+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
141/4 (17.4)
VS
चितवन राइनोज 2025
0/0
Shares

‘कीर्तिमानी फिल्म’मा प्राण भरेका प्रशान्त

फिल्मको काँधेकुरी, रैया चाँदीको, मैंझारो… धेरैको मनमा गढ्यो । उनको जीवनको वक्ररेखा उकालो लाग्यो ।

सापेक्ष प्रतिक्षा रिजाल सापेक्ष, प्रतिक्षा रिजाल
२०८२ मंसिर १८ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २५ वर्षीय गायक प्रशान्त शिवाकोटीले 'पूर्ण बहादुरको सारङ्गी' फिल्मका गीतमार्फत आफ्नो संगीत यात्रा सफल बनाएका छन्।
  • प्रशान्तले 'द भ्वाइस अफ नेपाल'का पाँच सिजनमा भाग लिएर टप टेनसम्म पुग्न सफल भए पनि उपाधि चुम्न सकेनन्।
  • उनी लामो संघर्षपछि संगीतबाट कमाइ गर्न थाले र अहिले नयाँ सिर्जनात्मक दबाबका बीच नयाँ गीतहरू बनाउन लागिपरेका छन्।

मान्छेहरू सधैं ठाडो वक्र रेखाको दौडमा हुन्छन् । सकेसम्म त्यस रेखालाई मान्छे समानान्तर राख्न चाहँदैन । ओरालो बनाउन त फिटिक्दै चाहँदैन । तर धेरैको हकमा यी दुई नै वास्तविकता भइदिन्छ । कोही मात्र त्यस्ता हुन्छन्, जो रेखाको उकालो चढ्न सक्छन् । त्यस्तै एकमा पर्छन्, २५ वर्षीय गायक प्रशान्त शिवाकोटी ।

धेरै भएको छैन । उनलाई आममान्छेले हेर्ने नजरमा परिवर्तन आएको । उनले हेर्ने नजर परिवर्तन भएको । तर उनी उही व्यक्ति हुन्, उनको काम उही हो । बस्, एउटा सिनेमाले कीर्तिमान बनाउँदा यी सबै यथार्थ बन्न पुगे ।‘पूर्ण बहादुरको सारङ्गी’ । यो फिल्म जति चल्यो, सानै होस्, त्यसको भागीदार प्रशान्त पनि हुन् । गीतमार्फत उनले फिल्मको सास भरेका थिए । ती गीत सुनेर धेरै रोए । झुमे । खुले ।

श्रोतालाई लगाएको त्यही गुणले उनी वक्र रेखाको ठाडो उकालो चढ्न सकेका हुन् । त्यसअघि उनी लामो समय सिधा र ओरालो रेखामा दगुरिरहेका थिए ।

स्वभावमा प्रशान्त अन्तर्मुखी छन् । कम बोल्छन् । प्रमोद खरेल, सत्य-स्वरुप आचार्य जस्ता गायकबाट प्रेरित भएर लामो कपाल पालेका छन् । शारीरिक उचाइमा अग्लै छन् । तर, ज्यान केही पातलो छ ।

नजिकबाट चिन्नेहरूले उनलाई सिर्जनशील क्षमता राख्ने पात्र भएको बताउँछन् । ‘पूर्ण बहादुरको सारङ्गी’अघिसम्म उनीहरूले प्रशान्तलाई ‘अभागी’ छ कि क्या हो भनेर संशय पनि गर्थे । तर, अहिले त्यो संशय मृत भइसकेको छ । प्रशान्तले आफूलाई प्रमाणित गरेर देखाइसकेका छन् ।

झापाको भद्रपुरमा जन्मिएका उनले बालापनदेखि नै गीतहरू सुनेर हुर्कने सौभाग्य पाएका थिए । परिवारको पृष्ठभूमि संगीत थिएन । तर, उनमा अभिभावकहरूले बिजारोपण गर्दिएको संगीतको टुसा त्यसैबेलादेखि नै उम्रन थालिसकेको थियो । त्यसको छनकमा उनले विद्यालयमा हुने सांगितिक प्रतियोगिताहरूमा सहभागी भएर देखाइसकेका थिए ।

कतिपयको हकमा प्रतियोगिताहरू छोटो समयमा लामो छलाङ मार्ने भर्‍याङ बन्न जान्छ । सायद प्रशान्तले पनि त्यस्तै सोचे । र, रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा सहभागी हुन गए । तर त्यहाँ उनले असफलताभन्दा केही पाएनन् । तीन-तीन वटा सिजनमा उनी लगातार असफल भइरहे । हार मानेनन् । कोसिस गरिरहे । र, पाँचौं सिजनमा ‘टप टेन’सम्म पुग्न सके । तर, उपाधि चुम्न सकेनन् ।

यद्यपि उक्त रियालिटी शोले उनलाई एक प्रकारको ‘फ्रेम’ मिल्यो । सुरुमा त्यहाँ जाँदा उनले मुख्य लक्ष्य आफ्नो स्वर देखाएर प्लेब्याक गायक बन्ने राखेका थिए । तर, रियालिटी शोबाट बाहिरिएको सात महिनासम्म पनि उनले काम पाएनन् । उनले संगीत सिर्जना गर्न भने छाडेनन् ।

त्यसबेलासम्म उनको वक्ररेखा ओरालोमै थियो ।

उनी सोच्ने गर्थे– कुनै दिन त रेडियो/टिभीमा मेरो गीत कसो नबज्ला । नभन्दै ती दिन उनको जीवन नजिक आइरहेका थिए । कुरो सन् २०२१ हो । उनले आफ्नो गीत एउटा स्टुडियोमा रेकर्डिङ गर्ने मौका पाए । तर उनमा खुसी कम ज्यादा डर थियो । कारण, जीवनकै पहिलो गीत रेकर्ड हुँदै थियो । त्यसमा उनी अभ्यस्त भइसकेका थिएनन् । कस्तो होला भन्ने उनमा त्रास थियो । सायद उक्साहट पनि धेरै थियो । त्यही भएर घरबाट २२ किलोमिटर पर रहेको उक्त स्टुडियोमा उनले तीन दिन लगाएर बल्लतल्ल ‘भोकल’ हाल्न सकेका थिए ।

गायक बन्ने प्रशान्तको मात्र सपना थिएन, उनको बुबा पनि आफ्नो छोरो गायक भएको हेर्न उत्तिकै हतारमा थिए । त्यही भएर छोरोलाई काठमाडौं पठाइसकेपछि पनि घरबाटै खर्च पठाइरहन्थे । उमेर बढ्दै जाँदा प्रशान्त स्वयंलाई घरबाट पठाइदिएको पैसा लिन लाज लाग्न थाल्यो । गोजीमा पैसा नहुँदा पनि ‘छ’ भनेर बस्नु पर्ने क्षणहरूसँग जुध्नु पर्यो।

काठमाडौंमा कोठा भाडा तिर्न गाह्रो भएर साथीभाइहरूसँग सापटी गर्नुपर्ने समय पनि आयो । अनि ती सबैबाट बाहिर आउन उनले संगीतसम्बन्धीका सानोतिनो काम (जस्तैः लिरिक्स लेख्ने, स्टुडियो सेसनमा गाउने) गर्न थाले । तर पनि उनलाई बुबाले भनिरहेका हुन्थे– तैँले हामीलाई पाल्नु पर्दैन, पाखुरा दरो भइन्जेल म गर्छु ।

बिस्तारै-बिस्तारै प्रशान्तले संगीत क्षेत्रबाट कमाइ गर्न थाले । स्टेज कार्यक्रम गर्न थाले । स्टुडियो सेसन गर्न थाले । त्यसबाट रकम मिल्ने भएकाले घरबाट थप पैसा मागिरहनु परेन । त्यो उनलाई सफलता नै लाग्थ्यो।

भनिन्छ नि, कर्ममा लागिरहे सफलता आफैं पिछा लाग्छ ।

प्रशान्तको जीवनमा त्यस्तै भयो । ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माताबाट उनलाई कामको अफर आयो । त्यसमा उनले गीतको शब्द, सङ्गीत र स्वर सबैको प्याकेज लिए । त्यो काममा उनी यति दत्तचित्त भएर लागिपरे कि उनको जीवनको ‘टर्निङ पोइन्ट’ नै त्यस परियोजना बनिदियो । फिल्मको ‘काँधेकुरी’, ‘रैया चाँदीको’, ‘मैंझारो’ धेरैको मनमा गढ्यो । उनको वक्ररेखा उकालो लाग्यो ।

अहिले उनी केही नयाँ परियोजनामा व्यस्त छन् । तर उनमा ‘क्रियटिभ प्रेसर’ छ । अर्थात्, अब उनलाई उस्तै हिट गीतहरू दिनुपर्ने सिर्जनात्मक दबाब आइपरेको छ ।त्यसबाट मुक्त भएर स्वछन्द शैलीमा नयाँ सिर्जना निकाल्नु उनका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।

त्यसबाट मुक्ति कति खेर मिल्ला ? त्यसको उनीसँग उत्तर छैन । तर वक्ररेखाको उकालोलाई वेबास्ता गर्दै उनी पहिले जसरी नै संगीत सिर्जनामा लागिपरिरहेका छन् । ठेगान छैन– उनमा कति खेर धुन फुर्छ । कति खेर शब्द फुर्छ । तर हरबखत ‘मैले यस्तो गर्नु छ’ भनेर उनी दिमाग खियाइरहेका हुन्छन् । मनमा ध्यान गरिरहेका हुन्छन् । चट्टान जसरी झट्ट नयाँ धुन, नयाँ शब्द फुर्न‍ विकल्प छैन ।

त्यसैले त जीवनको संघर्ष होस् अथवा संगीत सिर्जनाको, उनी आफ्नो यात्रालाई राफ्टिङ खेले जस्तै मान्छन् । राफ्टिङमा नदिको छालहरूसँग लड्दै, उठ्दै र आफैंलाई सन्तुलित राख्नै अघि बढ्नुको विकल्प हुन्न । यसो नभए डुङ्गा पल्टिहाल्छ । त्यसैले त लड्नबाट बँचेर यात्रालाई अघि बढाउन दोब्बर मेहनत गरिरहनुपर्छ ।

यो मनन गरेका प्रशान्तको वक्ररेखा भविष्यमा कता जान्छ ? त्यो समयले नै बताउँला । अहिलेलाई आफूले उचाइ छोएको रेखालाई कामय राख्न आवश्यक ठानेका छन् उनले।

सायद छिट्टै उनले यस्ता छालहरूबाट उठेर अर्को सुमधुर धुन फुराउनेछन् ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

प्रतिक्षा रिजाल

रिजाल अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?