+
+

‘उज्यालो छर्दै जानु है भनेर तिम्रो नाम उज्ज्वल राखेको थिएँ’

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० कात्तिक २७ गते १२:५३

पत्रकारको काम नै हो- हरेक दिन नया–नयाँ इस्यु पछ्याउँदै हिंड्नु । तीमध्ये कति घटना इभेन्ट कभरेजमै सकिन्छन्, कति चाहिं पछिसम्म हृदयमा गड्ने गरी कथा बन्छन् ।

जाजरकोट भूकम्प मेरा लागि यस्तै एउटा कथा थियो, जसका असरहरू पछिसम्मै रहिराख्नेछन् । २०७२ को भूकम्प भोगिसकेको, अझ गोरखा बारपाककै बासिन्दा भएकाले मैले भूकम्पको प्राकृतिक, अनि मानवीय क्षतिलाई नजिकबाट नबुझ्ने कुरै थिएन ।

कात्तिक १७ गते राति ११:४८ मा काठमाडौंसम्मै भूकम्पको धक्का अनुभव भएको थियो । ८ -१० सेकेण्ड नै धक्का महसुस भएपछि कहाँ कति रेक्टर स्केलको भूकम्प गयो होला भन्ने जिज्ञासा बढ्यो । गुगलमा सर्च गरें, पश्चिम नेपाल देखायो ।

बिहानै उठेर समाचार हेरें-जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको रहेछ । अनलाइनमा समाचार पढ्दैथिएँ- जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते । त्यसै बेला न्युजरुमबाट फोन आयो -तुरुन्तै जाजरकोट खटिनलाई ।

छिटो-छिटो नेपालगञ्ज विमानस्थलका लागि तयारी गरें । सहकर्मी गौरव पोखरेल निस्किसकेका थिए ।

नेपालगञ्ज ओर्लेर जाजरकोटको नलगाडसम्म गाडीमा यात्रा गर्दा भूकम्पमा मनै कटक्क खाने दृश्यहरू आँखासामुन्ने देखा परिरहेका थिए । ती दर्दनाक दृश्यहरूलाई मैले आँखाबाट हेरेर मात्रै पुग्दैनथ्यो, क्यामेराले देख्नुपर्थ्यो।

नागरिकहरूले पाएका दुःखलाई लेन्सले स्टोरी मार्फत भन्न सक्नुपर्ने थियो । विपत्तिका बेला जनताले पत्रकारसँग राख्ने अपेक्षा यस्तै हुन्छ -नागरिकले भोगिरहेका वास्तविक अवस्थाबारे छिटोभन्दा छिटो सही सूचना अनि समग्र उद्धार, राहत लगायत व्यवस्थापनमा भइरहेको प्रगति ।

नेटवर्क नचलेर तस्वीर पठाउनै सकिएन । होटलहरूको वाईफाई यसै त कमजोर हुन्छ, त्यो पनि भूकम्पका बेला । एउटा होटलमा जेनतेन बास पायौं । त्यो पनि राति घरीघरी परकम्प आएर मुटु धड्किइरह्यो ।

भोलिपल्ट बिहान नलगाड नगरपालिका ७ चामाखेत पुग्दा टन्नै दाउरा थुपारिएका थिए । घर भत्किंदा एकै परिवारका ५ जनाको मृत्यु भएको बाटोमुनिको घर पूरै भत्केको थियो । घर अगाडि पालभित्र सेतो कपडाले छोपेर राखिएको ३ वटा शव आफन्तले कुरिरहेका थिए । गाउँलेले घाटमा लैजान तयारी गरिरहेका रहेछन् ।

५ जनाको मृत्यु भएकै घरको भग्नावशेषमा गाउँलेले उद्धार गर्न सफल भगवती परियारलाई आफन्तले सात्वना दिइरहेका थिए । भूकम्पमा परेर ज्यान गुमाएका दुई छोरी र नातिको शव अगाडि आँखाभरि आँसु टिलपिलाउँदै टोलाउँदै थिइन्, भगवती ।

भग्नावशेष घरको पश्चिम कुना मात्रै सग्लो थियो । टाढाबाट चामाखेतमा पूर्ण रूपमा भत्केका ५/६ वटा घर बाहेक सबै घर सग्लै देखिन्छ । तर पिल्लर घर बाहेक अरू घरभित्र बस्न नसकिने गरी गाराहरू चर्किएका छन् ।

भगवतीका छोरीहरूलाई बिदाइ गर्न गाउँले सबै उपस्थित भइसकेका थिए । बिदाइ गर्दा सबैका आँखा आँसुले भरिएका थिए ।

नलगाड नगरपालिका-१ चिउरी गाउँ हिंड्यौ जहाँ एकै गाउँका १३ जनाले भूकम्पमा ज्यान गुमाएका थिए । सबै शव भेरी नदी किनारमा ल्याएर सामूहिक दाहसंस्कार गरिएका थिए । भेरी नदी आफ्नै सुरमा बगिरहेको थियो, किनारमा आफन्त गुमाएकाका आँखाबाट आँसु बगिरहेको थियो ।

चिउरी गाउँ त पूरै चकमन्न ! सबै गाउँले भेरी नदीमा सामूहिक दाहसंस्कारका लागि गएकाले गाउँ नै सुनसान थियो । हिंड्न नसक्ने व्यक्तिहरू मात्रै गाउँमा भेटियो । भत्केका घर र खाली बारीले गाउँ नै उराठलाग्दो देखियो । चिउरी गाउँ त्यो गाउँ हो जहाँ घरहरू र मानवीय क्षति धेरै व्यहोर्नु पर्‍यो ।

चिउरी गाउँका घरहरू कुनै भताभुङ्ग भत्किएका थिए भने कुनै घरको नामोनिसान नै थिएन । जमिन चिराचिरा परेको थियो । भेरी नगरपालिका-१ कौलचौरमा एउटै घरमा ६ जनाले ज्यान गुमाएका उदय विकको घरमा म पुगें । बारीमा तोरी फुलिरहेको थियो ।

बारी माथि हरियो रंग लगाएको घर सग्लो नै देखिन्थ्यो । तर घरको माथिको छाना नै थिएन । त्यही छानाले घरको तलामा सुतिरहेका ६ जनाको ज्यान लिएको गाउँलेले सुनाए ।घर एकापट्टि आँगनमा शव राखिएको थियो, जसको छेउमा टुक्रुक्क बसेका थिए, उदय विक ।

उदय वैदेशिक रोजगारका लागि गएका थिए । घटनापछि उनी लगत्तै फर्के । भेरी किनारमा शर्मिला, अञ्जली र उज्ज्वललाई गाड्न खाडल खनिएको थियो । छोरीहरूलाई गाउँलेले खाडलमा राखिसकेका थिए ।

उदयले छोरा उज्ज्वललाई अँगालोमा हालेर भक्कानिंदै भने, ‘भविष्य नै उज्ज्वल बनाउँला भनेर तिम्रो नाम उज्ज्वल राखेको थिएँ, आज मेरो भविष्य नै अन्धकार पारेर गयौ !’

उदय विक, तपाईंका ती वाक्यहरू अझै मेरो कानमा गुञ्जिरहेका छन् । कस्तो मनै विक्षिप्त बनाउने कारुणिक बोली तपाईंको । अब कसैलाई यस्तो दुःख नपरोस् !

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?