुमा प्रधानमन्त्री पुगिरहनुभएको छ ।’

कार्यक्रममा पुगेर एक पक्षको आलोचना र एक पक्षको अधिक प्रशंसासहित अनावश्यक आश्वासन बाँड्ने प्रधानमन्त्रीको शैली समेत आलोचनायोग्य भएको उनको भनाइ छ । आफ्नो अभिव्यक्तिको उल्टो व्यवहार देखाउने वर्तमान प्रधानमन्त्रीको शैली पनि ठीक नभएको त्रिताल बताउँछन् ।

प्रधानमन्त्री प्रचण्डलाई उनको सुझाव छ, प्राथमिकताक्रम निर्धारण गरेर त्यसअनुसार काम गर्नुस् ।

किनकी प्रधानमन्त्री प्रचण्ड बाहिरका कार्यक्रममा व्यस्त भइरहँदा प्रधानमन्त्री कार्यालयभित्रै निर्देशन दिन तयार गरिएका संयन्त्रहरु उपयोगहीन छन् । जेठ २०७६ मै प्रधानमन्त्री कार्यालयमा तयार भएको ‘एक्सन रुम’ उपयोगविहीन छ । राष्ट्रिय गौरवका आयोजनाहरुको लाइभ मनिटरिङ गर्नुका साथै रिपोर्ट लिएर तुरुन्तै समस्या समाधान गर्ने गरी एक्सन रुम बनाइएको छ । उनले महिनाको एकपटक सबै आयोजनाको रिपोर्ट लिने गरी तयार गर्न भने पनि अहिलेसम्म कार्यतालिका बनेर काम सुरु भएको छैन ।

प्रदेश सरकारसँग नियमित समन्वयसहित सरकारी सेवा प्रवाह गर्ने निकायको लाइभ मनिटरिङ गर्न सक्नेसम्म क्षमता राख्छ । कार्यकमहरुलाई प्रधानमन्त्रीले भर्चुअल रुपमा सम्बोधन र निर्देशन गर्नेसहित काममा उपयोग हुनसक्छ । तर त्यसतर्फ ध्यान दिइएको छैन ।

नेपाल सरकारका एक पूर्वसचिव सचिवहरूलाई कार्यालयकै काम छोडेर अनावश्यक र सानातिना सभा-सम्मेलन, गोष्ठी, सेमिनार, प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री आफैं पुग्नु उचित नभएको बताउँछन् । ‘पुस्तक लोकार्पणदेखि सम्मान तथा पुरस्कार थमाउन पनि पुगेर प्रधानमन्त्रीले घण्टौं समय बिताउनु उपयुक्त होइन,’ ती पूर्वसचिव भन्छन्, ‘प्रधानमन्त्री अघि लागेका कारण अहिले मन्त्री, सचिव र सहसचिवहरु पनि त्यही बाटोमा हिँडेको देखिन्छ ।’

पूर्व सचिव त्रिताल प्रधानमन्त्री गम्भीर भए आफूलाई निम्तो आएका कार्यक्रममा विभागीय मन्त्री र पार्टीका नेताहरु पनि पठाउन सक्ने बताउँछन् । प्रधानमन्त्रीले प्रदेशतिरको कार्यक्रममा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बोलाउन पनि भन्नसक्ने उनको भनाइ छ । ‘तर, हालका प्रधानमन्त्रीलाई सरकारी खर्चमा हेलिकप्टर चढ्ने साह्रै रहर छ,’ उनले भने, ‘अहिले जसरी र जे-जस्ता कार्यक्रमहरुमा प्रधानमन्त्री पुगिरहनु भएको छ, त्यो असाध्यै गलत छ । कार्यक्रम सहभागिताका हिसावले प्रधानमन्त्री र गाउँपालिका अध्यक्षबीच फरक देखिनुपर्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?