News Summary
Generated by OK AI. Editorially reviewed.- पश्चिम नेपालका केही समुदायमा महिलाहरूलाई मुखियाको सन्तुष्टि पूरा गर्न बाध्य पारिने अमानवीय परम्परा अझै कतै सुनिन्छ।
- सुदूरपश्चिम र कर्णाली क्षेत्रको मौलिक जीवनशैली र प्राकृतिक सौन्दर्यले नेपाली फिल्म उद्योगलाई पुनर्जीवन दिन सक्छ।
- नेपाली फिल्म उद्योगले अब सुदूरपश्चिम र कर्णालीको वास्तविक कथा र परिवेशलाई पर्दामा उतार्न आवश्यक छ।
मुखिया गोठमा थिए । तर, आमोई उनीलाई कोठामा एक्लै छाडेर बाहिर आएकी थिइन् । यस्तो बेला उनी कहिल्यै बाहिर आएकी थिइनन् । मुखिया त के, कुनै फिरन्तेलाई कोठामा छोडेर उनी एक्लै निस्किएको थाहा थिएन ।
आमोई एकाएक केश मुसार्न थालिन् । त्यस्तो बेला उनले कहिल्यै केश मुसारेकी थिइनन् । एकदमै ध्यानसँग कर्के नजर लगाएँ । उनको अनुहारको भाव पढ्न खोजेँ । ओठहरू मुस्कुराएजस्तै देखिएका थिए, हल्का काँप्दै थिए ती ओठहरू । निधारमा चिटचिट पसिना थिए । आँखा हतारिएको जस्तो देखिन्थे । बेलाबेला तिनै आँखा चम्किला लाग्थे ।
अरू दिनभन्दा बेग्लै देखिएको थियो उनको अनुहार । कताकता लामो यात्रापछि थकान मारिरहेको यात्रीजस्तो । घाम धर्तीमा पोखिँदै खुसीका किरणहरू अनुहारमा पोखिएजस्तो । गाउँबाट बसाइँ सर्न लागेको गाउँप्रेमी गाउँलेको दुःखित् अनुहारजस्तो । नयाँ जग्गा पाएर उत्साहित सुकुम्बासीको सुखद् अनुहारजस्तो । ..थरिथरी भावले रंगिएको थियो उनको अनुहार ।
त्यो दिन उनका शब्दहरू पनि बहुभावका थिए । बुझ्न नसकिने किसिमले बोलेकी थिइन्, ‘छोरी, आज मुमा खुसी र दुःख एकै पल्ट बराबरी मिसियाका छन् । एक धारबाटि जिन्दगी उज्यालिँदै गइरह्याजस्तो र अर्को धारबाटि जिन्दगी अँध्यारिँदै गएरह्याजस्तो मान्दै छु ।
थुक घुटुक्क निलिन् । उसैगरी बोल्दै गइन्, ‘एक किनाराबाटि जिन्दगी रंगिलो भैरह्याजस्तो र अर्को किनाराबाटि भयाभरका रङहरू उड्दै गएजस्तो लाग्दै छ ।’
मैले उनलाई बीचमै रोकें, ‘क्या भयो आमोई ?’ भन्न न । झुतझ्न्यागरी भन ।
लामो श्वास छाड्दै बोलिन्, ‘मेरो भाइ घट्याएको कुराले दुःखी बनायो । तँ कमाउन सक्ने भएकाले ममा खुसीका रङ पनि मिसिएका छन् ।’
कुरा स्पष्ट थिएन । मनले आफ्नै किसिमको आकलन गर्यो– कतै मलाई मुखियाले….।
त्यो अनुमानले मनमा डर पैदा भयो । तर, अनुमान न हो, गलत पनि हुन सक्छ । त्यसैले स्पष्ट हुन खोजें, ‘आमोई मुइले बुझ्याइन । सिधासिधा भन न । तमी सधैं क्यान टेडो बोल्दिन्छौ ?
उनले तुरुन्तै सुनाइन्, ‘लाटी मुखियाले तँलाई चाह्या । आज तेरो पैलो कमाई हुन्या दिन हो !’
०००
ऐठन उपन्यासका लागि विवेक ओझाले बुनेका यी शब्दहरू उक्त पुस्तकको पृष्ठ २७ मा पढ्न पाइन्छन् । कथा काल्पनिक रूपमा प्रस्तुत गरिएको भए पनि पश्चिम नेपालका केही समुदायमा लामो समयसम्म महिलाहरूलाई मुखियाको सन्तुष्टि पूरा गर्न बाध्य पारिँदै आफ्नो दैनिक जीवन चलाउनुपरेको यथार्थसँग यो जोडिन्छ । यस्तो अभ्यास अझै पनि कतै–कतै सुनिनु झन् पीडादायी विषय हो।
माथि आमा र छोरीबीचको संवादको अन्तिम लाइनमै, यदि त्यसै क्षण घरको एक छोराले उठेर मुखियाविरुद्ध विद्रोह गर्दै त्यो अमानवीय परम्परालाई तहसनहस पारिदिएको भए कस्तो हुन्थ्यो होला ? वास्तविक जीवनमा यस्तो साहस सधैं सम्भव नहुन सक्छ, तर कथाको शक्ति त यहीँ हुन्छ-जहाँ कल्पनाले परिवर्तनको ढोका खोल्छ।
यदि हामीले फिल्ममार्फत यस्तो खँदिलो, साहसी र समाजलाई झकझक्याउने कथा प्रस्तुत गर्न सकेका भए, सायद त्यो मनोरञ्जन मात्र होइन, एउटा सशक्त सामाजिक क्रान्तिको सुरुवात बन्न सक्थ्यो ।
नेपाली फिल्ममा वर्षौंदेखि दोहोरिँदै आएका उही कथा, उही पात्र र उही लोकेशनबाट दिक्क भएका दर्शकलाई पनि यस्तो फरक र गहिरो कथाले आँखा खोल्ने मात्र होइन, मनैदेखि छोएर हेर्न बाध्य बनाउने थियो ।
यस्ता कथा पश्चिमका टोल–टोलमा छन्, घर–घरमा छन्, र ती कथाका पात्रहरू आज पनि हाम्रो समाजमा जिउँदै छन् । ती कथामा अभिनय गर्न सक्ने वास्तविक कथा सुनेका कलाकारहरू पनि हामीले त्यहीँ भेट्न सक्छौं । तर, हामीले के गर्यौं ? पूर्वमा जन्मिएका दयाहाङलाई पश्चिम पुर्यायौं, ललितपुरको एकान्तकुनामा हुर्किएका प्रदीप खड्कालाई जुम्लाको पात्र बनायौं, राजेश हमाललाई पूर्व पुर्याएर त्यहाँका समुदायको प्रतिनिधि बनायौं। उनीहरूले आफ्नो स्तरमा ठिकठाकै काम गरेका छन्- तर प्रश्न के हो भने के यो पर्याप्त छ ?
यदि नेपाली सिनेमाले साँच्चिकै नयाँ क्रान्ति खोज्दैछ भने, अब हामीले पात्र होइन, परिवेश बुझ्ने कलाकार खोज्नुपर्छ । त्यहीँको माटो, भाषा, लवज र जीवन भोगेको मानिसलाई पर्दामा उतार्न सक्नुपर्छ । किनकि वास्तविकता नै सबैभन्दा शक्तिशाली अभिनय हो।
विकासका दृष्टिले नेपालभित्र अझै पनि पश्चिम, विशेषतः सुदूरपश्चिम र कर्णाली क्षेत्र, अन्य भागभन्दा पछाडि मानिन्छ । यही कारणले पनि त्यहाँसम्म धेरै फिल्ममेकर पुग्न सकेका छैनन् । विकट भूगोल, उच्च लागत र सीमित पूर्वाधारले गर्दा पश्चिम कहिल्यै नेपाली सिनेमाको मुख्य कथाभूमि बन्न सकेन ।
फिल्म बजार स्वयं अस्थिर भएको अवस्थामा, ठूलो बजेट खर्चेर जोखिम लिन निर्माताहरू तयार भएनन् । त्यसमाथि, सरकारले पनि छायांकनलाई प्रोत्साहन गर्नेगरी पर्याप्त सहयोग गर्न सकेन । परिणामस्वरूप, सुदूरका कथा अक्कलझुक्कल सुनिए । तर ती पीडा, ती यथार्थ, पर्दामा सहज रूपमा कहिल्यै उतार्न सकिएनन् ।
केही महिना अघि बालेन शाह पश्चिम पुगेका बेला दिएको भाषण अझै पनि निकै चर्चामा छ । उनले पश्चिमलाई स्विट्जरल्याण्डसँग तुलना गर्दै भनेका थिए, ‘मानिसहरू देशलाई स्विट्जरल्याण्ड बनाउँछु भन्छन् । स्विट्जरल्याण्डको बाउ बडिमालिका यहीँ छ, किन बनाउनुपर्यो स्विट्जरल्याण्ड ? स्विट्जरल्याण्डको पराकाष्ठा रामारोसन यहीँ छ, किन बनाउनुपर्यो स्विट्जरल्याण्ड ? खप्तड नेशनल पार्क यहीँ छ, किन बनाउनुपर्यो स्विट्जरल्याण्ड ? हामी नेपाली माल भएको चाल नपाएको मान्छे पर्यौँ– भएको चिज देखाउनै सकेका छैनौँ। सुदूरपश्चिमलाई जोड्नै सकेका छैनौँ । सुदूरका गीत काठमाडौंमा बज्दैनन् । जुन दिन काठमाडौंका चोक–चोकमा ती गीत गुञ्जिन्छन्, त्यसपछि मात्र सुदूरपश्चिम साँच्चिकै काठमाडौंसँग जोडिन्छ ।’
उनका यी शब्दहरूले सुदूरपश्चिमको प्राकृतिक, सांस्कृतिक र भावनात्मक सम्पदाको महत्व मात्र होइन, राज्यबाट वर्षौंदेखि त्यसको उपेक्षा भएको यथार्थ पनि उजागर गर्छन् ।
सार्वजनिक रूपमा यस्तो स्वीकारोक्ति गर्दै सुदूरपश्चिमको विकासलाई एजेन्डा बनाएर भोट मागेका बालेन शाह अहिले प्रधानमन्त्री पदमा छन्, उनको नेतृत्वले व्यवहारमा कति पहल गर्ला, यो भने अझै प्रतीक्षाकै विषय छ।
०००
नेपालको फिल्म उद्योग विगत केही दशकदेखि कोमामा जस्तो अवस्थामा छ । कथाहरू सीमित, कन्टेन्ट कमजोर, सिर्जनात्मकता लगभग शून्य। काठमाडौंको तिन–आना घरको अँध्यारो कोठामा बस्ने लेखकहरूले लेखेका कथाले दर्शकलाई पर्दामा बाँध्न सकेन । यहाँका कथाहरू काठमाडौंको सडक, घर र जीवनमा सीमित थिए, जसले देशका बाँकी भू-भाग र जीवनशैलीको प्रतिनिधित्व गर्न सक्दैन ।
दर्शकको अनुभव सीमित भयो, कथामा जीवन्तता आएन, र फिल्म उद्योग धीरे–धीरे अस्तित्वका लागि संघर्ष गर्न बाध्य भयो। वार्षिक १०० हाराहारी फिल्म बन्दै गर्दा ३/४ वटा मात्रै सफल किन हुन्छन् ? निर्माता किन डुबिरहेका छन् ? किन कर्पोरेट हाउसले सिनेमाको शक्ति बुझ्दैनन् ? सायद यो बहसमा कतै पश्चिमको शक्तिले काम गर्ला कि ! त्यो पनि सोचनीय विषय बनेको छ ।
तर अब समय बदलिँनुपर्छ । बदलिएन भने बदल्नुपर्छ । सुदूर–पश्चिम र कर्णालीले नेपाली फिल्म उद्योगलाई मात्र होइन, समग्र नेपाली संस्कृति र राष्ट्रिय पहिचानलाई पनि पुनर्जीवन दिन सक्छ ।
पश्चिमको सिन्जा भ्याली, डोल्पा र राराका दृश्य सौन्दर्यका स्रोत मात्र होइनन् । यहाँ कथा, जीवन, संघर्ष, प्रेम, प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरको खानी छ, जसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सक्छ।
दक्षिण भारतीय फिल्म उद्योगले बलिउडको वर्चस्व र वाणिज्यिक दबाबको बीचमा आफ्नो अलगै मार्ग तय गर्यो । कथाहरू मौलिक, भाषा क्षेत्रीय, भूगोल आफ्नै र संस्कृति विशिष्ट । यसले दर्शकको ध्यान खिच्यो र विश्वभर मान्यता पाए । उदाहरणका लागि, बाहुबली सिरिजले केवल भारतमा होइन, विश्वका करोडौँ दर्शकलाई मन्त्रमुग्ध बनायो । कथाको केन्द्र दक्षिण भारतको पहाडी भू–भाग, संस्कार र परम्परागत जीवनशैली थियो । बलिउडको चमक–धमकबीच साउथ फिल्म उद्योगले देखायो कि कथामा शक्ति छ भने दर्शक आफैं तानिएर पर्दामा आउँछन्।
त्यसैगरी, सुदूर–पश्चिम र कर्णालीले पनि नेपाली फिल्म उद्योगमा यस्तै क्रान्ति ल्याउन सक्छ । यहाँको भूगोल, संस्कृति र मौलिक जीवनशैलीले कथालाई दृश्यात्मक मात्रै बनाउँदैन, यो कथामा आत्मा थप्छ।
डोल्पा नेपालकै भर्जिन खानी हो । से-फोक्सुन्डो नेस्नल पार्क, विशाल हिमाल, घना जंगल र रमणीय परिदृश्यले शान्त वातावरण प्रस्तुत गर्छ । यो ताल नेपालको सबैभन्दा गहिरो र नीलो–हरियो रंगको ताल हो । वरिपरि छायादार पहाड, झरना र हरियालीले यो स्थान स्वर्ग जस्तो अनुभव दिन्छ । से गुम्बा जस्ता पुराना गुम्बामा बुद्धिस्ट र बोन्ग परम्परा आज पनि जीवित छन् ।
यी गुम्बाहरूको वास्तुकला र भित्ते चित्रले कथामा आध्यात्मिक गहिराइ थप्छ । कान्जिरोवा जस्ता हिमाली शिखरहरूले फिल्मका दृश्यलाई भव्य बनाउँछन् । रिंगमो, ढो–तराप जस्ता गाउँमा प्राचीन जीवनशैली, स्थानीय संस्कृति, घर र खानाको स्वादले कथालाई जीवन्त बनाउँछ । डोल्पामा मात्रै हैन पश्चिममा फिल्मका लागि चाहिने दृश्य मात्र होइन, यहाँको जीवनशैली, पर्व, जात्रा, भजन र परिकारहरूले कथामा सामाजिक, सांस्कृतिक र भावनात्मक गहिराइ थप्छ । जसरी एकपछि अर्को गरी बलिउड फिल्म फ्लप भए र त्यसैबेला साउथ इण्डियाबाट फिल्ममा क्रान्ति भयो, नेपालमा पश्चिमबाट सिनेमामा क्रान्ति हुन सक्छ ।
नेपाली फिल्म उद्योगको पुनर्जीवन, देशको सांस्कृतिक पहिचानको संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको उपस्थितिको लागि अब सुदूर–पश्चिम र कर्णालीको प्रयोग अपरिहार्य छ । यो भर्जिन छ, अनुपम छ, र अब सुरु हुनैपर्छ ।
नेपाली फिल्मको भविष्य अब काठमाडौँ आसपास र पूर्व र उत्तरतिर मात्रै छैन । यसको वास्तविकता सुदूरको शान्तता, हिमाली दृश्य र प्राकृतिक अनुपम सौन्दर्य भित्र छ । अब सुदूरले आफ्नो वास्तविक कथा भन्नुपर्छ । र त्यो कथा फिल्मको भाषाबाटै सुरु हुनुपर्छ । यसो हुँदा फिल्ममा क्रान्तिसँगै ‘दूर सुदूर’ दूर हुनेछैन ।
प्रतिक्रिया 4