+
+

अथाह पीडामा बनेको असाधारण दोहोरो शतक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते ८:२०

२२ कात्तिक, मुम्बई । ग्लेन म्याक्सवेल अथाह पीडामा थिए । झन्डै-झन्डै रिटायर्ड हुन लागेका थिए । तर पनि उनले असाधारण दोहोरो शतक बनाए । त्यसमै टिकेर अस्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ मा सेमिफाइनल यात्रा मात्र तय गरेको छैन, म्याक्सवेलको त्यो प्रदर्शनलाई एकदिवसीय क्रिकेटकै अहिलेसम्मकै सर्वकालीन महान इनिङ्स हो भनेर पनि भन्न सुरु भएको छ ।

उनले नटआउट रहेर २०१ रन बनाए । अस्ट्रेलियाले मंगलबार राति अफगानिस्तानविरुद्ध २९२ रनको लक्ष्य सफलतापूर्वक पछ्याउन सक्यो । विश्वकप इतिहासमा यो अहिलेसम्मकै तेस्रो दोहोरो शतक मात्रै हो । अझ लक्ष्य पछ्याउने क्रममा बनाइएको पहिलो दोहोरो शतक ।

म्याक्सवेललाई साँच्चै निकै गाह्रो भइरहेको थियो । एक स्थितिमा त उनी ढलेर लगभग उठ्नै नसक्ने भएका थिए । पछि दौडेर रन लिन त उनी लडखडाइरहेकै थिए । अनि यसबीच म्याक्सवेलले आफ्ना फिजियो निक जोन्सलाई सोधेछन्,
‘खेलिरहने हो कि छाडौं ?’

त्यति बेला उनी १४७ रनमा खेलिरहेका थिए र अस्ट्रेलियालाई जितका लागि अझै ५५ रन आवश्यक थियो । यही बेला म्याक्सवेलले अदम्य साहस र बहादुरी देखाए । अविश्वसनीय रूपमा फेरि ब्याटिङका लागि तयार पनि भए ।

सुरुमै मैदानमा ओर्लिंदा पनि कहाँ सजिलो थियो र ? अस्ट्रेलिया नाटकीय पतनको सिकार बन्दै सात विकेट गुमाएर ९७ रनको असाध्यै खराब स्थितिमा थियो ।

पछि म्याक्सवेलले अस्ट्रेलियाली मिडियासँग कुराकानी गर्दै भने, ‘जे जस्तो भयो, विश्वास गर्न नसकिने नै भयो ।’

उनले थपे, ‘पूरा शरीरमा दुखाइबाहेक अरू केही पनि थिएन ।’

फिजियो जोन्सले उनलाई रिटायर्ड हुनकै लागि सल्लाह दिएका थिए । तर, केही उपचारपछि म्याक्सवेल क्रिजमै फर्कने निर्णयमा पुगे । यी ३५ वर्षीय ब्याटरले अस्ट्रेलियाका लागि यसअघिको खेल पनि गुमाएकै थिए, चोटकै कारण ।

उनले भने, ‘जति बेलासम्म हिंड्न सक्ने शक्ति हुनेछ, त्यति बेलासम्म खेलिरहने निर्णयमा पुगें ।’

उनले आठौं विकेटका लागि आफ्ना कप्तान प्याट कमिन्ससँग २०२ रनको कीर्तिमान साझेदारी पनि गरे । त्यसमा कमिन्सको योगदान थियो, जम्मा १२ रन ।

तिनै कमिन्सले पछि प्रतिक्रिया दिए, ‘यो जत्तिको महान एकदिवसीय इनिङ्स अर्को हुनै सक्दैन । हामी लगातार कुराकानी गरिरहेका थियौं । हामी भन्थ्यौं, आज एक दिन जेसुकै होस्, खेलिरहौं । म्याक्सवेलको यो प्रदर्शनले देखाउँछ, उनी आफ्नो देश अस्ट्रेलियालाई कति धेरै माया गर्छन् ।’

उनी मात्र होइन, अहिले त पूरा विश्व क्रिकेट म्याक्सवेलको प्रशंसामा व्यस्त छ ।

सचिन तेन्दुलकरले एक्समा लेखेका छन्, ‘एकदिवसीय क्रिकेटमा मैले देखेको सबैभन्दा उत्कृष्ट इनिङ्स ।’

यस्तै बेन स्टोक्सले लेखेका छन्, ‘ओहो, मेरा म्याक्सी !’

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?