+
+

म्याक्सवेलको दोहोरो शतकमा अष्ट्रेलिया सेमिफाइनलमा, कीर्तिमानको वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते ७:०४

२२ कात्तिक, काठमाडौं । अलराउण्डर ग्लेन म्याक्सवेलले दोहोरो शतक प्रहार गरेपछि अष्ट्रेलियाले आईसीसी वानडे विश्वकपमा मंगलबार राति अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

घाइते हुँदा पनि म्याक्सवेलले छक्का र चौकाको वर्षा गर्दै अविजित २०१ रन बनाएपछि २९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । सुरुवाती दुई खेलमा पराजित भएको अष्ट्रेलिया लगतार ६ जितपछि ८ खेलमा १२ अंक जोडेर सेमिफाइनलमा पुगेको छ ।

म्यासवेलको कीर्तिमान वर्षा

मुम्बईमा भएको खेलमा म्याक्सवेलले १२८ बल खेल्दा २१ चौका र १० छक्का प्रहार गरे । नटआउट २०१ रन बनाउने क्रममा उनले विभिन्न कीर्तिमान पनि बनाए ।

एक समय ९१-७ को अवस्थामा रहेको अष्ट्रेलियामाथि अफगानिस्तान पहिलो पटक जित नजिक पुगे पनि म्याक्सवेलले अविश्वसनीय इनिङ्स खेल्दै जित दिलाएका हुन् ।

म्याक्सवेलले मुजिब उर रहमानलाई ४७ औं ओभरको दोस्रो र तेस्रो बलमा छक्का, चौथो बलमा चौका र पाँचौं बलमा छक्का हान्दै दोहोरो शतक पूरा गर्नुका साथै अष्ट्रेलियालाई जित पनि दिलाए ।

म्याक्सवेलले आठौं विकेटका लागि कप्तान प्याट कमिङसँग अविजित २०२ रनको साझेदारी गरे । कमिङ ६८ बल खेल्दै १२ रनमा अविजित रहे । उनले म्याक्सवेलले राम्रो साथ दिएका थिए ।

ओडीआईमा यो आठौं विकेटका लागि भएको सबैभन्दा ठूलो साझेदारी हो । यसअघि २००६ मा दक्षिण अफ्रिकाका जस्टिन केम्प र एन्ड्रयु हलले भारतविरुद्ध १३८ रनको साझेदारी गरेका थिए ।

म्याक्सवेल ओडीआईमा दोहोरो शतक हान्ने पहिलो अष्ट्रेलियन ब्याटर हुन् । यसअघि सन् २०११ मा अष्ट्रेलियाका शेन वाट्सनले ओडीआईमा बंगलादेशविरुद्ध १८५ रन बनाएका थिए ।

म्याक्सवेल वान डे विश्वकपमा दोहोरो शतक हान्ने तेस्रो खेलाडी हुन् । यसअघि २०१५ को विश्वकपमा न्युजिल्यान्डका मार्टिन गुप्टिलले वेस्टइन्डिजविरुद्ध २३७ र वेस्टइन्डिजका क्रिस गेलले जिम्बाव्वेविरुद्ध त्यही विश्वकपमा २१५ रन बनाएका थिए ।

यसैगरी म्याक्सवेल विश्वकपमा छिटो दोहोरो शतक बनाउने खेलाडी पनि बने । यसअघि गेलले १३८ बलमा दोहोरो शतक हानेका थिए ।

यसअघि ओडीआईमा दोहोरो शतक ओपनरले मात्र बनाएका थिए । म्याक्सवेलले ओपनर बाहेक छैटौं नम्बरमा आएर दोहोरो शतक हान्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाए ।

अष्ट्रेलियाका लागि मिचेल मार्सले २४ र डेविड वार्नरले १८ रन बनाए । अफगानिस्तानका नविन उल हक, अज्मतुल्लाह ओमरजाई र रासिद खानले २-२ विकेट लिए ।

इब्राहिम जदरानको कीर्तिमानी शतक

त्यसअघि मुम्बईको वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जदरानको कीर्तिमानी शतकमा ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनाएको थियो ।

वानडे विश्वकपमा शतक प्रहार गर्ने पहिलो अफगानी ब्याटर बनेका जदरानले १४३ बल खेल्दै ८ चौका र ३ छक्का मदतमा नटआउट १२९ रनमा नट आउट रहे । रासिद खानले १८ बल खेल्दै २ चौका र ३ छक्का मदतमा नटबउट ३५ रन बनाए ।

रहमत शाहले ३०, कप्तान हश्मतुल्लाह शाहिदीले २६, अज्मतुल्लाह ओमरजाईले २२ र ओपनर रहमानुलल्ह गुर्बाजले २१ रन बनाए ।

अष्ट्रेलिया जोस हेजलउडले २ तथा मिचेल स्टार्क, ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान एक विकेट लिए ।

सेमिफाइनल पुग्ने एक टोलीको टुङ्गो लाग्न बाँकी

अष्ट्रेलिया सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको छ । यसअघि नै आयोजक भारत र दक्षिण अफ्रिकाले अन्तिम चारमा स्थान पक्का गरिसके ।

१० टोली सहभागी प्रतियोगितामा अब न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानमध्ये एक टिम सेमिफाइनलमा पुग्नेछन् । यी तीनै टोलीको ८ खेलबाट समान ८ अंक छ ।

नेट रनरेटका आधारमा न्युजिल्यान्ड चौथो, पाकिस्तान पाँचौं र अफगानिस्तान छैटौं स्थानमा छ । अब लिग चरणको अन्तिम खेलमा न्युजिल्याण्डले श्रीलंकासँग, पाकिस्तानले इंग्ल्यान्डसँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्नेछन् ।

साविक विजेता इंग्ल्याण्डसहित श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स भने बाहिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?