+
+

‘आदिपुरुष’का लेखक भन्छन्- यो फिल्म लेख्नु गल्ती थियो, अबदेखि होसियार हुन्छु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १४:०४

काठमाडौं । नेपालमा समेत विवादित भारतीय फिल्म ‘आदिपुरुष’का लेखक मनोज मुन्तशिरले ‘आदिपुरुष’ लेख्नु आफ्नो गल्ती भएको स्वीकारेका छन् । उनले खराब संवादको लेखन दोस्रो ठूलो गल्ती भएको बताए । अन्जानमा धार्मिक भावनामा चोट पुर्‍याएकोमा उनले माफी पनि मागेका छन् । अरुजस्तै आफूले पनि गल्ती सच्याउने दोस्रो मौका पाउनुपर्ने उनले बताए ।

रिलिजपछि उनलाई नराम्रो संवादका कारण ज्यान मार्ने धम्की आएको थियो । यही कारण उनी भारत छोडेर केही दिन विदेश गएका थिए । आजतकसँगको कुराकानीमा उनले ‘आदिपुरुष’ लेख्दा शतप्रतिशत गल्ती भएको स्वीकार गरेका हुन् ।

उनले भने, ‘यसमा कुनै शंका छैन । म त्यस्तो असुरक्षित मान्छे पनि होइन कि मैले राम्रो लेखेको छु भनी आफ्नो गल्तीको रक्षा गरुँ । यो मेरो गल्ती हो तर यो गल्तीको पछाडि कुनै नराम्रो नियत थिएन । धर्मलाई चोट पुर्‍याउने मेरो उद्देश्य थिएन । जानाजानी भगवान राम वा हनुमानजीको बदनाम गर्नको लागि गलत कुरा लेखेको छैन ।’

उनले अगाडि भने, ‘मैले यस्तो गर्ने सोच पनि थिइनँ । हो, मैले ठूलो गल्ती गरेको छु । यो घटनाबाट मैले धेरै कुरा सिकेको छु । अबदेखि म धेरै होसियार हुनेछु ।’

फिल्म रिलिजपछि मनोज मुन्तशिरलाई उनको अपमानजनक संवादका कारण धेरै ट्रोल गरिएको थियो । त्यसपछि सञ्चारमाध्यममा आएर उनले ‘मोर्डन एडप्टेसन’लाई ध्यानमा राखेर यस्ता संवाद लेखेको स्पष्ट पारेका थिए । उनले भनेका थिए, ‘यो फिल्मको नाम आदिपुरुष हो, रामायण होइन । हामीले रामायण बनाएका होइनौं । हामी प्रभावित मात्र भएका हौं ।’

यो भनाइले दर्शक थप आक्रोशित भएका थिए । यसबारे प्रष्ट पार्दै उनले अहिले भनेका छन्, ‘जनता रिसाएको बेला यस विषयमा स्पष्टीकरण दिनु हुँदैनथ्यो भन्ने लाग्छ । यो मेरो सबैभन्दा ठूलो गल्ती थियो । त्यतिबेला केही भन्नुपर्दैनथ्यो । यदि मेरो स्पष्टीकरणबाट जनता रिसाएका छन् भने उनीहरुको आक्रोश जायज छ, किनकि त्यो स्पष्ट गर्ने समय थिएन र आज मैले त्यो गल्ती बुझेको छु ।’

फिल्म रिलिज भएपछि ज्यान मार्ने धम्की आउन थालेको मनोजले बताए । उनको सुरक्षालाई लिएर परिवार डराउन थालेका थिए । यही कारण उनी केही समय विदेश गएर बस्दा विवाद अन्त्य हुने सोचे । यसबारे मुन्तशिरले भने, ‘संसारले तिमीलाई राम्रो र भोलि नराम्रो मान्न सक्छ । तर तपाईं आफ्नो परिवारको लागि नायक हुनुहुन्छ ।’

संवाद र कथावस्तुलाई लिएर फिल्म ‘आदिपुरुष’ भारतमा विवादित बनेको थियो । संवादका कारण यो फिल्मलाई नेपालमा भने प्रतिबन्ध लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?