+
+

गोलरक्षक किरण चेम्जोङ ऐतिहासिक उपलब्धितर्फ अग्रसर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३० गते ८:५९
कप्तान किरण चेम्जोङ (बायाँ)

३० कात्तिक, काठमाडौं । कोही पनि खेलाडीका लागि आफ्नो देशका लागि खेल्न पाउनु नै ठूलो हुन्छ । किनभने सबै खेलाडी भाग्यमानी हुँदैनन् । तर केही खेलाडी असाध्यै भाग्यमानी पनि हुने गर्छन्, जस्तो किरण जेम्जोङ ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक अहिले एउटा यस्तो ऐतिहासिक उपलब्धितर्फ अग्रसर छन्, जसबारे अरूले कल्पना मात्र गर्न सक्छन् ।

पृष्ठभूमि के भन्दा आज बिहीबार नेपालले एसियाली विश्वकप छनोटको दोस्रो चरणमा यूएईको सामना गर्दैछ । दुबईमा हुने यस खेलमा अरू केही नभए पनि एउटा तथ्य निश्चित छ, किरणले फेरि एकपल्ट नेपाली टिमको पोस्ट सम्हाल्ने छन् ।

यूएईविरुद्ध उत्रने नेपाली टिमका खेलाडी के कस्तो छन् भन्ने प्रश्नको एउटा पाटोका रूपमा यो सबै चर्चा हुन लागेको हो । यूएई गएको नेपाली टिममा २३ खेलाडी छन् । त्यसमध्ये सबैभन्दा बढी अनुभवी र पुराना खेलाडी किरण नै हुन् । उनले अहिलेसम्म नेपालका लागि ९३ ‘क्याप’ जितिसके । उनी नेपालका लागि सबैभन्दा बढी खेल्ने खेलाडी हुन् ।

अब नेपालका लागि उनको सयौं खेल धेरै टाढा छैन । सम्भवतः यही विश्वकप छनोटको सेरोफेरोमा उनले नेपालका लागि एक सय खेल खेलेको ऐतिहासिक उपलब्धि हात पार्नेछन् ।

किरणसँगै नेपाली टिममा तीन गोलरक्षक छन् । त्यसमध्ये दीप कार्कीले तीन ‘क्याप’ जितिसके । यसअघिका विदेशी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एकखाले विवादबीच एसियाकप छनोटमा किरणलाई टिममै बोलाएका थिएनन् । त्यही बेला हो, दीपले मौका पाएको ।

तेस्रो गोलरक्षक अभिषेक बरालले त नेपालका लागि डेब्यु गर्न नै बाँकी छ ।

अन्य खेलाडी कति अनुभवी ?

डिफेन्समा रोहित चन्द अर्का अनुभवी खेलाडी हुन्, उनले ८६ ‘क्याप’ जितिसके । किरणपछि सयौं खेल खेल्ने खेलाडी हुने उनी नै हुन् । उनी किरणपछि नेपाली टिममा आएका थिए । उनलाई छाडेर नेपालको डिफेन्स नयाँ नै छ, एक अर्थमा कम अनुभवी । जस्तो, एरिक विष्टले २२, सनिश श्रेष्ठले १०, आशिष चौधरीले सात, अमित श्रेष्ठले एकै ‘क्याप’ मात्र जितेका छन् ।

डिफेन्सका अञ्जन राई, छिरिङ लामा र योगेश गुरुङ डेब्यु गर्नै बाँकी खेलाडी हुन् । मिडफिल्डमा डेब्यु गर्न बाँकी दुई खेलाडी छन्, कृतिशरत्न छुन्जु र निसान हमाल ।

मिडमा मनीष डाँगी नै सबैभन्दा अनुभवी हुन्, २६ ‘क्याप’ सहित । उनलाई छाडेर लाकेन लिम्बूले आठ, सेसेहाङ हाङदम्बेले ६ र उत्सव राईले दुई ‘क्याप’ जितिसके ।

फरवार्डमध्ये अञ्जन विष्ट सबैभन्दा बढी अनुभवी हुन्, ५९ ‘क्याप’ सँगै । उनको सामु त कीर्तिमान १४ औं गोल गर्ने अवसर छ ।

आयुष घलानले २०, जिलेप्सीजंग कार्की र हिसुबु थपलियाले नेपालका लागि चार/चार पल्ट खेलेका छन् ।

सन्जीव विष्ट र राजेश परियारले नेपालका लागि खेल्ने अवसर पाइसकेका छैनन् । यस्तोमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले दुबईमा कति नयाँ खेलाडीलाई अवसर दिने छन् त ? तथ्याकंमै टिकेर भन्नु पर्दा यी प्रशिक्षकले अहिलेसम्म १२ खेलाडीलाई डेब्युको अवसर दिइसके । तय छ, विश्वकप छनोटका क्रममा उनले अझ धेरै खेलाडीको नेपालका लागि खेल्ने सपना पूरा गरिदिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?