
News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२४ को हिन्दी एक्सन फिल्म \'फाइटर\' मा दीपिका पादुकोणले जम्मू र कश्मीरमा आतंकवादी हमलापछि गठन भएको वायुसेना पाइलट टोलीको स्क्वाड्रन लिडरको भूमिका निभाएकी छिन्।
कयौँ यस्ता महिलाहरू छन्, जसले आफ्नो बलियो चरित्र, संघर्ष र सफलताका कारण आफ्नो क्षमता प्रमाणित गरेका छन् । उनीहरूका त्यस्ता प्रेरणादायी कथाहरू साहित्य, सिनेमामा अटाउने गर्छ ।
हामी महिलाहरूको त्यस्तै साहस, देशभक्ति र समर्पण समेटिएको ७ बलिउड फिल्मबारे चर्चा गर्नेछौं । जसले आफ्ना कर्म र त्यागले ठूलो प्रभाव पारेका महिलाहरूको कथा भन्छ ।
१. अ थर्सडे (यामी गौतम)
‘अ थर्सडे’ बेहेजाद खम्बाटाद्वारा लिखित र निर्देशित सन् २०२२ को हिन्दी थ्रिलर फिल्म हो । यो फिल्ममा यामी गौतमले नैना जैसवाल नामक एक विद्यालय शिक्षिकाको भूमिका निभाएकी छिन् । उनी यौन हिंसाको शिकार भएकी हुन्छिन् । तर उनले आफैं १६ जना बालबालिकालाई बन्धक बनाएर ठूलो राजनीतिक र नैतिक द्वन्द्व सिर्जना गर्छिन् ।
यो चलचित्रमा उनको भूमिकाले संवेदनशीलता, डर र दृढतालाई एकैसाथ देखाउँछ । फिल्म १७ फेब्रुअरी, २०२२ मा डिज्नी प्लस हटस्टारमा प्रिमियर भएको थियो।
२. फाइटर (दीपिका पादुकोण)
सिद्धार्थ आनन्दद्वारा निर्देशित सन् २०२४ को हिन्दी एक्सन चलचित्र हो, फाइटर । यसलाई भारतको पहिलो हवाई एक्सन फिल्म पनि मान्ने गरिन्छ । जम्मू र कश्मीरमा भएको आतंकवादी हमलापछि गठन भएको एउटा वायुसेना पाइलटहरूको टोलीबारेको कथा यसमा देखाइएको छ । जसमा दीपिका पादुकोण स्क्वाड्रन लिडर मिनल राठौरको भूमिकामा छिन् । उनी एक निपुण पाइलट हुन् । उनले लडाइँका दृश्यहरूमा सन्तुलन, शक्ति र देशभक्तिलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेकी छिन् ।
३. आर्टिकल ३७० (यामी गौतम)
सन् २०२४ मा बनेको राजनीतिक थ्रिलर फिल्म हो, आर्टिकल ३७० । आदित्य सुहास जम्भलेको निर्देशनमा रहेको यो फिल्म पनि जम्मू र कश्मीरको प्रसंगमा आधारित छ । त्यहाँको विशेष दर्जासम्बन्धी कानुनलाई खारेज गर्ने निर्णय र त्यसको पछाडिका वास्तविक घटनाहरूलाई आधार बनाइएको छ ।
यो फिल्ममा यामी गौतमले जुनी हक्सर नामक एक गुप्तचर अधिकारी (इन्टेलिजेन्स अफिसर) को भूमिका निभाएकी छन् । जुनी एक कश्मीरी महिला हुन्छिन् । उनले राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) का लागि काम गर्छिन् । उनलाई कश्मीर उपत्यकामा शान्ति कायम गर्न र आतंकवादी गतिविधिहरूलाई रोक्नका लागि एक महत्त्वपूर्ण मिसनमा खटाइएको हुन्छ ।
४. राजी (आलिया भट्ट)
‘राजी’ सन् २०१८ मा रिलिज भएको थ्रिलर एक्सन फिल्म हो । मेघना गुलजार निर्देशित यो फिल्म हरमिन्दर सिंह सिक्काको उपन्यास ‘कलिङ सेहमत’ मा आधारित छ । फिल्ममा १९७१ को भारत-पाकिस्तान युद्धको समयका एक भारतीय गुप्तचर एजेन्टको वास्तविक कथा देखाइएको छ । फिल्ममा आलिया भट्टले सेहमत खान नामक एक युवतीको भूमिका निभाएकी छिन् ।
सेहमत एक कश्मिरी महिला हुन्, जो आफ्नो राष्ट्रप्रति गहिरो देशभक्ति राख्छिन् । उनले बुबाको आग्रहमा पाकिस्तानमा विवाह गरेकी हुन्छिन् । तर त्यहाँ उनले जासुसको रूपमा काम गर्न थाल्छिन् ।
५. मेरी कोम (प्रियंका चोपडा)
‘मेरी कोम’ सन् २०१४ मा रिलिज भएको स्पोर्ट्स फिल्म हो । भारतकी प्रसिद्ध ओलम्पिक बक्सर मेरी कोमको वास्तविक जीवनमा आधारित यो फिल्मलाई ओमुङ कुमारले निर्देशन गरेका छन् । फिल्मले मणिपुरको साधारण गाउँदेखि विश्व च्याम्पियन बन्नेसम्मको कोमको संघर्ष, त्याग र सफलताको यात्रालाई देखाएको छ । प्रियंका चोपडा उनै मेरी कोमको भूमिकामा छिन् । यो भूमिका निभाउन उनले बक्सिङ तालिम लिनुका साथै शारीरिक रूपमा पनि आफूलाई बक्सरजस्तै बनाएकी थिइन् ।
६. तेजस (कंगना रनौत)
‘तेजस’ सन् २०२३ मा प्रदर्शन भएको एक्सन थ्रिलर फिल्म हो । सर्वेश मेवाडाले निर्देशन गरेको यो फिल्ममा भारतीय वायुसेनामा महिलाहरूलाई पनि लडाकु भूमिकामा समावेश गर्ने ऐतिहासिक निर्णय देखाइएको छ । फिल्मको मुख्य भूमिकामा कंगना रनौत छिन् । उनले विङ्ग कमान्डर तेजस गिलको भूमिका निभाएकी छिन् । उनी एक साहसी र विद्रोही स्वभावकी वायुसेना पाइलट हुन्छिन् ।
उनी नियमहरूलाई बेवास्ता गर्न हिचकिचाउँदिनन् । देशप्रेमले भरिएकी उनी भारतीय जासुसलाई बचाउन खतरा मोलेर पनि पाकिस्तानमा जान्छिन् ।
७. नीरजा (सोनम कपूर)
सन् २०१६ मा रिलिज भएको नीरजा पनि एउटा बायोपिक थ्रिलर फिल्म हो । राम माधवानीको निर्देशन रहेको फिल्मले १९८६ मा मुम्बईबाट न्यूयोर्क जाँदै गरेको पान एम फ्लाइट ७३ लाई कराँचीमा अपहरण गरिएको घटनालाई देखाएको छ । फिल्ममा सोनम कपूरले मुख्य पात्र नीरजा भानोटको भूमिका निभाएकी छिन् ।
नीरजा एक साहसी र कर्तव्यनिष्ठ फ्लाइट अटेन्डेन्ट थिइन् । उनले विमान अपहरणका क्रममा यात्रुहरूको जीवन बचाउन अदम्य साहस देखाएकी थिइन् । सोनमले नीरजाको भूमिकामा उनको संवेदनशीलता र दृढतालाई गहिरो रूपमा प्रस्तुत गरेकी छिन् ।
प्रतिक्रिया 4