+
+

च्याट जीपीटी निर्माता किन भए बर्खास्त ? को हुन् ३४ वर्षीया नयाँ सीईओ ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १५:३१
बर्खास्त गरिएका सीईओ साम अल्म्यान र कम्पनीका अध्यक्ष ग्रेग ब्रोकम्यान ।

आर्टिफिसियल इन्टेलिजन्स च्याटबटको रुपमा रहेको अत्यन्तै लोकप्रिय च्याट जीपीटी निर्माता कम्पनी ओपन एआई यो वर्षको सुरुआतदेखि नै चर्चामा छ ।

कम्पनीले गत वर्ष नोभेम्बरमा आफ्नो जेनेरेटिभ एआई च्याटबटको रुपमा च्याट जीपीटीको सुरुआत गरेको थियो । मात्र एक महिनामा यो एआई च्याटबटका प्रयोगकर्ताको संख्या लाखौं पुग्यो । केही महिनामै च्याट जीपीटीको चर्चा विश्वभर हुन थाल्यो । ठाउँठाउँमा यसको पक्ष विपक्षमा बहस हुन थाल्यो ।

च्याट जीपीटीजस्ता एआई च्याटबटले धेरै मानिसहरुको रोजगारी खाइदिने अनुमानसमेत कतिपय मानिसहरुले गरेका थिए । तर, अनुमान गरिएजस्तो एआई च्याटबटले विश्व रोजगार बजारमा दखल पुर्‍याएको छैन र उल्टै मानिसहरुको कार्यसम्पादनमा सघाउ नै पुर्‍याइरहेको छ ।

गत वर्ष नोभेम्बरमा आफ्नो च्याटबटको सुरुआतका लागि चर्चामा रहेको ओपन एआई कम्पनी अहिले कम्पनीका दुईजना संस्थापक सदस्यको बर्खास्तगीका कारण चर्चामा छ ।

ओपन एआईको बोर्डले कम्पनीका सीईओ साम अल्म्यानलाई पदबाट बर्खास्त गरेको छ । एक विज्ञप्तिमा कम्पनीले सीईओ साम अल्टम्यान आफ्नो कुराकानीका विषयमा प्रष्ट नभएको र त्यसबाट बोर्डले समस्याको सामना गर्नु परिरहेको भन्दै बोर्डलाई अल्टम्यानको क्षमतामा विश्वास नरहेकाले त्यस्तो निर्णय गरिएको जनाएको छ ।

कम्पनीको उक्त विज्ञप्ति पश्चात् सीईओ साम अल्टम्यानले सोसल मिडिया प्लाटर्फम एक्समा एउटा पोस्ट गरेका छन् । जसमा उनले लेखेका छन्, ‘ओपन एआईमा बिताएको समय मैले धेरै मन पराएँ । यो मेरो लागि तथा सायद दुनियाँकै लागि परिवर्तनकारी रहेको छ । यस्ता प्रतिभाशाली मानिसहरुसँगै काम गर्न मलाई निकै मन पर्छ ।’

साम अल्टम्यानलाई ओपन एआई कम्पनीको बोर्डले सीईओ पदबाट हटाएको केही घण्टापछि नै कम्पनीका अध्यक्ष ग्रेग ब्रोकम्यानले पनि पदबाट राजीनामा दिए । उनलाई पनि बोर्डले अध्यक्ष पदबाट हटाउने निर्णय गरेको थियो । सोसल मिडिया प्लाटर्फम एक्समार्फत् त्यसको जानकारी दिंदै उनले लेखेका छन्, ‘बोर्डले आज जे गर्यो त्यसबाट म र साम दुवै स्तब्ध तथा दु:खी छौं ।’

साथै उनले ओपन एआईमा आफुसँगै काम गरेका सबै व्यक्तिलाई धन्यवाद दिएका छन् ।

आफ्ना सहकर्मी, ग्राहक र लगानीकर्ताका साथै आफूसँग जोडिएका सबै मानिसलाई धन्यवाद दिंदै उनले लेखेका छन्, ‘हामी पनि यो बुझ्ने कोसिस गरिरहेका छौं कि वास्तवमा भएको के हो ।’

ग्रेगका अनुसार गत बिहीबार सामलाई इल्याको टेक्स्ट मेसेज आयो र शुक्रबार मध्याह्न कुरा गर्न भनियो । शुक्रबार साम गुगल मिटमा जोडिए जहाँ कम्पनीको बोर्डका सबै सदस्य थिए तर ग्रेग थिएनन्। इल्याले सामलाई जागिरबाट निकालिएको बताइन् र छिटै नै यो खबर सबैतिर फर्कियो ।

योसँगै उनले ८ वर्षअघि एउटा कोठाबाट सुरु भएको ओपन एआई कम्पनीको कथा पनि शेयर गर्दै भनेका छन्, ‘हामी उत्तम तथा कठिन समयमा पनि सँगै रह्यौं । तमाम कारणहरुपछि यतिधेरै हासिल गर्यौं । तर आज यो खबरपछि मैले राजीनामा दिएको छु।’

हुनत कुनै कम्पनीले आफ्ना संस्थापक सदस्यहरुलाई हटाएको पहिलो घटना भने होइन । यसअघि ह्वाट्सएप, ट्वीटर तथा एप्पललगायतका कम्पनीका कतिपय संस्थापकहरुले यो नियति भोगिसकेका छन् । फेसबुकले खरिद गरेसँगै ह्वाट्सएपका सह सस्थापक ब्रेन एक्सन पनि कम्पनीबाट अलग भएका थिए ।

को हुन् नयाँ सीईओ मिरा मुराती ?

कौन हैं OpenAI की अंतरिम CEO मीरा मूर्ति? (फोटो- AP)

साम अल्टम्यानलाई पदबाट हटाएसँगै ओपन एआई कम्पनीले मिरा मुरातीलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । मिरा पहिलेदेखि नै कम्पनीमा प्रमुख प्राविधिक अधिकृतको रुपमा रहेकी छिन् । ओपन एआईको बोर्डले मिरा उक्त पदका लागि अद्वितीय तरिकाले योग्य रहेको बताएको छ । अब कम्पनीले एकजना पूर्णकालीन सीईओको खोजी गर्नेछ ।

अन्तरिम सीईओको रुपमा नियुक्त भएकी मिरा मुरातीको जन्म सन् १९८८ मा अल्बानियामा भएको हो। ३४ वर्षकी मुरातीले मेकानिकल इन्जिनियरिङ गरेकी छिन् । न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार डर्टमाउथ कलेजमा स्नातक अध्ययन गर्दै गर्दा नै उनले एउटा हाइब्रिड रेसिङ कार बनाएकी थिइन् । उनले गोल्डम्यान साश कम्पनीमा इन्टर्नको रुपमा करिअरको सुरुवात गरेकी थिइन् । पछि उनी जोडियाक एरोस्पेस कम्पनीमा काम गर्न थालिन् ।

सन् २०१८ मा ओपन एआई कम्पनीमा प्रवेश गरेकी मिराले त्यसअिघ टेस्ला कम्पनीमा मोडेल एक्स कारको विकासमा महत्वपूर्ण भूमिका खेलिन् । त्यसका अलावा लिप मोसन नामक स्टार्टअपमा पनि उनले काम गरेकी छिन् । उक्त कम्पनीले हात तथा औंलाको चाललाई ट्रयाक गर्ने कम्प्युटिंग सिस्टम तयार गरेको छ । मिरालाई गत वर्ष मात्रै ओपन एआई कम्पनीले प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी दिएको थियो ।

ब्लुम्बर्गका अनुसार मुरातीले आफू कम्पनीमा नेतृत्वको भूमिकाका विषयमा सम्मानित र विनम्र रहेको बताएकी छिन् । एक मेमोमा उनले लेखेकी छिन्, ‘हामी एउटा महत्वपूर्ण विन्दुमा छौं जहाँ हाम्रा टुलहरुलाई व्यापक रुपमा प्रयोग गरिंदैछ । डेभलपरहरुले हाम्रो प्लाटर्फममा लगातार काम गरिरहेका छन् र नीति निर्माताहरु यो प्रणालीलाई नियमन गर्ने सर्वोत्कृट तरिकाहरुको बारेमा मन्थन गरिरहेका छन् ।’

अन्तरिम सीईओ नियुक्त भएसँगै शुक्रबार भएको कम्पनीको एक बैठकमा मिराले ओपन एआईले लिएको दिशाप्रति माइक्रोसफ्टका सीईओ सत्य नाडेला र प्रमुख प्राविधिक अधिकृत केभिन स्टकलाई पूर्ण विश्वास रहेको बताइन् ।

स्मरण रहोस् एआई अनुसन्धान तथा विकास कम्पनी ओपन एआईको स्थापना सन् २०१५ मा साम अल्टम्यान र ग्रेग ब्रोकम्यानले गरेका थिए । त्यसबेला एलन मस्कसमेत कम्पनीको टिमका सदस्य थिए। यद्यपि सन् २०१८ मा एलन मस्क आफैं उक्त कम्पनीबाट छुटि्टए । सन् २०१९ मा ओपन एआईलाई एक गैरनाफामूलक संस्थाको रुपमा स्थापना गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?