+
+

छठ पूजाका लागि मधेशमा पोखरी सजाइँदै

रासस रासस
२०८० मंसिर २ गते १८:२९
छठपूजाका लागि तयार पारिएको सिरहाको गोलबजारस्थित पोखरी । तस्वीर : रासस

२ मङ्सिर,  वीरगञ्ज (पर्सा) । तराई मधेसका जिल्लामा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठका लागि वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृङ्गारिने काम भइरहेको छ ।

कतिपय पोखरीका घाटहरुमा सरसफाइ गरिएको छ । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको वीरगञ्जस्थित घडिअडर्वा, नगवा, छपकैया, श्रीपुर पोखरी तथा रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको सक्रियतामा सरसफाइ गरी सजाउने काम अन्तिम चरणमा पुगेको छ ।

प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यामा वृद्धि भइरहेकाले छठका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारहरुमा निकै भीड देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठमा आवश्यक पर्ने सामानको मूल्य वृद्धि भएको स्थानीयवासीले बताएका छन् । यो वर्ष भोलि (आइतबार) षष्ठीका दिन विधिपूर्वक साँझको अघ्र्य दिने परम्परा भए पनि यसको मुख्य विधि भने हिजैदेखि निष्ठापूर्वक सुरु भइसकेको छ ।

छठ पर्वको पहिलो दिन हिजो व्रतालुहरुले नहायखाय गरी पर्वको आरम्भ गरेका छन् । छठको दोस्रो दिन आज खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालुहरु दिनभरि उपवास बस्ने पण्डित रामकुमार शास्त्रीले बताए ।

‘बेलुकी पख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र चामलको खीर पकाइन्छ’, उनले भने, ‘यस्तो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतालुले प्रसादका रुपमा ग्रहण गर्दछन् ।’ यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन रहेको शास्त्रीले बताए । उनका अनुसार अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिन व्रतालुहरुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ ।

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा बजार तथा पोखरी, घाटहरुमा भीड लाग्ने गर्छन् । अहिले गाउँगाउँ घरघरमा छठ पर्वको गीत गुञ्जिन थालेका छन् । योसँगै सूर्यषष्टी अर्थात् छठ पर्व प्रारम्भ भएको छ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ ।

ज्योतिष शास्त्रका आधारमा छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलदायीसमेत मानिएको पण्डित शास्त्रीले बताए । छठ पर्वको मुख्य प्रसादका रुपमा रहेको फलफूल, मिठाई, अदुवा, उखुलगायत बाँसबाट बनेका अन्य सामग्रीको किनमेल गरिन्छ ।

छठ पूजाका लागि नगर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए । छठका लागि तयार पारिएका घाटहरुमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उनको भनाइ छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रतालु महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गर्दछन् ।

महाभारतअनुसार द्रोपतीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको उल्लेख गरिएको छ । उक्त समयमा पाण्डवहरु मिथिलाको किरात राजाका राज्यमा बास बसेका थिए । लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सो समयदेखि छठ पर्व मनाउने परम्परा चलिआएको जनविश्वास रहेको पण्डित शास्त्रीले बताए ।

अर्कोतिर सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात् अटलसौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको उनको कथन छ । छठ पर्व मनाउनाको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्वहरु पनि त्यतिकै महत्त्व राख्ने शास्त्रीले बताए ।

‘जसअनुसार सूर्य तत्त्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण ठानिन्छ । भनिन्छ भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रूख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्त्व सबै सूर्यमाथि निर्भर भएको हुन्छ’, उनले भने ।

घडिअडर्वा पोखरीमा छठघाट निर्माण     

छठपर्वका लागि वीरगञ्जस्थित घडिअडर्वा पोखरीलाई दुलही झैँ शृङ्गारिएको छ । छठघाटको व्यवस्थापन र सजावटको काम पूरा भएको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ ।

यो वर्ष घडिअडर्वामा छठ घाटको सजावट र व्यवस्थापनमा गर्न करिब रू १५ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको समितिका अध्यक्ष दिलीप साह कानुले जानकारी दिनुभयो । टेन्टपण्डाल, परिसर बाहिरको बत्ती सजावट, भिडियोग्राफी, पुरस्कार, सरसफाइलगायत काममा खर्च भएको उनको भनाइ छ ।

छठघाटमा व्रतालु, दर्शनार्थी र भक्तजनको सुरक्षा सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी एक सय १० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वयंसेवक परिचालन गरिने अध्यक्ष कानुले बताए । उनका अनुसार छठघाट परिसरमा २० वटा सिसी टिभी क्यामेरा जडान गरिएको छ ।

छठपर्वका अवसरमा रक्तदान    

छठ पर्वका अवसरमा घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिन र असहायहरुमा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ ।

आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था    

छठ पर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न वीरगञ्ज नगरक्षेत्रसहित जिल्लाभरि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार छठघाटमा सुरक्षाका लागि थप प्रहरीसमेत परिचालन गरिने छ ।

छठ व्रतालुहरू पूजा गर्न पोखरी, नदी, तलाउ लगायतका स्थानमा जाँदा चोरी, डकैती, लुटपाट हुनसक्ने भएकाले विशेष क्युआरटी टोली, मोबाइल गस्तीदेखि, स्ट्राइकिङ सहितका प्रहरी टोली परिचालन गरिने प्रहरी उपरीक्षक शाहले बताए ।

छिटो प्रतिक्रिया (फास्ट रिस्पोन्स)का लागि क्युआरटी अर्थात् ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिने र कुनै पनि घटना भएलगत्तै वीरगञ्ज महानगरमा पाँच मिनेटभित्र क्युआरटी टोली पुग्ने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?