News Summary
Generated by OK AI. Editorially reviewed.- क्रिकेट रंगशाला सुरु गर्नुअघि कुञ्जनाले भनेकी थिइन्, ‘यो हामीले गर्न सक्ने काम होइन।
- बस्ती बनाए जस्तो सजिलो छैन।
- अब कलाकारितामा फर्कौं।
यो अलि अगाडिको कुरा हो, जतिबेला सिंहदरबार सग्लो थियो । तर, धुर्मुस अर्थात सीताराम कट्टेलको जिन्दगानी सग्लो थिएन । ऊ आफ्नो इमानको बहिखाता बोकेर दिनदिनै सिंहदरबार धाउथे । जीवन नै बन्धकी बनेको हिसाब छिनोफानो गरिदिन बिन्ती गर्थे ।
आज गयो, ‘भोलि आउनू’ भन्छ । भोलि गयो, ‘कागजात पुगेन’ भन्छ । पर्सि गयो, ‘फेरि अडिट रिपोर्ट बनाउनू’ भन्छ । निकोर्सि गयो, ‘अब काम हुन्छ’ भन्छ । कानेकोर्सि गयो, ‘यो काम यहाँबाट हुँदैन’ भन्छ ।
यो उपक्रम एक दिन, दुई दिन होइन वर्षौं चलिरह्यो । यसरी चलिरह्यो कि, धुर्मुसको नौनाडी फतक्कै गल्यो । अन्ततः उनलाई मृत्यु भन्दा आफूले बाँचिरहेको जीवन कठोर लाग्न थाल्यो । एकदिन उनी सिंहदरबार पुगेर मन्त्रीको अघिल्तिर उभिए । अनि जंगिएर भने, ‘मलाई यही सिंहदरबारभित्र मर्न दिनुहोस् ।’
त्यसअघि उनले रवि लामिछानेलाई भेटेका थिए, जो तत्कालीन गृहमन्त्री थिए । उनलाई लागेको थियो, ‘मैले जे गरें, जसरी गरें, जहाँसम्म गरें त्यो सबै रवि लामिछानेलाई राम्ररी थाहा छ ।’ रवि लामिछाने सामुन्ने धुर्मुसले आफ्नो दुःख बिसाए । आफ्नो हैरानीको बेलिबिस्तार लगाए । अनि भने, ‘न मैले सफाइ पाउँछु, न ममाथि कारबाही हुन्छ । यदि म अपराधी हुँ, भ्रष्टचारी हुँ भने किन मलाई हतकडी लगाउनुहुन्न ?’
तर, न उनले आफ्नो प्रश्नको उत्तर पाए । न अल्झिएको हिसाबको छिनोफानो । न ‘गल्ती भए सजाय दिनू’ भन्दा त्यो पाए । न ‘म निर्दोष भए छुटकारा दिनू’ भन्दा मुक्ति पाए ।
उनी न यताको भए, न उताको भए । जिन्दगी नै कस्तो–कस्तो हुन थाल्यो । व्यक्तिगत कामकुरो मिलाउँ भन्दा पनि नपाउने । कलाकारिताको लय समातौं भन्दा पनि नपाउने । यो जिन्दगी त ठ्याक्कै त्यस्तै भइदियो, जस्तो कि उनले आफ्नो परिचित पात्र धुर्मुस बनेर भन्ने गर्थे, ‘म त मर्छु कि क्या हो ?’

अरूलाई हँसाउदा-हँसाउदै आफैं हास्न बिर्सिएछन्
हनुमाने हाप पाइन्ट, बेढंगको टोपी, थोत्रो सर्ट, रङ उडेको हाफ ज्याकेट । यही हुलियामा उनले उत्तेजित हुँदै यति बोलिदिन्थे, ‘म त मर्छु कि क्या हो ?’
मान्छेहरू खित्का छाडेर हाँस्थे ।
कुनै लेखाजोखा छैन, उनले कतिलाई हँसाए ? कतिले हाँसेरै आफ्नो पीडा भुले, कतिले हाँसेरै आफ्नो दुःख जिते । तर, दुनियाँलाई हँसाउदा-हँसाउदै उनी स्वयम्ले भने हाँस्नै बिर्सिएछन् । उमंगले नहाँसेको, स्वादले नखाएको, चैनले नसुतेका दिनहरू थुप्रै भएछन् ।
रातमा आँखाको ढकनी बन्द गर्न ‘निद्राको चक्की’ खानुपर्ने भएछ । मान्छेको अघिल्तिर निस्किएर हिँड्नै नहुने भएछ । टिकटक, फेसबुकतिर देखा पर्नै नहुने भएछ ।
जता गयो उतै अपमानको झटारोले लखेट्न थालेछ । आखिर उनी आफैंसँग हार्न थाले । एकदिन धुर्मुसले सार्वजनिक रुपमा आफ्नो दुःख बिसाए, ‘मेरो आँसुको हिसाब–किताब छैन । यदि हुँदो हो त त्यो आँसुको स्विमिङ पुल बनिसक्थ्यो ।’
मान्छेहरूले उनको आँसुको भाषा बुझेनन् । बरू बेपर्वाहसँग भनिदिए, ‘धुमुर्सेले स्विमिङ पुलसहितको घर बनायो । हाम्रो पैसाले।’
काठमाडौंमा बल्लतल्ल ठड्याएको सानो घर थियो, धुर्मुस–सुन्तलीको । कलाकारिता गरेर जोडेको त्यही घर दाउमा राखेर उनीहरूले काभ्रेको पहरी बस्ती उठाएका थिए । यो २०७२ सालको कुरा हो ।
वैशाख १२ गते मध्यान्ह ११:५६ बजे विनाशकारी भूकम्प गयो । भूकम्पले अनगिन्ती बस्ती सोत्तर बनाइदियो । त्यसैमध्येको एक थियो, काभ्रेको पहरी बस्ती ।

०००००
पहरी जातिको थातबास उजाड भएको थियो । घरहरू कुनै सद्दे थिएनन् । राहत बाढ्न पुगेका धुर्मुस सुन्तलीले पहरी बस्तीको बिजोग देखे । अनि आपसमा सल्लाह गरे, ‘यस ठाउँमा पहिलेकै जस्तो बस्ती बनाइदिए के होला ?’
उनीहरूले देश–विदेशमा रहेका नेपालीलाई सहयोगका लागि हारगुहार गरे । पैसा हुनेले पैसा दिए, नहुनेले पसिना । बस्ती निर्माणमा सघाउन सर्वसाधरणदेखि कलाकारसम्म भेला भए । डेढ महिनाभित्र त्यहाँ रहरलाग्दा घरसहितको बस्ती मात्र बनेन, आपसी सहयोगको एक अभूतपूर्व माहौल बन्यो ।
वर्षायामको बेला थियो । बस्ती बनाइरहँदा झरी पर्यो भने काम रोकिन्थ्यो । र, काम रोकिँदा अनावश्यक खर्च बढ्थ्यो । एक रात पालमुनि बसिरहेका धुर्मुस–सुन्तलीले सल्लाह गरे, ‘हामीले गरिरहेको काम पूरा भएन भने के गर्ने होला ? हामी पछि सर्यौं भने राम्रो हुँदैन ।’
त्यही रात कुञ्जनाले भनिन्, ‘हामीले कलाकारिता गरेर कमाएकोफ त्यही एउटा घर छ, घर बेचेर आवश्यक खर्च जुटाउँला नि ।’
तर, घर बेच्नु परेन । सबैको एकमुष्ठ साथले एकाएक तयार भयो, नमुना बस्ती पहरी । एक परिवार, एक घर, एक चर्पी, एक धारा । बाटो, बिजुली एकै ठाउँ । हेर्दै रहरलाग्दो । भूकम्पले भग्नावशेष बनाएको यो बस्ती रमितेहरूको गन्तव्य बन्यो ।
त्यसपछि उनीहरूले सिन्धुपाल्चोकको गिरानचौरमा उसैगरी नमुना बस्ती बनाइदिए । सो बस्ती निर्माणका लागि पाँच करोड रुपैयाँको आह्वान गरेका थिए । कति वटा घर बन्छ, कसरी बन्छ, के-के बन्छ इत्यादि फेसबुकमा अपडेट हुन्थ्यो । कति पैसा आयो, कति आउन बाँकी ? सबै हिसाबकिताब फेसबुकमै राखिन्थ्यो ।
निर्माण सम्पन्न भइसक्दा ५ करोड १४ लाख रुपैयाँ खर्च भयो । पैसा पुग्यो भन्दाभन्दै पनि बैंक खातामा पैसा पठाउनेहरू रोकिएनन् । सबै खर्च तिरेर समेत बाँकी रह्यो, १ करोड १७ लाख ।
सोही पैसाले उनीहरूले महोत्तरीमा मुसहर बस्ती बनाउने भए । बस्तीका लागि पाँच करोड बढी खर्च भयो । बस्ती निर्माण सकाएर हस्तान्तरण गर्न एक हप्ता बाँकी छँदा ९० लाख अपुग थियो । ठीक त्यहीबेला अमेरिकाबाट एउटा टोली आइपुगे ।
तिनीहरूले विपदपछि निर्माणका लागि भनेर २ करोड १० लाख रुपैयाँ जम्मा गरेका रहेछन् । सो पैसा धुर्मुस–सुन्तलीमार्फत काममा लगाउने उनीहरूको मनसाय थियो । धुर्मुसले भने, ‘अहिले हामीलाई चाहिएको जम्मा ९० लाख हो । यति काम फत्ते गरिसकेपछि फेरि हामी कलाकारितामा फर्कनुछ । घर परिवारलाई समय दिनुछ ।’तर, अमेरिकाबाट आएको टोलीले मानेनन् ।
उनीहरूले सबै पैसा लिएर थप काम गर्न ढिपी गरे । फेरि पैसा बाँकी रह्यो । त्यो पैसा के गर्ने ? कसरी काममा लगाउने ? ठ्याक्कै योजना बनेकै थिएन । त्यहीबेला भिषण पानी पर्यो । पहाडमा पहिरो गयो, तराई डुबानमा पर्यो ।
०००००
धुर्मुस आफ्नै कार्यलयमा विश्राम गरिरहेका थिए, ज्वरो आएर । गेट अघिल्तिर मिनी ट्रक आएर रोकियो । ट्रकबाट केही मान्छे आएर भने, ‘धुर्मुस कता छ ? यो राहतको सामान तराईमा लानुपर्यो ।’
आखिर उनले ‘हुन्न’ भन्न सकेनन्, ‘बिरामी छु’ भन्न पाएनन् । राहत लिएर तराई गए । राहत बाँडे, उद्धारमा खटिए । अब फेरि धुर्मुस–सुन्तली फाउन्डेसनको खातामा पैसा आउन थाल्यो, ‘राहत बाँड्नू भन्दै ।’

धुर्मुस-सुन्तलीले सल्लाह गरे, ‘अब अन्तिममा एउटा बस्ती बनाऔं, बाढी प्रभावितमध्ये कुनै एक क्षेत्रमा । त्यसपछि यो काम पूर्णबिराम लगाएर आफ्नो जीवनतर्फ फर्कौं । कलाकारिता र घर परिवारलाई समय दिऔं ।’
उनीहरूले रौतहटको सन्तपुरमा फेरि एकीकृत बस्ती बनाइदिए । बस्ती निर्माण सम्पन्न गरिसक्दा ७० लाख रुपैयाँ अपुग थियो । बस्ती हस्तान्तरण गरेर काठमाडौं फर्किँदा ७० लाख बढी पैसा जम्मा भइसकेको थियो ।
‘सामाजिक कामबाट अब विश्राम लिन्छु’ भनेका धुर्मुस-सुन्तलीले फेरि खुट्टा तन्काएर आरामले बस्न पाएनन् । खातामा पैसा आउने क्रम यथावत थियो । उनीहरूले एउटा महत्वकांक्षी योजना बनाए, नमूना नेपाल ।
समग्र नेपाललाई एकै ठाउँ समेटेर पर्यटकीय गन्तव्य बनाउने प्रारम्भिक काम अगाडि बढ्यो । यो काम सरकारसँगको सहकार्यमा सम्पन्न गर्ने भनिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा परियोजनाको खाका पेश गरियो । तर, यो काम खासै अघि बढेन ।
०००००
यतिबेला नेपालमा क्रिकेटको माहौल उत्कर्षमा थियो । भर्खरै मात्र नेपाली क्रिकेटले एकदिवसीय मान्यता प्राप्त गरेको थियो । विडम्बना चाहिँ के भने, नेपालमा एउटै गतिलो क्रिकेट रंगशाला थिएन ।
धेरै ठाउँ नमूना बस्ती बनाएर वाहीवाही कमाएका धुर्मुस-सुन्तलीले अब क्रिकेट रंगशाला बनाउनुपर्ने आवाज देश-विदेशबाट उठ्न थाल्यो । उनीहरूले पनि यसलाई राष्ट्रको गोरव बढाउन योगदान गर्ने एक अवसरका रूपमा लिए । र, क्रिकेट रंगशाला बनाउने योजनामा अघि बढे ।
निर्माण कार्यको अनुभव, लोकप्रियता र जनविश्वास उनीहरूसँगै थियो । सरकारले चितवनमा जग्गा पनि उपलब्ध गराउने भयो । साढे तीन अर्ब लागत अनुमान गरिएको अन्तर्राष्ट्रिय स्तरको रंगाशाला बनाउन उनीहरूलाई अगाडि सारियो । त्यसमा सरकारले ब्याकअपको काम गर्ने सहमति भयो ।
भरतपुरमा बन्ने सो रंगशालाको नाम जुराइयो, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला । निर्माण सुरु भयो, सँगसँगै विवाद पनि ।
ठिक यही बिन्दुबाट धुर्सुस-सुन्तलीको ओरालो यात्रा सुरु हुन्छ ।

रवि लामिछाने, भावना घिमिरे, मनोज गजुरेल जस्ता ठूलो टिमले यसमा ढाडस दिए । सुरुदेखि नै यो योजनामा जोडिएका थिए, रवि लामिछानेले । उनले भनेका थिए, ‘दाजुभाइ मिलेर गरौं ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुर्मुस-सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच समझदारी गरेर थालिएको रंगाशाला निर्माणमा क्रमश: अरूले हात झिक्दै गए । भएभरको बोझ आइलाग्यो, धुर्मुस-सुन्तलीको काँधमा ।
दैनिक ३०० बढी कामदार, उत्तिकै उपकरण । काम त धमाधम हुन थाल्यो तर पैसा जुट्ने क्रम ठप्प हुँदै गयो । अवस्था कस्तो भइदियो भने, निर्माण सामाग्रीको ऋण बढ्दै जाने तर आउनुपर्ने पैसाको स्रोत बन्द हुँदै जाने ।
आखिरमा ऋणै ऋणले थिचिएपछि धुर्मुस-सुन्तलीले हार खाए । उनीहरूले सार्वजनिक रूपमै भने, ‘अब हामीले यो भन्दा बढी गर्न सक्दैनौं ।’ तब स्थानीय राजनीतिक दल, नेताहरूले उनीलाई रोक्दै भने, ‘तपाईंहरूले हात नझिक्नुहोस् । खर्च जुटाउन हामी सहयोग गर्छौं ।’
त्यहाँ ठाउँ-ठाउँमा राजनीतिक दलले सहयोग टोली गठन गर्ने, महायज्ञ लगाउने कुरा भयो । दिनबन्धु पोखरेलबाट कथावाचन गराएर महायज्ञ पनि लगाइयो । महायज्ञमा घोषणा भयो, ७९ करोड रुपैयाँ ।

केही समय बित्न नपाउँदै कोरोना महाव्याधिले सर्वत्र ठप्प भयो । कोभिडपछि उनीहरू काममा जुटे । तर, महायज्ञमा बोलेअनुसार पैसा आएन । समितिले पाँच करोड बुझाएर बाँकी खाता धुर्मुस-सुन्तलीलाई जिम्मा लगायो, ‘अरू पैसा तपाईंहरू नै उठाउनुस्’ भन्दै ।
न महायज्ञमा बोले अनुसार पैसा जुट्छ, न सरकारले तोके अनुसार पैसा छुट्याउँछ । उधारो बढ्दै गयो, श्रमशक्तिहरू थाक्दै गए, धुर्मुस-सुन्तली हार्दै गए ।
पैसाको खोजीमा धुर्मुस प्रधानमन्त्री, मन्त्री, कर्मचारीको ढोका–ढोकामा पुगे । कतैबाट सहयोग नभएपछि २०७८ साल साउन २२ गतेबाट निर्माणको काम रोके ।
०००००
रंगाशाला निर्माण सुरु गरेसँगै धुर्मुसकी हजुरआमा बिरामी थिइन् । हजुरआमाले अघिल्लो भेटमा धुर्मुसलाई भनेकी थिइन्, ‘दशैंमा पनि आइनस् । म बिरामी हुँदा र मर्दा पनि आउँदैनस् होला ।’
भयो पनि त्यस्तै । हजुरआमा बितेपछि उनी काठमाडौं आए । दाहसंस्कार सकेर घर फर्किसक्दा सर्बत्र यस्तो खबर फैलिसकेको थियो, मानौं धुर्मुसले भयंकर भ्रष्टचार गरे । अक्षम्य अपराध गरे ।

उनी चुपचाप बसे । हजुरआमाको किरिया सकेर सबै कुराको जवाफ दिन्छु भन्ने थियो । तर, काजकिरिया सकिएलगत्तै उनलाई कोरोना भयो । अस्पताल जाने तयारीमा लागिरहेका थिए । ठीक त्यहीबेला उनले यस्तो समाचार देखे, ‘धुर्मुस सुन्तलीविरुद्ध अख्तियारमा उजुरी ।’
त्यसबेला कुञ्जना अर्थात सुन्तलीले खेलकी एउटा म्युजिक भिडियोको प्रिमियर हुँदै थियो । उनको अन्तर्वार्ता चलिरहेको थियो, खुसी थिइन् । तर, जसै साँझ घर फर्किन् आफूहरूलाई ‘ठूलै अपराधीझैं बनाइसकेको’ पत्तो पाइन् ।
आखिर उनीहरू चैनले सुत्न पाएनन् । लगत्तै चितवन झरेर सबै अडिट रिपोर्ट बुझाए । भरतपुर नगरपालिकामार्फत नै आर्थिक र भौतिक अडिटका लागि अर्को कम्पनीमा पत्रचार भयो । ती दुवैले केही समयको अन्तरालमा अडिट रिपोर्ट बुझाए । त्यो खामबन्दी रिपार्ट धुर्मुसलाई हेर्न दिइएन । युवा तथा खेलकुद मन्त्रालयमा पठाइयो ।
अडिट गर्नेहरूलाई धुर्मुसले गुनासो गरे, ‘हाम्रो हिसाब-किताब हामीले नै हेर्न पाएनौं ।’
तिनीहरूको जवाफ यस्तो आयो, ‘तपाईं नआत्तिनु । तपाईंले गरेको काम एकदम ठीक छ । राज्यले गरेको भन्दा १०–१५ करोड कममै सक्नुभएको छ ।’
धुर्मुस एक हदसम्म ढुक्क भए । तर, त्यो ढुक्कको दिन धेरै लामो भएन । सिंहदरबारभित्र उनको फाइल घुम्न थाल्यो । फाइल अघिअघि उनी पछिपछि । कहिले मूल्यांकन समिति गठन भयो, कहिले पुनः अडिट गराउने भनियो । यो चक्कर साढे चार महिनासम्म चल्यो ।
हरेक दिन अफिस समयमा सिंहदरबार पुग्नु, दिनभर फाइल घुमाउनु, साँझ घर फर्कनु । धुर्मुसको जीवनमा यो उपक्रम चलिरह्यो, चलिरह्यो ।
यता उधारो सामान दिएका सप्लार्यहरू हरेक दिन, हरेक क्षण पैसाका लागि ताकेता गरिरहेका थिए । घरपरिवारमा हाँसो, खुसी हराएको छ ।
क्रिकेट रंगशाला सुरु गर्नुअघि कुञ्जनाले भनेकी थिइन्, ‘यो हामीले गर्न सक्ने काम होइन । बस्ती बनाए जस्तो सजिलो छैन । अब कलाकारितामा फर्कौं ।’
तर, धुर्मुसमा एक किसिमको विश्वास थियो । विश्वास यसकारण थियो कि, यसपाली उनीहरू एक्लो थिएनन् । सरकारका विभिन्न तप्का यसमा जोडिएका थिए । सबैको एकमुष्ठ प्रयास रहनेवाला थियो । त्यसो भएन ।
एकदिन छोरी विद्यालयबाट फर्केर आउँदा रुँदै थिइन् । ‘के भयो छोरी ?’ धुर्मुसले सोधे । छोरीको जवाफ यस्तो थियो, ‘तपाईंहरू त ठग रे । यस्तो काम नगर्नू बाबा ।’
ती उही छोरी थिइन्, जसलाई जन्मिएको केही महिनामै आफन्तको जिम्मा लगाएर धुर्मुस-सुन्तली बस्ती बनाउन भन्दै घरबाट निस्किएका थिए ।

प्रतिक्रिया 4