+
+

केयूले नवीनतम सोच भएका परियोजनालाई झण्डै डेढ करोड लगानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १८:४४

२१ कात्तिक, काठमाडौं । काठमाडौ विश्वविद्यालय (केयू) ले नवीनतम सोच भएका परियोजनाको लागि १ करोड ४० रुपैयाँलगानी गर्ने भएको छ ।

केयूले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रर्वद्धनका लागि लगानी गर्ने भएको हो ।

नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रम अन्तर्गत इनरजाइज नेपाले विनियोजन गरेको ४० लाख रुपैयाँमा ऊर्जासँग सम्बन्धित नवीनतम सोचलाई (इनोभेटिभ आइडिया) मात्र व्यापारमा परिणत गर्न उपलब्ध गराइनेछ ।

जस अन्तर्गत सम्पूर्ण नेपाली नागरिकहरुले आवेदन दिन सकिने छ भने १ करोड ऊर्जा लगायत अन्य क्षेत्रमा भएका सोचलाई व्यापारमा परिणत गर्न उपलब्ध गराइने छ । यस अन्तर्गत आवेदकहरु केयूसँग आवद्ध विद्यार्थी, कर्मचारी, विभागीय कर्मचारी लगायतले मात्र आवेदन दिन पाउँनेछन् ।

केयूकाअनुसार, प्रत्येक नवीनत्तम सोचलाई ५ लाख गरी २८ वटा नवीनत्तम सोचलाई परियोजनाबाट सहायता पाउनेछन् ।

कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोगले एक करोड र इनरजाइल नेपालले केयूलाई ४० लाख रुपैयाँ उपलब्ध गराएको हो ।

मंगलबारदेखि लगानीका लागि आवेदन दिन सकिने र ३१ डिसेम्बरसम्मका लागि आवेदन दिन समय राखिए पनि निवेदन दिएपछि दुई हप्ता भित्रै लगानीयोग्य परियोजनालाई लगानी गर्ने व्यवस्था गरिएको इनरजाइज नेपालका आयोजना प्रबन्धक डा. विजय थापाले जानकारी दिए ।

‘नवीनतम सोचमा आधारित व्यापार र व्यवसायको प्रवर्द्धन गर्ने, यसमार्फत रोजगारी सिर्जना गर्ने र यसमार्फत विद्यार्थीदेखि लगानी गर्न चाहानेहरुसम्मका लागि अवसर सिर्जना गरी यसमार्फत देशको अर्थतन्त्रमा योगदान दिने उद्देश्यसहित कार्यक्रम सुरु गरेका हौं,’ उनले भने, ‘लगानी योग्य प्रस्तावको मूल्यांकन दुई हप्ताभित्र भएर उनीहरुको सोचको परियोजना लगानीयोग्य भए तुरुन्तै सहायता पाउनेछन् ।’

प्रस्तावित परियोजना लगानीयोग्य नभएमा उनीहरुलाई प्राविधिक सहयोग भने उपलब्ध गराइने थापाले जानकारी दिए । केयूले प्रस्ताव आएपछिको मूल्यांकन गरी निर्णयका लागि तीन सदस्यीय समिति समेत गठन गरेको छ ।

केयू अन्तर्गत इकुबेसन सेन्टरले १०, इनरजाइज नेपालले ८ र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरले १० वटा विभिन्न नवीनतम आइडियालाई लगानी गरिसकेको छ । विशेष गरी ऊर्जा, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रमा उनीहरुले लगानी गरेका छन् ।

इनरजाइज नेपालकाअनुसार यस आयोजनामार्फत दुई सय भन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाइसकेका छन् ।

लगानी गरेको रकमबाट आएको मुनाफालाई फेरि नवीनतम सोचमा आधारित लगानी गर्ने गरी कार्यक्रम अघि बढेको प्रबन्धक थापाले जानकारी दिए ।

विद्यार्थी लगायतलाई उद्योग व्यवसायतर्फ आकर्षित गरी रोजगारी सिर्जना र अर्थतन्त्रमा योगदान दिने उद्देश्यले केयूले सन् २०१५ इन्कुबेसन सेन्टर स्थापना गरेको थियो ।

इनरजाइज नेपाल भने नर्वेजियन सरकारको सहयोगमा नर्वे राजदूतावासमार्फत अध्ययन, अनुसन्धान र नवीनतम सोचको परियोजनाका लागि सञ्चालित कार्यक्रम हो ।

इनरजाइज नेपालको केयू, हाइड्रो ल्याब, एनटीएनयू र सिन्टेफ साझेदार छन् भने यसको व्यवस्थापन केयूले गर्दै आएको छ । यस अन्तर्गत क्षमता अभिवृद्धि र व्यापार व्यवसायमा अभिप्रेरित गर्नका लागिआर्थिक तथा प्राविधिक सहयोग गर्ने लक्ष्य राखिएको छ ।

यस अन्तर्गतका परियोजनाका लागि नर्वेजीयन सरकारले ५१ मिलियन अर्थात करिब ६५ करोड नेपाली रुपैयाँ सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?