+
+
नियात्रा :

लण्डन फिल्म फेस्टिभलमा देखेको व्यावसायिकताको उच्च उदाहरण

भरत रेग्मी भरत रेग्मी
२०८० मंसिर ६ गते १३:२३

मध्य लण्डन भएर बग्ने थेम्स नदीमाथिको चौडा पुल वाटरलुको दक्षिणी भागमा रहेको साउथ ब्यांक पुग्दा लगभग दुई बजेको थियो । बीएफआई लण्डन फिल्म फेस्टिभल-२०२३ को आयोजना स्थल साउथ ब्यांक सेन्टरभित्रको ठूलो लबी अनि सबैतिर काउन्टर र चहलपहलबीच म अलमलिएको थिएँ ।

तल र माथि गर्दै गर्दा घाँटीमा कार्ड झुण्डाएर बसेकी एक महिलालाई मैले सोधें, ‘कृपया, डेलिगेट डेस्क बताइदिनुस् न ।’ उनले एकै सासमा भनिन्, ‘अवश्य, तपाईंको फिल्म कुन हो ?’

इमेलमा लेखिएअनुसार डेस्कमा सम्पर्क राख्नु भन्ने थियो, जसअनुसार म सीधै त्यहाँ पुगें । उडानको थकान त थियो तर त्यो भन्दा बढी महोत्सवमा सहभागी हुने उत्साह थियो । डेस्कमा पुग्दा मैले थाहा पाएँ, फेस्टिभलमा आउने म नै अन्तिम रहेछु । किनभने १५ दिन चल्ने फेस्टिभलमा, म चौथो दिनमा पुगेको थिए ।

फेस्टिभलका सात हलमा ‘पब्लिक स्क्रिनिङ’ हुने रहेछ । व्यfवसायिक फिल्ममेकरलाई एक माइल परको पिक्चरहाउस सेन्टरमा स्क्रिनिङको व्यवस्था गरिएको रहेछ । पिकाडेली सर्कस चोकदेखि नजिकै रहेको पिक्चरहाउस सेन्टर पुग्दा भवन वरपर चहलपहल थियो । राजा बस्ने क्यासलजस्तै देखिने आर्किटेक्टमा बनाइएको उक्त भवनभित्र आधुनिक डिजाइन देखिए ।

सो भवनभित्र पनि सातवटा स्क्रिन हल छ रे भन्ने सुन्दा म अचम्मित भए । लबीमा धेरै काउन्टर थिए, जहाँ भोलेन्टियर्स निकै व्यस्त देखिन्थे । आजको लागि अन्तिम स्क्रिनिङको समय भएको जानकारी गराइयो । मेरो हल नम्बर एक परेको रहेछ, जहाँ चिलीका निर्देशक फिलाइप ग्याल्भेज ह्यबर्लको ‘द सेटलर्स’ फिल्म स्क्रिनिङ हुँदै थियो । ग्याल्भेज फिल्म निर्देशक, स्क्रिप्ट राइटर र एडिटर रहेछन् । उनको डेब्यु फिल्म रहेछ त्यो, जुन यस वर्ष कान्स फिल्म फेस्टिभलका प्रिमियर भएको रहेछ । साथै चिलीको तर्फबाट सन् २०२४ मा ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस भएको रहेछ ।

 

पहिलो दिनमै राम्रो फिल्म हेर्न पाउँदा म दंग थिएँ । त्यो भन्दा बढी त्यो एडिटरलाई हेर्न उत्सुक थिएँ जसले डेब्यु फिल्मबाटै कान्समा अवार्ड जितेका थिए । उनले अहिलेसम्म सात फिचर फिल्म र चार सर्ट फिल्म सम्पादन गरेका रहेछन् । तर उनको आफ्नो डेब्यु फिल्मलाई आफैंले सम्पादन गरेका रहेनछन् ।

जब म हलमा पसें । हल भरिभराउ थियो । म आफ्नो कुर्सीमा गएर बस्दा फेस्टिभलको प्रोमो बजिरहेको थियो भने पर्दा र ध्वनिको गुणस्तर महसुस गरिरहेको थिएँ । सन् १८९३ को स्टोरी, चिलीका आर्मी क्याप्टेन र अमेरिकन सोल्जरबीच भाडामा लिएको जमिनको दाबी र त्यसले लिएको हिंसात्मक रुप, फिल्मको मुख्य कथावस्तु थियो ।

फिल्म हेरिसक्नासाथ हलभित्रको हलका उज्यालोमा मेरो दायाँतिर बस्ने (हेर्दा अमेरिकीजस्तो देखिन्थ्यो)ले भन्यो, ‘हेल्लो, कस्तो लाग्यो फिल्म ?’

मैले भनें, ‘एस गुड । नाइस स्टोरी टेलिङ ।’

मैले उनलाई कहाँबाट आएको भनेर सोधें । उनी क्यानडाबाट आएका रहेछन् । उसले ‘नेप्वाल’ भनेर सुनेछ । मैले भने ‘नो, इट्स नेपाल । यु डन्ट नो नेपाल ? माउन्ट एभरेस्ट ।’ उसले सगरमाथा भनेर सुनेको बतायो ।

मलाई ऊसँग गफ गर्न र फिल्मबारेमा भनेको कुरा सुन्न मन लाग्यो । उनीहरु त्यस्तै शैलीको कथावाचन हेरेर हुर्केका छन्, जसरी भारतीय शैली हेरेर हामी हुर्कियौं । उनीहरु त्यो समाज अनि तिनका भाष्यलाई बुझ्दछन् । उनीहरुले यस्तो शैलीको कथावाचनलाई कसरी लिन्छन् र प्रतिक्रिया जनाउँछन् भन्नेबारे बुझ्ने मौका पाएँ ।

त्यसपछि त्यो फिल्मको अन्तर्राष्ट्रिय को–प्रोडक्सन सत्र सुरु भयो । रेड कार्पेट, वर्ल्ड प्रिमियर र रोयल फेस्टिभलमा फिल्म हेर्ने रहर मनमा खेलाउँदै उक्त सेसनमा सहभागी भएँ ।

उत्तर र दक्षिण अमेरिकाबाट आएका डेलिगेट छलफलमा सहभागी थिए । धेरैले त्यो कथा पढेका रहेछन् । फिल्ममा भएको ट्वीस्ट सायद अलि बढी फिल्मी लागेछ क्यारे, केही त्यसकै गफमा केन्द्रित रहे । उनले एडिट गरेका फिल्ममध्ये कुनै एउटा श्यामश्वेतमा बनेको रहेछ । एक सहभागीले सोधे, ‘तपाईंले यो फिल्म किन ब्ल्याक एण्ड ह्वाइटमा बनाउनुभएन ?’ निर्देशकले हाँसेर जवाफ दिए, ‘उनी वास्तवमै फिल्ममेकर हुन् । सायद म भइसकेको छैन ।’ हलमा हाँसो गुन्जियो ।

नेपालबाट लण्डन आउँदा फरक स्टोरी टेलिङ हेर्न पाउँछु । त्यसबाट मेरो कथावाचन गर्ने खुबीलाई फराकिलो बनाउन सक्छु भन्ने लाग्यो । अवश्य पनि त्यसको अनुभूति गर्दै थिएँ । अझ कथा वाचकले विषयलाई कसरी प्रस्तुत गर्छन्, त्यो देख्न र सुन्न पाएको थिएँ । मलाई एउटा छुट्टै संसारमा आएजस्तो लाग्यो । आहा ! कस्तो माहोल जहाँ कथाका कुरा हुन्छन्, मेकिङका कुरा हुन्छन्, एउटा विषयलाई मजाले विश्लेषण गर्छन् । अवार्ड पाउँछु वा पाउनुपर्छ भन्ने सोच पनि कसैमा छैन । व्यावसायिकताको उच्च उदाहरण पाएको थिएँ । म भोको छु । म स्टोरीटेलिङको भोको छु, मलाई अघाउन मन छ । त्यो संगत, त्यो सोच अनि विचार समूहको छेउमा पुग्न पाएको छु ।

एक साँझको कार्यक्रममा स्पेनी निर्देशक ज्वेन क्यमबोर्डासँग कुरा गरें । उनले आफ्नो फिल्म शरणार्थीको मुद्दामा आधारित रहेको बताए । एउटै फिल्ममा फरक एडिटर, त्यो पनि फरक देशको एडिटरसँग समन्वय कसरी मिल्यो होला भन्ने मनमा लागेको थियो । भिन्न देशको फिलम् सम्पादकसँग काम गर्न किन जरुरी पर्‍यो अनि गुणस्तर कसरी कायम गर्नुहुन्छ भनेर मैले सोधें । निर्देशकले जवाफ दिइन्, ‘हामीले प्रि–प्रोडक्सनमै सबै सहायक कथाको लम्बाइ, क्यामेराको एंगल, पटकथालाई फाइनल गरेका थियौं । प्रकाश र रङ संयोजन पनि फाइनल गर्‍यौं । प्रमुख कलाकार एउटै भए पनि फरक समाज र भाषामा काम हुने भएकाले झन् काम गर्न सजिलो बनायो ।’

एन्थोनी हप्किन्सको निकै चर्चा थियो । उनको फिल्म ‘वन लाइफ’को वर्ल्ड प्रिमियर हुँदै थियो । पिक्चरहाउसको प्रवेशद्वारमा भेटिएका सिमन लोर्ड र म एकछिन कफी पिउँदै गफ गर्‍यौं । उत्तरी लण्डनमा जन्मेर पेरिसमा हुर्किएका उनी अहिले लण्डनमा बसेर तीन फिचर फिल्मका लेखक रहेछन् । एन्थोनी हप्किन्स बेलायतका चर्चित अभिनेता, निर्देशक तथा निर्माता हुन् भन्ने सिमनबाट थाहा पाएँ । ८५ वर्षका उनी फिल्म र स्टेज प्रस्तुतिका लागि चर्चित रहेछन् ।

एन्थोनी हप्किन्सको एक्टिङ गज्जब रहेछ । ८५ वर्षको उमेरमा पनि उमेरले केही असर पारेको देखिएन । निकोलस विन्टन जसका बारेमा यो फिल्म बनाइएको थियो । उनी जीवित रहेछन् । फिल्म प्रदर्शनपछि उनको परिचय गराइयो । अचम्को कुरा त के भने त्यतिबेला उद्धार गरिएका मान्छेलाई पनि त्यहाँ उपस्थित गराइएको थियो । तर फिल्म भने अन्ततिर अलि फ्ल्याट भएर सकिन्छ ।

ली ग्लोब, डेनमार्ककी डकुमेन्ट्री फिल्म मेकर हुन्, जसलाई मैले पहिलो दिन भेटेको थिएँ । उनीसँग एक साँझ नेटवर्किङ प्रोगाममा भेट भयो । उनी डकुमेन्ट्री फिल्ममेकर तथा क्यामरा पर्सन हुन् । उनको फिल्म ‘अपोलोनिया’ अनलाइन एक्सिसमा हेरिसकेको भए पनि त्यहाँ हल स्क्रिनमा पनि हेरें । अन्तिम दिनको साँझमा मेरो बोल्ने पालो आयो । तीन मिनेटमा बोलेर सकें । ‘नेपाली फिल्म निर्माता पहिचान बनाउन निरन्तर लागि रहेछन् । त्यसमा केही सफल भएर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेका छन् । नेपाली फिल्म नुमाफुङ, कालो पोथी, सेतो घाम, मुकुन्डोजस्ता फिल्म अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएका छन् । अर्को वर्ष मैले पनि बीएफआईमा फिल्म ल्याउँछु भनेको थिएँ ।’

अन्तिम स्क्रिनिङपछि समापन समारोह सुरु भयो । जुरीको टोलीमा मेक्सिकन निर्देशक तथा पटकथा लेखक अमत ईस्कालन्टी, बेलायती निर्देशक र लेखक रैनी अल्लेन मिल्लर, बेलायती डकुमेन्ट्री निर्देशक रुबिका शाह र फिल्म निर्देशक चार्लोट रेगन थिए । जापानिज फिल्म ‘एभिल डज नट एक्जिट’ले उत्कृष्ट फिल्मको अवार्ड जित्यो । जापानी निर्देशक तथा पटकथा लेखक रायुएसकी हामागुचीको फिल्म राम्रो थियो । हामागुची ओस्कार तथा एकेडमी अवार्ड जितेका निर्देशक हुन् । अवार्ड वितरण हुँदा हलमा तालीको गड्गडाहट लामो समय बजिरह्यो । गड्गडाहटको आवाजसँग मेरो १२ दिनको रोमाञ्चक यात्रा अन्त्य हुँदै थियो । मन रोमाञ्चक थियो । मेरो करिअरको २२-२३ वर्षका ती हरेक पल याद आइरहेको थियो । लाग्यो मेरो करिअरमा मैले देखेको सपनाको मध्यान्तर भएको छ ।

(लेखक दृश्य सम्पादक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?